मान्छे उन्ने सूत्र यो
साहित्य कर्म सिर्जना
नेपाली मूल यो साइनो ।
सभ्यताको आरम्भदेखि सन्तुलित प्रकृतिमा जीवनशैली स्थापित गर्ने विषय वाङ्मयले समाजलाई गति दिँदै आएको छ । यसले जीवनजगतका समग्र पक्षहरूसँग जोडिएर नवीन जिज्ञासा जगाई प्रगतिका ढोका उघार्दै भौतिक सुख–सुविधा आर्जनमा अभिप्रेरित गरेको छ । समाज सञ्चालनका विविध गतिविधिसँग छोइएर सिर्जना हुने हुँदा यसलाई समाजको प्रतिबिम्ब मानिन्छ । बहुभाषा संस्कृति सम्पन्न नेपाली वाङ्मयले छोटो समयमा ऐतिहासिक मूल्य प्राप्त गरेको छ । नेपाली भाषामा रचिएको आख्यान विश्वसाहित्य समकक्षी बन्दै अन्तर्राष्ट्रिय विश्वविद्यालयका पाठ्यक्रमहरुमा समेत दर्ज हुनु गौरवशाली इतिहास निर्माण भएको प्रमाण हो । सङ्ख्यासँगै गुणात्मक प्राप्तिले समग्र नेपाली वाङ्मय सम्पन्न बन्दै छ । पछिल्लो समय कविताको उपविधाका रूपमा सामाजिक सञ्जालबाट आरम्भ भई निरन्तर लेखिँदै आएको ‘साइनो’ नवीनतम सिर्जनात्मक प्रयोगका रूपमा चिनिँदै छ । नेपाली मन–माटाबाट सुरु भएको सिङ्गै साहित्यको कान्छो विधा साइनो सामाजिक जीवनका कथा–व्यथा, बेथिति–विसङ्गति आदि विषय टिपेर विज्ञानसम्मत चिन्तनको अन्तर्घुलन गरी व्यवहार अनुकूल व्यञ्जनात्मक अभिव्यक्ति दिन सक्षम विधाका रूपमा चिनिँदै छ ।
साइनो नेपाली भाषाको ठेट शब्द साइनुको प्रचलित रूप हो । गण्डकी प्रदेशका महिलाले मित लाउने विधिप्रक्रिया बुझाउन ‘सैना’ शब्द प्रयोग गर्ने गरेको पाइन्छ । यही सैना साइनु र साइनु साइनोमा परिवर्तन हुँदै प्रयोगमा आएको हो । यसले मानवीय नाता सम्बन्धको प्रचलित अर्थ र सिर्जनात्मक लेखनको प्रिय विधा साइनोसँग साइनो लाएको छ । यो सामाजिक गतिविधिजन्य प्रतिबिम्बको जीवन्त प्रस्तुति दिएर लोकप्रिय भएको छ ।
हाम्रो सिर्जना सूत्र
मन–माटाको सम्बन्ध
जन–जीवनको सुगन्ध ।
साइनो नेपाली जनजीवनको प्रिय शब्द हो । यसको अर्थले बाआमा, छोराछोरी, हजुरबाआमा, दिदीभिनाजु, मामामाइजू, ससुराली, आफन्त यी र यस्तै सम्बन्ध जनाउँछ । रगतको सम्बन्ध नभएका दुई पुरुष मित लाएर सम्बन्ध जोड्न सक्छन् भने महिला सैना लाएर सैना–सैना बन्न सक्छन् ।
नेपाली बृहत् शब्दकोश अनुसार ‘साइनु’ साइनो नेपाली भाषाको मौलिक शब्द भनेर अथ्र्याएको पाइन्छ । यहाँनेर नाता सम्बन्ध जनाउने झर्रो नेपाली शब्द न हो सिर्जनामा सहजै अर्थिन्छ भन्ने पर्न सक्छ तर अर्थिने वा अथ्र्याउने सन्दर्भमा दृष्टिचेतना र अन्तर्निहित अर्थ पनि खोज्छ साहित्य सिर्जना साइनोले । हाम्रा पूर्वजले जति बुझ्यो उति कठिन, झन् झन् बुझ्यो झन् कठिन, सस्तो बोलेका होइनन् ।
साइनोको सम्बन्ध खोज्दै जाँदा प्रकृति–पुरुष,माटो–पानी, धर्ती–आकाश, माछा–पानी, काँढा–पूmल, ज्ञान–विज्ञान, जीवन–प्रविधि, संस्कार–संस्कृतिजस्ता सम्बन्धको अक्षुण्ण माला गाँसिन्छ । यसबाट सृष्टिले हुर्काएका सम्बन्धै–सम्बन्धको जञ्जालमा पुगिन्छ । प्रकृति, भूगोल र सृष्टि सौन्दर्यबिचको घनिष्ठ सम्बन्ध–सूत्रले बाँधिदिएको छ प्राणीहरुलाई । यसरी सतहमै पुगेर जोेडिएको माटो–पानीको सम्बन्ध बलियो गरी जोल्टिएको छ साइनो सिर्जनासँग । यो देश र जनताको सम्बन्ध, मानव र संवेदनाको सम्बन्ध कसैले छुटाउने प्रयास गर्दैमा छुट्टिन्छ र ? यसर्थ सम्बन्धका