
झ्याली मादल खैंजडी र मुरली बाजा हराए कता ?
भैलो बालन देउसी र सँगिनी भाका हराए कता ?
ख्याली गायन धान नाच देउडा नाच्दै झुमेका कथा
रोधीमा सुनिने अनेक गहिरा आशा भरोसा व्यथा ।।१।।
सारंगी रणका सुवीर हरुका गाथा बनी घुम्दथ्यो
मुर्चुङ्गा धुनमा सुसेली वनमा पाखो पनि झुम्दथ्यो
त्यो उत्साह कतै रहेन अहिले मेला र चाड्पर्वको
रोहोटे पिङ्ममा झुलेको सपना हाँसो खुसी हर्षको ।।२।।
चौबन्दी पटुकी र घाँगर कठै ! दौरा र भोटो रुँदै
नेपाली पनको कहाँ छ अहिले थोत्रो निसानी कतै
मेट्दै छौँ पहिचान गौरव सबै हाम्रा थिए सम्पत्ति
के को गौरब गर्नु आखिर यहाँ खोक्रो भयो जिन्दगी ।।३।।
आफ्ना चाड र पर्व उत्सव भुली बिर्स्यौँ सबै संस्कृति
गर्दैछौं अरुको सिको सहजले भित्र्याउदै विकृति
अंग्रेजी सुर तालले गजबले भुट्दैछ ज्ञानेन्द्रिय
नेपाली पन त्यो कहाँ छ अहिले खोजेर ल्याउँ अब।।४।।
क्षेत्री व्राम्हण वैश्य शुद्र नभनौँ हामी सबै एक हौँ
पाखा पर्वत शैल फाँट निधि हुन् हाम्रा जगेर्ना गरौं
अग्लो शैल समान साख नभमा तारा बनी चम्कियोस्
बैरीको पनि गर्वले शिर झुकोस् नेपालको नाम होस् ।।५।।
छन्द: शार्दुलविकृडित
वि.सं.२०७७ कात्तिक १ शनिवार ०८:४२ मा प्रकाशित






























