प्याट प्याट चप्पल बजाउँदै
मेरो समिपै आउँदै गरेका ती नानीहरुका चिच्याहट
अति मधुर संगित झैँ लाग्दथ्यो।
हिँड्न सक्दिनथेँ, दौडिन सक्दिनथेँ
तर जुरुक जुरुक हुन्थ्यो यो मन।
हात पाउ नभएनि दौडेर उनका हातमा बसुँ बसुँ हुन्थ्यो
ती कलिला नयनको स्पर्श पाउँदा आफै बासस्थानबाट खसुँ खसुँ हुन्थ्यो
खुसिले गदगद हुँदै मलाई सुम्सुमाउँदा
काखमा लिएर थुमथुमाउँदा
महिनौ देखि कोठामा थुनिएर रहेको जीउ
टक टक टकटकाउँदै बोकेर लैजान्थे
खुसिले म बाहिर भाग्छु कि भनी छोपेर लैजान्थे
झोला भित्रैबाट शुन्दर प्रकृतिको रसस्वाद
अनि घरमा पुगेर सपरिवारले मलाई सुमसुम्याउँदा
यो मन,यो जीउ तनक्क तन्कन्थ्यो
मलाई बाचन गर्दाका मधुर वाणिले गाउँ नै घन्कन्थ्यो।
तर आज,
ताला लगाएर र्याक भित्र म थुनिएको आधा वर्ष वितिसक्यो
मेरा नानिबाबुको सट्टा किरा फट्याङ्ग्रा भित्रिसक्यो
फलामे जालहरुले मलाई जेलिरहेछन दिनहुँ
माकुरे सिपाहि जीउभरि खेलिरहेछन दिनहुँ ।
न कुनै प्रकाश,न कुनै आवाज
किन यो कठोर सजाएँ भोग्दैछु म आज
जेलभित्रै बसेर भएनि,विलौना पोख्दैछु म आज।
(पुस्तकालय दिवशकाे अवसरमा)
वि.सं.२०७७ भदौ १५ सोमवार १२:२२ मा प्रकाशित






