जराले सिङ्गै ब्रह्माण्डको गहिराइ र जीवनको अर्थ नभेटी साइनोको अन्तर्य छामिँदैन भन्ने तथ्य स्मृतिमा रहे साइनो सिर्जनाले अर्थगत गहिराइमा पुगेको अन्तर्यलाई इङ्गित गरेको देखिन्छ । साइनो नेपाली जनजिब्रोले बोल्ने शब्द हो । यो लोक प्रचलित शब्दले नाता जनाउनु निश्चय नै कम ओजको हुनु होइन । यो त परिवार र परिवार–परिवारबिचको अटुट सम्बन्ध हो । वाङ्मयमा यसको प्रयोग शब्द र अर्थ, जीवन र अनुभूतिसित बर्ता नजिकिएको छ । साइनो साहित्य सिर्जनाको एउटा शैली हो । यसलाई साहित्यको नयाँ आयाम मान्नु उपयुक्त हुन्छ । यसले नेपाली मन–माटाको सुगन्ध बोकेको छ ।
साहित्यको बहुप्रचलित विधा कविताको उपविधा साइनोको संरचना सात, आठ र नौ अक्षरी तीन शब्दगुच्छा/पदको हुन्छ । पहिलो पङ्क्तिको शब्दगुच्छा सात अक्षरी हुन्छ । दोस्रो पङ्क्तिमा आठ र तेस्रोमा नौ अक्षर रहन्छन् । अक्षर गणना सामान्य नेपाली व्याकरणको चलनचल्ती र व्यवहारमा प्रयोग भएअनुसार गरिन्छ । कविताकै नवीन रूप भएकाले यसमा पनि बिम्ब/प्रतीक, व्यञ्जना शब्दशक्ति, अलङ्कार, ध्वनि, रीति, लयजस्ता साहित्यिक मूल्य अपेक्षित रहन्छन् । शब्दसँग राम्ररी खेल्ने/खेलाउने पारखी यसका असल स्रष्टा बन्न सक्छन् । लय विधानका दृष्टिले यसलाई प्रति गुच्छाको अन्त्यमा विश्राम दिनु उपयुक्त हुने देखिन्छ । पहिलो/दोस्रोमा ठिक्क विश्राम दिएर वाचन गरेपछि क्रमशः पहिलो, दोस्रो र तेस्रो वाचन गर्नु उपयुक्त हुने देखिएको छ । जस्तैः
सचेत यो जीवन
सक्रिय यी हातहरू–२
कर्मले डो¥याउँछ मान्छे । कर्मले डो¥याउँछ मान्छे ।।
छोटो छरितो सिर्जनात्मक अभिव्यक्ति साइनो सिर्जना आरम्भ नवीनता खोजिरहने सर्जक मनोवृत्तिको प्रस्फुटन हो । वर्तमानमा प्रचलित नवीन प्रविधि सामाजिक सञ्जालको उपयोग गर्दै गर्दा यो संरचना प्रस्फुटन भएको हो । यसलाई ‘अनुहार किताब’ (फेसबुक) मार्फत सार्वजनिक गरेपछि पाठक/दर्शक/सर्जकमा चासो बढ्यो । रचना सार्वजनिक गर्ने प्रक्रियाले गति लियो । परिणामस्वरूप थोरै समयमा व्यापक प्रचार–प्रसार भई विश्वभर फिँजिन भ्यायो ।
साइनो यतिखेर साथी–साथीको आत्मीय सम्बन्धलाई सिर्जनाको कसीसँग जोडेर मूर्तरूप दिने भाषिक एकाइ बनेको छ । यसको एउटा रचनाले पूर्ण साहित्यिक स्वाद दिने हुँदा आजको व्यस्त पाठकका निम्ति ज्यादै प्रभावकारी मानिएको छ । व्यञ्जना शब्दशक्तिले यसलाई बर्ता खिरिलो र चोटिलो बनाएको अनुभूति गर्न सकिन्छ । समाजका बेथिति विसङ्गतिलाई विषय बनाएर व्यङ्ग्यको सुइरोले घोची–घोची सुसङ्गत प्रवृत्तिको विकासका लागि सचेत रहन आग्रह गर्ने घतिलो प्रस्तुति हो साइनो । यसले जीवन, जीवनजस्तै बनाउने ध्येय राखी मानवीय संवेदनालाई न्यायिक स्पर्शले गोडमेल गर्ने अभीष्ट लिएको हुन्छ ।
साहित्यका परिचित र प्रचलित विधाहरू जस्तै साइनो पनि स्रष्टा तथा पाठकप्रिय बनेको छ । यसको कारण साइनोको स्वरूप र संरचनाले पछ्याएको नवीन शैली, विषय विश्लेषण, बौद्धिक प्रस्तुतिमा पाइने तार्किक निष्कर्ष हो । अर्थ गाम्भीर्य यसको मूल पहिचान हो । यसबाट पाठकले क्षणभरमै साहित्यिक रसास्वाद पाउँछन् । साइनो शाब्दिक अर्थजस्तै स्वतन्त्र अस्तित्वबिचको अन्तर्सम्बन्ध हो ।
यो उछिन्ने भ्याउन्न
एकसरो हिँडिरहेँ
साथीहरु बिर्सने दाउ !
