
क्रोधी, उदण्ड, दुर्निवार नेतृत्व
जसले प्रजातन्त्र होस् वा लोकतन्त्रमा
अघि र पछि पनि सत्ताकै मस्तीमा
महावीर गाण्डीवधारी अर्जुनझैँ
अजय अनि गौरवशाली बन्दै
सम्पूर्ण जीवन र जगतलाई नै
भयत्रस्त पार्दै महाभारतकालीन
युद्ध मोर्चामा सोझ जनता होम्दै
बाबुसाहेवहरू आतङ्क चलाउँदै छन् ।
आज बाबुसाहेवहरू,
जनतन्त्रका जप र जलपमा
धुस्रो, फुस्रो र विरुपरुपी
जनका नाममा खेती चलाउँदैछन् आतङ्कको
दरबार, चाकरीया, बिचौलियाका
उत्सव, भेटघाट, समारोहमा सरिक भई
प्रदीप्त गौरव ठान्दै
मोर्चाका बाचाहरू भुल्दै
समाजवादको सपनामा रफु भर्दै
मन्त्रीको जुवामा नारिएर
सन्तान दरसन्तानका लागि बाबुसाहेव उभिएको छ ।।
युगीन समयमा बाबुसाहेव
झुपडी घरलाई गोठ देख्छ अनि
विस्फारित सुकेका जनलाई रैती ठान्दै
जनका जीवनमा राक्षसी हल चलाउँछ ।
बाबुसाहेवका कुकृत्यमा प्रतिक्षारत जनहरू
समयको चक्रव्यूहमा
राणा, पञ्च, राजतन्त्रजस्तै
बाबुसाहेवकै अन्धोपनमा
गणतन्त्रकै चीरहरण हुने त होइन ?
वि.सं.२०७७ साउन ३१ शनिवार ०९:२५ मा प्रकाशित





























