
राधाकृष्ण आफूसँगै बाल्यकाल बितेको घनिष्ठ साथी दिनेशको घरमा आफ्नी दिदी कल्पनाको विवाहको निमन्त्रणा दिन पुग्यो र भन्यो–तिमी मेरी दिदीको विवाहमा जसरी भए पनि आउनु पर्छ । नत्र भने म तिमीसँग कहिल्यै पनि बोल्दिन नि । तिमी त मेरो सानो छँदाको साह्रै मिल्ने साथी हौ नि । म तिम्री दिदीको विवाहमा जसरी भए पनि आइहाल्छु नि । मैले गर्न सक्ने काममा पनि आएर सघाउछु नि – दिनेशले भन्यो । राधाकृष्णकी दिदी कल्पनाको विवाहको दिनसँग जुधेर दिनेशलाई आफूले चुनावमा निकै मद्दत गरी जिताएर मन्त्री पदमा पुगेको मोहनबहादुरको छोरीको विवाहको निमन्त्रणा पनि आइपुग्यो ।
दिनेशलाई एकैदिन दुई ठाउँबाट निमन्त्रणा आएपछि कुन विवाहमा जाने कुन विवाहमा नजाने होला भनेर अप्ठ्यारो पर्न गयो । मन्त्रीकै घरको विवाहमा जानु राम्रो होला भनेर ऊ मन्त्रीकै छोरीको विवाहको निमन्त्रणा स्वीकार गरेर दाइजो बोकेर गयो । विवाह सकिएको केही दिनपछि दिनेशले राधाकृष्णको घरमा दाइजो बोकेर लग्दै भन्यो – म तिम्री दिदीको विवाहमा आउन सकिन । यसमा म माफी माग्न चाहन्छु । विवाहमा आउन नसकेकोले तिम्री दिदीलाई यो दाइजो चाहि ल्याइदिएको छु नि । राधाकृष्णले –भन त तिमी किन मेरी दिदीको विवाहमा आउन सकेनौ ? भन्यो । त्यही दिन एकजना मैले चुनावमा जिताएको मन्त्रीको छोरीको विवाहमा नगईनहुने भएर म तिम्री दिदीको विवाहमा आउन सकिँन – दिनेशले भन्यो । दुईदिने मन्त्रीको छोरीको विवाहमा चाहिँ जान सक्ने म जन्मेदेखिको साथीकी दिदीको विवाहमा चाहिँ नआउने । मेरी दिदीलाई विवाह गरेर पठाइसकेपछि दाइजो ल्याउने ? म यो दाइजो लिन्न-राधाकृष्णले भन्यो ।
वि.सं.२०७७ कात्तिक १ शनिवार ०८:४५ मा प्रकाशित






