यस सिर्जनात्मक साइनोका प्रत्येक शब्दगुच्छाको स्वतन्त्र अर्थ पछि तीनवटैको समुच्च अर्थ लाग्छ र यसको साख सुरक्षित हुन्छ । यी तीन शब्दगुच्छा एकअर्कामा आश्रित नभई स्वतन्त्र अर्थवाहक हुन्छन् ।
मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी । २०७६।४।१६
यो नै छायादत्त न्यौपाने बगरद्वारा रचित इतिहासकै पहिलो साइनो हो । यसरी न्यौपानेका केही साइनोहरू सामाजिक सञ्जालमा पढेपछि स्रष्टाहरूले कविताको नयाँ आयामका रूपमा स्वीकार गरी सिर्जना गर्दै आएका छन् । यसको संरचनामा विषय प्रस्तुतिको मागअनुसार लेख्यचिन्हको प्रयोग आवश्यक ठाउँमा गर्न सकिन्छ । पूर्णविरामको प्रयोग भने तेस्रो पङ्क्तिको अन्त्यमा मात्र गर्नु उपयुक्त देखिन्छ (अन्तिममा अरू चिन्ह प्रयोग नभएमा) । विषय प्रस्तुतिले मागेमा सामान्यतया अनुकूल स्थानमा उपयुक्त लेख्यचिन्ह प्रयोगको सम्भावना छँदै छ ।
पाठकमा सहज उत्पन्न जिज्ञासाको उचित सम्मानमा ध्यान जानु स्वाभाविकै हो । यसको मुख्य कारण त छोटो–छरितो रचनाले घतिलो साहित्यिक खुराक पस्कन सक्नु नै हो र सामाजिक सञ्जालको सदुपयोग पनि । कम समयमा साइनोको व्यापक प्रचार–प्रसार सामाजिक सञ्जालबाटै सम्भव भएको हो । प्रथमपटक छ/सातवटा साइनाहरू पढेपछि स्रष्टा केशव ज्ञवालीले छायादत्त न्यौपानेसँग सञ्जालमार्पmतै सम्पर्क गरेपछि दुवैबिच परामर्श भयो । सहमति अनुसार त्यसको भोलिपल्ट २०७६।५।१४
कसैको मन खुसी
कसैको मन खिन्न छ
अनुभव भिन्न भिन्न छ, ! (केशव ज्ञवाली फेसबुक वाल)
साइनो सार्वजनिक भयो । लगतै स्रष्टा खेमलाल पोखरेलको साइनो पनि सार्वजनिक भयो । यसपछि कृष्ण पौडेल, बालकुमार क्षेत्री, हरिप्रसाद चौलागाईं, सीता सुवेदी पन्थी, धतानन्द शर्मा…..समेत धेरै साथीहरू साङ्लिने क्रम निरन्तर चलिरहेकै छ ।
साइनोले आ–आफ्नो क्षेत्रका स्वनामधन्य स्रष्टाहरूको मलिलो स्याहार पाएको छ । सरल अर्थ सम्बन्ध बताउने साइनोले समाजका बेथिति र विसङ्गतिमा गुलेली र मट्याङ्ग्रा चलाउँछ । यसको मर्म भनेको विकृतिलाई व्यङ्ग्यवाण ठोक्नु नै हो । यसले समाजबाटै विषयवस्तु लिन्छ र विश्लेषण गरी समाजतिरै सोझ्याउँछ । अझ स्पष्ट भन्ने हो भने साइनो लेखन–प्रसारण यो एउटा अभियान हो । आजको सन्दर्भमा छोटा, छरिता साहित्यिक रचना पाठकसम्म पु¥याउने उद्देश्यले यो अभियान सुरु भएको हो । यस मूल्यमा अभियान सशक्त बन्दै आएको छ ।
