
बिस्कुन भन्दा छरपस्ट भएर,
त्यसै यत्रतत्र छरिएका
शव्दहरुलाई समेटेर बटुल्दै
एउटा माला उन्न मन लागेको छ,
किनकि, अचेल मलाई
कवि बन्न मन लागेको छ ।
मैले छानेका थोरै शव्दहरु
धैरै खुशी हुन्छन मसंग !
र छान्न नपाएका धेरै शब्दहरु
त्यस्सै ठुस्स पर्छन अनि मुन्टो बटार्छन !
ठुस्स परेका प्रत्येक शव्दको
नियाउरो अनुहार हेर्दै
भत्भति पोलेको मेरो मन,
पुनः सुम्सुम्याउन थाल्छ
रिसाएका अनगिन्ती शब्दहरुलाई ।
र मनसंगै पिरोलिएको म
हरेक शब्दलाई फकाउन थाल्छु,
मैलै साइत गरेको
काव्याज्ञमा निम्तो गर्दै ।
निम्तो पाएर खुशी भएका
प्रत्येक शब्दहरुलाई आव्हान गर्दै
अव काव्याज्ञ थाल्नु पर्छ ।
अनि कु र अ लाई अंकमाल गर्ने
अनगिन्ति शव्दलाई
चरु वनाएर बाल्नु पर्छ ।
कुसंस्कार, कुरिति, कुमार्ग,
कुलत, कुवचन
कुख्यात इत्यादि,
साथै अन्याय,अनर्थ,अकुत,
अकाट्य, अदृष्य,
अराजक आदी आदी
काव्याज्ञमा अनेकौ शव्दले
समाजलाई वचाउँदै
चरुसंगै होमिएर मर्नु पर्छ,
अनि काव्यमा आफै उपस्थित भएर
आफ्नो विशाल अर्थ छर्नु पर्छ ।
किनकि
मलाई हरेक शव्दले अर्थ लगाएको
महाकाव्य लेख्न मन छ ।
अनि आफ्नै प्रतिविम्बमा रमाएको
सिङ्गो कवि देख्न मन छ ।
वि.सं.२०७७ साउन १० शनिवार ०९:४४ मा प्रकाशित






























