आयो भन्छन्–समाजवाद, संविधानमा लेखेर
कसरी आउला हजुर, वग्गि चढेर ।
भूईचालो र कोरोनाले, राष्ट्रियता सम्झायो
स्वाधिनता र समृद्धिका, सपना प्रष्ट्यायो ।।
कोभिड भन्ने भाइरसले, चेतावनी दिँदानी
मगन्ते–संस्कृतिमा, धोका पाउँदानी ।
अझै हाम्लाई चेत खुलेन, माटो प्रेम जागेन
क्यान्सररुपि भ्रष्टाचार, अझै भागेन ।।
सस्तो दाममा विदेश छन्, नेपालीका पाखुरा
साठीलाख नाघिसक्यो, गरौं के कुरा ? ।
अझै कति पुस्तालाई, विदेश जानै पर्ने हो
यस्तो चक्र तोड्न अब, कसो गर्ने हो ? ।।
पृथ्वीमा स्वर्गको, टुक्रा जस्तो नेपाल
हामी किन गरिब अझै, सोचौं पल पल ।
जस्तो भन्यो त्यस्तै माटो, हावापानी उस्तै छ
ढुंगाको कापमा पनि, फल फक्रन्छ ।।
जल, जमिन–जंगलको, ठोस पहिचान भएन
जराजुरी–जडीबुटीको, ख्यालै रहेन ।
जनशक्ति र जनावरको, सत्य तथ्य आएन
जलवायुलाई ख्याल गरी, नीति बनेन ।।
नगरौ भो चर्को कुरा, आफ्नो माटो जाँचे भो
उत्पादन र बजारको, सर्वे गरे भो ।
फलफूल–माछा–मासु, दूध दही तरकारी
खरबकौं व्यापार घाटा, डाटा सरकारी ।।
एउटै बडा तल्लो टोलमा, आँप र केरा फल्दछ
सुन्तला र स्याउ पनि, माथि झुल्दछ ।
के हुन्न र हाम्रो देशमा, अन्न भण्डार तराई
नेपाली हौं मात्रै हामी, छैनौ पराई ।
अहिले पनि उत्पादनमा, जुटने किसान निराश छन्
मल, बीउ सिंचाइका, गोता भोग्दैछन ।
प्रभावकारी बिमा छैन, बिचौलीयाको बजार
टाउको समाइ किसान रुँदा, छैन नजर ।।
कृषिप्रधान देश हाम्रो, दुई तिहाइ जनता
चौथाइ बढि योगदान यसकै, छ नी छन त ।
३ प्रतिशत बजेट छैन, क्रान्तिको एैलान
देश बनाउन कृषि पढने, बिज्ञ पलायन ।
काम र मामको वातावरण, यहि बनाउन भनेर
अष्ट ज अभियानले, बहस खोलेर ।
यहि पाराले देश बन्दैन, पक्कापक्कि निश्चित
देश किन गरिव भएछ, तथ्य बोल्दैछ ।
जस्ले गर्छ– त्यहि फस्छ, राम्रो काम थालेमा
किन यस्तो हुने गर्छ, हाम्रो नेपालमा ।
राष्ट्रपति प्रधानमन्त्री, दलका नेता सबैलाई
हार गुहार धेरैपटक, ग¥यौं बरीलैं ।
उत्पादन आत्मनिर्भर, स्वाधिनताको मर्मलाई
समृद्धि र समाजबादमा, नाप्छौ बरीलै ।
किसान खुशि हुनुपर्छ, देश अब बन्नलाई
एक विज्ञ एक पालिका, खटाउ बरीलै
समाजबादको ब्याख्या गर्ने, अहिलेका मन्त्री ज्यु
साँच्चै निराश भाको हो र, प्रष्ट बोलीदेऊ ।
रेमिटयान्सले देश नबन्ने, पक्कापक्कि थाहा भो
भनिदेउ न मन्तरी ज्यु, कसो गर्ने हो ?
(तिवारी ः अष्ट ज अभियान नेपालका महासचिव हुन् )
वि.सं.२०७७ भदौ ३ बुधवार १२:३० मा प्रकाशित






