साइनो नेपाली मनमस्तिष्कले खनीखोस्री नेपाली माटामा उमारेको साहित्यिक उपज हो । यो सिङ्गै नेपाल र सबै नेपालीको साझा उपलब्धिका रूपमा अगाडि आएको छ । यसको थालनी र विकासमा पनि नेपाली चेतनाले योगदान गरिरहेको छ । यसलाई नेपाली मूलका प्रवासी स्रष्टाहरूले पनि गम्भीर चासोका साथ लिएको पाइन्छ । यो गतिशील विधाको प्रचार–प्रसार निकट भविष्यमै नेपालका अरू भाषा तथा अन्तर्राष्ट्रिय भाषाहरूले समेत गर्ने नै छन् । यसको आकार र अन्तर्यले अनुवाद तथा सिर्जनाको माध्यमबाट संसारभर फैलिने र नेपाली मौलिक परिचय स्थापित गर्ने कुरा विश्वास गर्न सकिन्छ । यो समस्त साइनोकारको साझा जिम्मेवारी पनि हो ।
नेपालीको नाता यो
सञ्जालभरि साइनो
लहराले तान्यो पहरो ।
सिर्जनाको मैदान फराकिलो हुन्छ । सिर्जनाले पाखाहरू हरिया बनाउँछ । जलवायुको सिंचन पाए सिर्जनाले जीवन बोक्छ । जीवनको समग्रतामा उम्रेको सिर्जनाले मनमस्तिष्कलाई झङ्कृत गर्छ । जीवन मूल्यमा नयाँ भाव र संरचनाको भिन्न स्वादसँग आउने मौलिक सिर्जना साइनोले ऐतिहासिक महत्त्व राख्छ । साइनो यसै भावभूमिमा सूत्रमय प्रस्तुति लिएर गणितीय संरचनागत साहित्यिक मूल्यबोधसँगै आएको छ । विसं २०७६ साल नेपाली साहित्यको ऐतिहासिक वर्ष बनेको छ । यसै वर्ष नेपाली साहित्यले साइनो जन्माएर सिर्जनात्मक आयाममा मिठो परिकार थपिरहेको छ । निश्चित अक्षर सङ्ख्यामा रचिन सुरु भएको ‘साइनो’ सिर्जनकर्मसँग अनन्त सर्जक बेस्सरी झ्याम्मिएका छन् । यसकै देन साइनोले कलिलै वयमा फराकिलो भूगोल ओगटेर साधनारत प्रतिभाहरू पाएको छ । अचम्म के छ भने यसले सुरुका दिनदेखि नै प्रशस्त स्रष्टा र सृष्टि प्राप्त गरिरहेको छ । यो सूचनाले साइनोपे्रमी सबैलाई उत्साही तुल्याएको छ । साइनो साँच्चै तीव्र गतिले अघि बढेको छ । स्रष्टा विष्णु पादुकाकोसाइनो, निरञ्जना चन्दकोनिरुको साइनो, हरिप्रसाद चौलागाईंकोब्रह्माण्ड साइनो र छायादत्त न्यौपाने, केशव ज्ञवाली, खेमलाल पोखरेल, सीता सुवेदी पन्थी र बालकुमार क्षेत्री पाँच जनाको संयुक्त सम्पादनमा छैसठ्ठी जना साइनोकारका सात सय उनान्नब्बेवटा साइनोहरु समेटेर साइनो सारथि प्रकाशन भएका छन् । लेखन आरम्भ भएको अवधि एक वर्ष नपुग्दै प्रकाशन भएका यी पुस्तकले साइनोको जीवन दर्शन, सिर्जनात्मक वैशिष्ट्य, अर्थगत गहिराइ तथा वैज्ञानिक संरचनाले जनमनमा पारेको सकारात्मक प्रभाव हो भन्ने प्रमाण दिन्छन् ।
गाई बाख्रा साथी रे
भीर पाखा डुल्ने रे
फूल टिपी काँडा पाल्ने रे !
