
घरको आँगन छोडेर हिडँदा
प्यारो गाउँ घर छोडेर हिडँदा
यो सहर, बस्ती नदीनाला
सबै सबै छोडेर हिडँदा
अनि विमानस्थलबाट
ठुलो जहाज चढेर देशै छोडेर
आकाशमा उड्दा
सोचेको थिएँ सपनाहरूको परदेश कस्तो होला ?
म आकाशमा उड्दै गर्दा
छोडेनन् मेरा विदाईका पलहरुले
आँखाबाट सप्तकोशी बगिनैरहेथे
परदेशी भूमीमा टेकेपछि
दिन दुईगुना
रात चौगुना बढेझै बढीनै रह्यो
मेरा पैताला र हत्केलाका भाग्यरेखाहरु
परदेश देखियो, बुझियो, भोगियो
धेरै सपनाहरू बिचैमा मारियो
जिउँदै मरेर पनि बाँच्ने कोशिस गरियो
बुढेसकालले गाला च्याउरीपरेका बाआमा
जवानीमा फुलिरहेकी मेरी जीवनसंगिनी
ती रसिला दुधेकेटाकेटीहरु
ती गाउँघर, छरछिमेकीहरु
ती पाखा,पखेरा, भन्ञ्झाङ चौतारी,
उकाली, ओरली,देउराली
सिङ्गो देशको मानचित्र
हरेक चोटि धड्किरहन्छ
प्रत्येक पलमा सास खुस्केराझै हुन्छ
झनझन कठोर, मुटु कसिलो बनाउँदै
समयसँग सम्झौता गर्दै
पाईलाद्दपाईलामा आयुको मापन गर्दै
जोड, घटाउ, जीवनका हिसाब किताब गर्दागर्दै
मेरो समयले मलाई नै जिस्काइरहेको छ
सपनाहरूको परिभाषा दिएको छ
परदेश ! हो साँचिकै परदेश नै हुँदोरहेछ ।
फेदिखोला, स्याङ्जा,हाल-जापान
वि.सं.२०७७ भदौ ६ शनिवार ०८:५३ मा प्रकाशित






























