
चिन्ता मात्र लिएर बस्दछ भने, आशा सबै मर्दछन्
पार्दा चित्त छिया छिया सब जना, आघातमा पर्दछन्
चिन्ताको भुमरी भयानक हुँदा, जन्जालमा फस्दछ
चिन्ता चिन्तनमा बदल्न नसके, सोचेर बेकार छ ।
(१)
चिन्ता सागरबीच तीव्र गतिको, डुङ्गा भनी जान है
जान्दैनौ यदि लौ खियाउन भने, डुब्ने छ सम्मान है
चिन्ता यो न त नाप्न भर्न अथवा, जोख्नै कहाँ मिल्दछ
चिन्ता चिन्तनमा बदल्न नसके,सोचेर बेकार छ ।
(२)
चिन्ता त्याग्छु भनेर मानिसहरू, बोल्दै हिंडे ता पनि
सन्तोषी नहुँदा र दम्भ लिइँदा, गिर्दै गयो जीवनी
आकाङ्क्षा मनको र भाव दिलको, बढ्दै लगातार छ
चिन्ता चिन्तनमा बदल्न नसके, सोचेर बेकार छ ।
(३)
कस्तो चित्त अहो ! चिताउन यहाँ, सक्ने छ घाती कुरा
चिन्ता बिस्कुन यो कुरेर कहिल्यै, सप्रन्न ती आँकुरा
चिन्ता चित्त जलाउने जहर हो, यस्को त के काम छ
चिन्ता चिन्तनमा बदल्न नसके, सोचेर बेकार छ ।
(४)
चिन्ता त्याग्न सकिन्न एक पलमा, यो दुस्खको धड्कन
ज्यादा धृष्ट विचार लोभ चुलिँदा, चिन्ता बढ्यो झन्झन
चिन्ता आँगनमा कुरेर यसरी, बस्दा त चीत्कार छ
चिन्ता चिन्तनमा बदल्न नसके, सोचेर बेकार छ ।
(५)
छन्द शार्दूलविक्रीडित
वि.सं.२०७७ साउन ६ मंगलवार १२:१४ मा प्रकाशित






























