
बा
तिमी कहिले
आली बनेर फाटभरी
खेतमा पानी पट्याइरहौ,
कहिले
बाली बनेर सन्तानका भकारी भरी
सुनौला धान थन्क्याइरह्यौ,
बा
तिमीले खोलामा बाढी आउँदा
एक्लै बाध बनेर खोलै फर्काइदियौ
चोरी हुँदा इमानको
एक्लै दुनिया थर्काइदियौ,
साच्चै बा
तिमी छौ र त
अझैसम्म खेतमा बाढी पस्न सकेको छैन
जङ्गे पिल्लर बनेर
तिमीले लगाएको साध
छिमेकिले अझै मिच्न सकेको छैन,
हो बा
तिमी कहिले छानो बनेर गार्हो ओत्यौ
कहिले मानो बनेर सन्तानको भोक मेट्यौ,
सच्ची बा,
तिमी कहिले औलो झरेर
लामखुट्टेसङ्ग लडाइ लड्यौ
कहिले शिखर चढेर
लेक माथी चडाइ गर्यौ,
साच्ची तिमी छौ र त बा
मा हिमाल भएर ठडिन सकेको छु
पहाड भएर फुल्न सिकेको छु
तराई भएर झुल्न जानेको छु ।
(कुसे औसिको अवसरमा सबै बाहरुमा समर्पित )
वि.सं.२०७७ भदौ ३ बुधवार ११:०६ मा प्रकाशित






