यो प्रारम्भिक चरणको सानो लेखमा साइनो चिन्न चाहिनेजति विषय नसमेटिन सक्छ तथापि सङ्क्षिप्तमै भए पनि केही न केही सूचना दिन्छ भन्ने विश्वास छ । ‘विचारको घोत्ल्याइँ, मानव अस्त्विको खोजी, प्रस्तुतिमा छरित्याइँ, बेथितिलई प्रहार, कर्मयोग र कर्मयोगीलाई सम्मान, राष्ट्रिय चेतनाको आह्वान, जीवनबोधको प्रयास, वैज्ञानिक संस्कृति निर्माण’ जस्ता भाव सन्तुलन साइनो सिर्जनाको मूल लक्ष्य मानिएको छ । साइनो विशेष–योजना सहित सिर्जित विधा नभए पनि सचेत प्राणी मानव मन–मस्तिष्कले खोजिरहने नवीन आविष्कार हो । यसको आफ्नो सामाजिक सञ्जाल पेजमा मौलिक लेखहरु लेखिरहेका र पुस्तक छपाइमा सक्रिय रहेका साइनोकारहरूले मानक पछ्याएकै छन् र पछ्याउने छन् । यो सजगताले उनीहरूमा अन्तर्निहित साइनोप्रतिको स्नेह, सम्मान र जिम्मेवारी बोध जनाउनेछ ।
साइनो समस्त प्राणीबिचको आत्मीय सम्बन्ध हो । यसले सृष्टिमा प्राप्त सबै जीवसँग आपसी मेल चाहन्छ । जीवन, प्रकृति र भूगोलजन्य गतिविधिले साइनोको सिर्जनात्मक पाटो पछ्याउँछ । यसको सम्बन्ध निश्चित समाजमा सीमित नभई समस्त सृष्टि सौन्दर्यसित छ । यो जीवन, राजनीति, संस्कृति, प्रकृतिका अङ्ग–अङ्गसँग गहिरो नाता जोडेर सुगन्धित हुँदै अघि लागेको छ । साइनोले व्यक्ति–व्यक्तिसँगको अनुभव–अनुभूतिलाई समग्रमा प्रस्तुत गरेर आफूलाई सिर्जनाको विशाल मैदानमा पु¥याइसकेको छ । यसमा मानव सौन्दर्य सग्लै अटाउँछ र बेथितिलाई मस्तिष्कको गुलेलीबाट शब्दमट्याङ्ग्रा वाण चलाउने सिर्जनात्मक सामथ्र्य राख्छ । यसमा जीवनको अनुराग अनि कर्तव्यबोध दुवै फक्रन सक्छन् । नदीका ढुङ्गा आपसमा ठोक्किएर चिल्लिए जस्तै यसलाई अथ्र्याउने सन्दर्भमा विद्वान् समालोचकका फरक मत आवश्यक पर्छन् र यो प्रक्रिया निरन्तर चलिरहनु जरुरी हुन्छ । साइनोले सिर्जनाको विशाल फाँटलाई फूलबारीमा र्झैँ ढकमक्क पार्ने गरी झाँगिनु छ । यसका लागि स्वच्छ बौद्धिक बहस त अनिवार्य हुन्छ नै । यहाँबाट यही आह्वान् हुनु सान्दर्भिक पनि छ ।
साइनो संरचनाका सात अक्षरले सात महादेश जनाउँछन् । आठ अक्षर आठै दिशा बोध गराउन तयार छन् भने नौ अक्षर नवरसका सूचक हुन् । सात, आठ र नौको सन्दर्भमा अन्य प्रक्रियाबाट अर्थिने ताकत पनि भेटिन्छ । सातले सात बार समयको सङ्केत गर्छ, आठले अष्टावक्र, दार्शनिक मर्म बताउँछ भने नौलाई नवरस, नवरत्न तथा पृथ्वी आदि नवग्रहको सङ्केत । यस्ता धेरै अर्थ दिई विषयबोध गराउँदै सात, आठ, नौको प्रयोग भइआएको गणितीय तथ्य–स्मरण गर्नु साइनोप्रतिको सकरात्मक धारणा हो । यसको संरचना अन्य विधासँग मिल्दैन । यसका शब्दगुच्छा स्वतन्त्र रहेर समुच्च अर्थले विशेष मूल्यबोध गराउँछ । प्रत्येक शब्दगुच्छाको यो मर्म अनेकतामा एकता भन्ने साझा नेपाली भावना हो । यसले हामी नेपालीलाई आ–आफ्नै अस्तित्वसँग नेपाली हौं भन्ने अर्थ दिन्छ । यी र यस्तै विविध प्रसङ्ग जोडिन सक्छन् साइनोसँग । यसका तीन पद शब्दगुच्छाले नेपाली भूगोल तराई पहाड हिमाल तथा उष्ण, समशीतोष्ण, शीतोष्ण हावापानीलाई समेत सङ्केत गर्छन् ।
