
लेख्दै जादा कलम सररै चल्न थालेछ मेरो ।
मोती दाना लहलह यहाँ फल्न थालेछ मेरो ।
सेरोफेरो बन कुसुमका गीत लेख्दै म जाऊँ ।
डाँडा पाखा हरित वनमा प्रीत पोख्दै म जाऊँ ।
खोला नाला अविरल रहे लेख्न थालौ म गाथा ।
प्यारो धर्ती ढलपल भयो लेख्न थालौ कथामा ।
लेखौ धेरै समय सँगका तुच्छ नाली र बेलि ।
जाँदा खेरी अमर रहने कोश राखौ म लेखी ।
हाम्रा नेता प्रगति पथमा मन्द देखेछु मैले ।
उस्कै बारे सरर कविता छन्द लेखेछु मैले ।
हाम्रा नेता अनवरत छन् देश हाम्रो बिगारे ।
भत्ता मात्रै अपुग हुनगै सम्पदा नै निखारे ।
हेर्दा हाँसो जन अधरमा देख्न पाइन्न कैल्यै ।
साह्रै पापी नर पशु यहाँ रेट्न पाइन्न कैल्यै ।
गर्ने लेख्ने समय म सधै तालिकामा चलाऔ ।
धेरै सोझा र अनपढमा चेतना नै जगाउँ ।
लाएँ मैले अधिक हलका सुत्र जोडेर हेरें ।
साच्चै लेखे सबल कविता भावनामा न केरें ।
यस्तै लेख्दै अझ कलम यो बढ्न थालोस् अगाडि ।
लाली चुम्दै प्रगति पथमा चढ्न थालोस् जवानी ।
छन्द : मन्दाक्रान्ता
वि.सं.२०७७ कात्तिक १ शनिवार ०९:०७ मा प्रकाशित






























