
जुन दिन निस्किन्छ उ घरबाट
र सरकारको हातबाट भर्छ सिन्दुर
आफ्नो सिउँदोमा
डरहरूको हत्या गरिराख्छ आफूभित्र
कम्मरमा खुकुरी भिरेर
जब गर्छ उसले देशलाई सलामी
राष्ट्रिय गाना गाउँदै परेडमा
त्यतिखेरै भूल्छ शाखा-सन्तान र परिवार
देशको रक्षामा समर्पित
प्रशिक्षणहरू लिई
युद्ध अभ्यासमा कदम बडाउँदैगर्दा
मृत्युबाट विजयप्राप्त गरिसकेको हुन्छ उसले
बैरीसंग लड्दा-लड्दै
खाल्डाहरू खनेर पुरी राख्छ
रहर, सपना र उद्धेश्य
अनि त लड्न सक्छ
उ
युद्धको मैदानमा छाती फुकाएर
लोभ-इच्छा र भविष्यलाई
सन्दुकमा थन्काईराख्छ
बुलन्द पार्छ आफ्नो आँट र हौसलाहरू
प्रमाणहरू दिन्छ इमानको,
हिम्मतको टोनिक पिउँछ स्वाट्ट
अनि, अघि बड्छ फलाक्दै
‘जय महाकाली आयो-आयो गोर्खाली !’
भागेर होइन
भोगेर इतिहास रच्ने जाति हो गोर्खा !
संक्षिप्तमा भन्नुपर्दा,
वीरताको अर्को नाम, ‘गोर्खा फौजी’
वि.सं.२०७७ कात्तिक १ शनिवार ०८:४४ मा प्रकाशित






