साइनो सुन्दाबित्तिकै त सहजै सिर्जना गरिन्छ भन्ने धेरैलाई लाग्न सक्छ तर यसको संरचना र अर्थगत गहिराइ छुन सजिलो छैन । यसले आफ्नो पूर्णताका लागि गाम्भीर्ययुक्त ओजपूर्ण अभिव्यक्ति खोज्छ ! यदि सही ढङ्गले साइनो लेख्ने जिम्मेवारी महसुस गरे यो कर्म चानचुने छैन तथापि भौतिक विज्ञान र मानवीय संवेदना चिन्ने प्रतिभाले केही समय गमेर अभ्यास गरे विस्तारै साइनोको स्वादसँग हिमचिम भई साथी बन्न मुस्किलै भने देखिन्न । यो सत्य हो र यही साइनोको स्वाद पनि ।
कति स्रष्टाहरूमा साइनोको सैद्धान्तिकीकरणमा बर्ता चासो छ । यो आफैमा राम्रो हो तर हजारौँ वर्षदेखि सिद्धान्त बनेर मानक प्राप्त गरिसकेका विकसित विधाहरू त मूल्य र संरचनागत स्वरूपमा बहसमुक्त छैनन् । तिनले पनि बहसको माग गरिरहेको पाइन्छ । निरन्तर बहस चलेकै छ भने भर्खर औँला समातेर हिँड्न सिक्दै गरेको साइनोबारे प्रशस्त सैद्धान्तिक छलफल/बहस/विमर्श हुनु कुनै नौलो विषय भएन । सामाजिक सञ्जालदेखि छापा पत्रिकाहरूमा धेरै साथीहरूको विचार प्रवाहित हुँदै आएको छ । यसबाट साइनोलाई पनि पर्याप्त मलजल प्राप्त भइरहेको छ । यी सामग्रीबाट पाठक/सर्जकको जिज्ञासा पनि मेटिँदै छ र सहज हुँदै जानेछ ।
पृथ्वी छ रमाइलो
प्राणी सबै बस्ने ठाउँ
यी वनपाखा घर गाउँ ।
सिद्धान्तका कुरा
भाषा साहित्य सृष्टि सौन्दर्य अभिव्यक्त गर्ने विषय हो । यसलाई अर्काे शब्दमा वाङ्मय भनिन्छ । यसले जीवनजगतका समग्र पक्षको सजीव चित्रण गर्छ । यसले सन्तुलित प्रकृतिमा जीवनशैली स्थापित गर्छ । यसबाट सृष्टिको आरम्भदेखि निरन्तर सभ्य समाज निर्माण हेतु गति प्राप्त हुँदै आएको छ । यसले जीवनका सामाजिक पक्ष, विज्ञान प्रविधि, जीवनपद्धति, उद्योग–व्यवसाय, वन्यजन्तुसितको सम्बन्ध जस्ता विषयमा उत्पन्न नवीन जिज्ञासाहरूबाट प्रगतिका ढोका उघारी भौतिक सुखतिर अभिमुख गर्छ । यसले सामाजिक जीवन जिउने विधि–प्रक्रिया बताउँदै पुर्खामा मिसाउँछ । यसका मुख्य विधा कविता, कथा, नाटक, निबन्धमध्ये कविताको उपविधाका रूपमा आएको ‘साइनो’ साहित्यको नवीनतम प्रयोग हो । यहाँ साइनोको सैद्धान्तिक स्वरूपबारे सङ्क्षिप्त चर्चा गर्न खोजिएको :
साइनो शब्द
नेपाली भाषामा प्रचलित शब्द ‘साइनु’ नै साइनो हो । यसको शाब्दिक अर्थ नाता सम्बन्ध, परिवारसँग जोडिएको आफन्त भन्ने हो । साइनो सूत्रात्मक शैलीले व्यक्ति–व्यक्ति सम्बन्ध, व्यक्ति–समाज सम्बन्ध, समाज–राष्ट्र सम्बन्धसँग साहित्यिक सिर्जनात्मक सम्बन्धलाई जीवनजगतको अनुभूतिजन्य सम्बन्ध स्थापित गर्ने क्रममा अघि बढेको साहित्यको विधा विशेष हो । यो साहित्यको चर्चित विधा कविताको नवीन प्रयोग साइनोले मानवीय संवेदना पछ्याउँछ ।
साइनोको संरचना चौबिस अक्षरे तीन पङ्क्ति वा भनौं त्रिपदीय शब्दगुच्छामा हुन्छ । यी प्रत्येक पङ्क्तिले स्वतन्त्र अर्थ दिन्छन् र तीनवटैको समुच्च एउटै अर्थ अझ बढी गम्भीर हुन्छ । यो व्यङ्ग्य चेतना प्रबल व्यञ्जनार्थी हुन्छ ।
