
बाँझो छाडी घर खेत बिदेसमा आएको,
ऐसेलु र बयर टिप्ने काम मैले पाएको ।
युरोपको फोटो देख्दा मन लोभी भएको,
कृषि कर्म अर्म पर्म गाउँमा छाडी आएको।
१२ घण्टा काम गरि चिसो भात खाएको,
देखिन्छ नि यता तिर राम्रो लाएको।
भित्र खोक्रो बाहिर बोक्रो युरोपको लाहुरे
मोटो कमाई युरो समाई छर्ने गहुँ रे।
आफै काम पाइदैन खोजने दलाल धाएर ,
एक महिनाको चोखो तलब बैना लाएर।
१२ घण्टा काम गर्दा खान बस्न ठिक्क छ,
कामको फोटो बस्ने ठाउँ सारै दिक्क छ।
दिनभरिको घाम सहि हात भरि घाउ छन्
बेला बेला तर्साउने गाउँमा साहु छन्।
झम्के सांझ कोठा फिरी लामो स्वाश फेर्ने हो ,
साथी भाइ सबै उस्तै कसो गर्ने हो।
धुरु धुरु रुनु हुन्न छोरो मान्छे किन हो,
गरिबीले सताएको लाको रिन हो।
दाल भात टिफिन बोकी बारीमा नै लाने हो,
आधा घण्टा छुट्टि मिल्छ खाना खाने हो।
यति काम गर्दा पनि ऋण तिर्न गाह्रो छ,
गरिबलाई जहाँ पनि साह्रो गाह्रो छ।
तिज गयो दसैँ आयो अनि आउँछ तिहार,
थाहा हुन्न विदेशमा चाडको बहार ।
पसिनाको धारा बेची युरो फल्ने सहर
बित्ने भयो यतै कतै बैंशको रहर।
समाजबाद ल्याउँछु भन्छन काम छैन देशमा,
जहाज चढि युवाहरू परदेशमा,
रातो कागज कुर्दा कुर्दा केश फुल्यो भान्छामा
आज आउँछ भोलि पक्का आशै आशामा।
अस्तु
वि.सं.२०७७ कात्तिक १ शनिवार ०८:०५ मा प्रकाशित






