सात, आठ र नौ अक्षरी तीन पङ्क्तिको स्वतन्त्र रचनाले पाठक मन–मस्तिष्कलाई एक किसिमको झङ्कार दिने हुँदा साइनोलाई व्यङ्ग्योक्ति प्रधान सिर्जना मान्न सकिन्छ । यसले थोरै शब्दमा बेग्लै प्रकारको रसास्वाद गराउँछ । यो आपैmमा पूर्ण संरचना हो । यो कसिलो प्रस्तुति भएकाले बौद्धिक र अनेकार्थी हुन्छ । यसले जति अर्थिन खोज्यो त्यति साहित्यिक रस प्रदान गरिरहन्छ । यसले सामाजमा व्याप्त विसङ्गति बेथितिमाथि घोचपेच गरी सुसङ्गत चेतना सम्प्रेषण गर्छ यद्यपि घोच्नुमात्र यसको उद्देश्य भने होइन । यसले साहित्यिक मूल्यबोध गराउँछ, छोटो र परिष्कृत संरचनामा रहेर पाठकलाई घत पार्नु यसको सफलता र विशेष आकर्षण पनि हो । साइनो कविता भएकाले कवितामा हुने बिम्ब, प्रतीक, लयादि तत्त्वहरूको अपेक्षा यसमा पनि रहन्छ ।
परिभाषा
कविताको उपविधा साइनो भर्खर तातेताते गर्दै छ । यसले आफ्नो परिचयसम्बन्धी लिखित सूचना पर्याप्त दिन भ्याएको छैन । यसबारे कतिपय स्रष्टाले ‘अनुहार किताब’ (फेसबुक)मार्फत सिर्जनासँगै आ–आफ्नो अवधारणा पनि अघिसार्दै आएको पाइन्छ । तिनै अवधारणामध्ये केहीलाई यहाँ परिभाषाका रूपमा अघिसार्ने प्रयत्न गरिएको छ :
– मानवहृदय छुँदै मन–मस्तिष्क हुँडलेर बाहिर आउने सात, आठ र नौ अक्षरे स्वतन्त्र शब्दगुच्छाका तीन पङ्क्तिको संरचनाले साहित्यिक स्वादयुक्त समुच्च भाव व्यक्त गर्ने कविता साइनो हो । – छायादत्त न्यौपाने ‘बगर’
– पहिलो ७, दोस्रो ८ र तेस्रो ९ अक्षर समूहका स्वतन्त्र तीन पङ्क्तिका अर्थवान् शब्दगुच्छाहरू सहित समुच्चमा मन–मस्तिष्कलाई झङ्कृत पार्ने भाव गहन कविता नै साइनो हो । – केशव ज्ञवाली
– नेपाली वाङ्मयभित्रको कविता÷काव्य विधाअन्तर्गत उपविधाको रूपमा नेपाली माटोमै उम्रेको ७, ८ र ९=२४ अक्षरका तीन शब्दगुच्छाहरूको माध्यमबाट काव्यिक भाव सम्प्रेषित कवितालाई साइनो भनिन्छ ।–खेमलाल पोखरेल
– सुख–दुख तथा बेथितिमाथि प्रकाश पार्नु, सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक विकृति–विसङ्गतिप्रति व्यङ्ग्य चेतनाले खबरदारी गर्दै सार्वभौमसत्ता सम्पन्न अखण्ड नेपालको समृद्धि हेतु देशभक्त नेपालीलाई एकताको सूत्रमा बाटी चौतर्फी उन्नतिका लागि बलियो भ¥याङ बनेर घचघच्याइरहने पवित्र सिर्जनात्मक नातेदारको नाम नै साइनो हो । – कृष्ण पौडेल
– थोरै शब्द लगानीबाट साहित्यिक सुवास छर्दै चोटिलो भावले मानव हृदयलाई झङ्कार दिने चौबिस अक्षरका तीन पङ्क्तिका शब्दगुच्छाहरूको समूह साइनो हो । – बालकुमार क्षेत्री
– कविताका विविध रूपमध्ये सङ्क्षिप्तमा गहन भाव सम्प्रेषण गर्ने ७, ८ र ९ अक्षरका तीन शब्दगुच्छामा संरचित नेपाली मौलिक सिर्जना नै साइनो हो । – सीता सुवेदी पन्थी
– साइनो भनेको कविताको उपविधा सात, आठ र नौ अक्षर संरचनामा रचित स्वतन्त्र अर्थका तीन लाइन हुन् जसले समग्रमा पूर्ण र विशिष्ट अर्थ दिन्छ । – धतानन्द शर्मा
– शब्द सुन्दैमा आत्मीय र कर्णप्रिय लाग्ने साइनोले सात, आठ र नौ अक्षरमा रचिएर व्यापक अर्थबोध हुने गरी साहित्यिक रसास्वादन गराउँछ । –बाबुराम न्यौपाने उत्स,
– कविता साइनो बौद्धिक भावले मनमस्तिष्कलाई मार्गनिर्देश गरी भाषिक तरलता, शैल्पिक सहजता, कलात्मक संरचना, छरितो प्रस्तुतिमा गहन अनुभूतिजन्य तीक्ष्णता सहितको सात, आठ र नौ अक्षरे तीन पङ्क्तिका स्वतन्त्र अनि समुच्च अर्थ दिने सूत्रात्मक नेपाली काव्यको मौलिक सिर्जनात्मक प्रविधा हो ।–सुरेश काफ्ले विदारक
– स्वतन्त्र र लोकप्रिय नेपालीपन बोकेको शब्द साइनो पछिल्लो समय कविताको उपविधाका रूपमा देखिएको त्रिपदीय शैलीको साहित्यिक ७–८–९ गरी तीन हरफमा लेखिने जम्मा २४ अक्षरीय गद्य कविता हो । – महानन्द ढकाल
–साइनो आपैmमा एक ध्यान हो जसले मनलाई केन्द्रविन्दु बनाई शरीरबाट पैदा हुने उर्जाशील तरङ्गमा मानवीय संवेग घोली मस्तिष्कबाट निस्कने सात,आठ र नौ अक्षरको त्रिपदीय संरचनालाई साइनो भनिन्छ ।–मिना डाँगी
विभिन्न थुँगा जडित पुष्पगुच्छाजस्तै सात, आठ र नौ अक्षरे शब्दगुच्छा तीन पङ्क्ति जसले स्वतन्त्र अर्थ दिई समग्रमा बृहत् अर्थबोध गराउँछ त्यस रचनाको नाम साइनो हो । –सुरेन्द्र शाही
यी उल्लिखित परिभाषाहरू हेरिसकेपछि, ‘साइनो’ भनेको “प्रबल भावले मन–मस्तिष्क छुने गरी संरचित सात, आठ र नौ अक्षरे तीन पङ्क्तिहरूको स्वतन्त्र तथा समुच्च अर्थयुक्त कविता हो, यसको संरचना सुगठित र भाव गहन हुन्छ” भन्ने निष्कर्षमा पुग्न सकिन्छ । यसबारे आउँदा दिनमा विद्वान्हरूको विचार थपिँदै र परिष्कृत हुँदै जानेछ ।
साहित्य र जीवनको अन्तर्सम्बन्ध जनाउने नवीन प्रयोग साइनो सङ्क्षिप्तमा गहन अभिव्यक्ति दिने विधा हो । यसले निमेषभरमै मनमस्तिष्कलाई झङ्कृत तुल्याउँछ । सटिक अभिव्यक्ति दिने चखिलो विधाको रूपमा साइनो लोकप्रिय हुँदै आएको छ । यो अनेकार्थी हुने हुँदा बौद्धिक र तार्किक पनि मानिन्छ । यसका अनुयायीहरू बिच बेला–बखत सैद्धान्तिक बहस हुँदै आएको छ । यो के हो ? कसरी सिर्जना गर्ने ? सात, आठ र नौ अक्षर नै किन जस्ता जिज्ञासाहरू प्रकट हुने र आपसी छलफलबाट टुङ्गोमा पुग्ने प्रयास सघनता पूर्वक हुँदै आएको छ । अनुहार किताबबाटै अघि बढेको यस प्रकारको बौद्धिक बहसमा पनि थालनीदेखिकै स्रष्टाको सक्रिय सहभागिता रहेको छ । छलफलको क्रममा सहज सम्प्रेष्य बनाउन सकिएन भने पाठकहरू टाढा रहने हुन् कि भन्ने जिज्ञासाले पनि घचघच्याउँदै छ । लेखनमा जटिल र अर्थमा दुर्बोध्य नहोस् भनी सचेत गराउने साइनोप्रेमी पाठकहरूको सङ्ख्या पनि ठुलै छ ।
साइनो विषय चयनले शिक्षा, स्वास्थ्य, कृषि, राजनीति, व्यापार–व्यवसाय, कानुन, यातायात, राष्ट्रियता, प्रकृति, प्रेम, साहित्यसमेत विविध क्षेत्र पछ्याउँछ । यसमा व्यक्तिगत कुण्ठा, अन्धविश्वासजन्य भाव, शृङ्गार रसको सस्तो प्रस्तुति आदिले महत्त्व पाउँदैनन् । यसले धेरै स्रष्टाहरूमा बेग्लै किसिमको चस्का दिँदै नयाँ जिज्ञासा उत्पन्न गराएको हुन्छ । यो विधा सैद्धान्तिक रूपले कसिलो र व्यवहारमा चोटिलो भएकाले दिनप्रतिदिन गम्भीर चासोका साथ स्रष्टाहरू साइनो सिर्जना तथा सैद्धान्तिक बहस दुवैमा प्रत्यक्ष जोडिँदै आएका छन् । साइनोले निकट भविष्यमै धेरै जनहृदय समक्ष आपूmलाई पु¥याउँछ र सुरक्षित हुन्छ भन्ने विश्वास छ । भर्खरै सम्पन्न साइनो दिवसका सन्दर्भमा विद्वान् समालोचकहरुका विचार विमर्शसहितको सुझावले पनि हामीलाई उर्जा प्रदान गरेको छ र गरिहनेछ ।‘अस्तु’
वि.सं.२०७७ असोज १० शनिवार १८:०८ मा प्रकाशित






























