
रविलाल शर्मा निक्कै सम्पन्न परिवारमा गनिएका मानिस थिए । घरमै बस्दापनि निक्कैराम्रा शुटबुट कसेर बस्ने उनको आदत थियो । तर आजभोली उनलाई असाध्यै टाउको दुख्ने विमारले सताएकोले उनी दुनियाभरमा नाम कहलिएका डाक्टरहरूलाई खोजीखोजी विमार जचाँउदैछन् ।
उनलाई सबभन्दा पहिले आँखाको कारणले टाउको दुखेको हुनसक्छ भनेर आँखाको डाक्टरकोमा पठाईयो, केही विसेक भएन । फेरि बंगारा ठोकिएका रहेछन् भनेर दाँतको डाक्टरलाई देखाउन भनियो,दाँत विशेषज्ञले दाँतमा रेति दलेर मिलाईदिए तर उनलाई केही फरक परेन ।
फेरि नाकमा ट्युमर भयोभने पनि यसरी टाउको दुख्छ भनेर नाकको डाक्टरकोमा पठाईयो तर त्यहाँबाट पनि उपलव्धि नभएपछि उनलाई अव नबाँचिने रहेछ भन्ने पिरले खुव सतायो ।
उनले एकदिन यस्तो सोचे अव म पक्कै मर्छु, तसर्थ म एकजोडी चटक्क मिलेका टाईट फिटिंग शुट सिलाउन लाउछु र मर्ने वेलामा पनि चिटिक्क परेरै मर्छु । उनी राम्रा कपडा लिएर टेलरकोमा पुगे, टेलरलाई कपडाको नाप लिदालिँदै भने ‘भाइ कपडा चाँही टाईट फिटिंग हुनुपर्छ है ?’
टेलरले भन्यो हजुर म सिलाउन त हजुरले जस्तो भन्नुहुन्छ त्यस्तै सिलाईदिन सक्छु तर आजभोली टाईट फिटींग कपडा लाउनेहरूलाई असाध्यै टाउको दुख्ने रोग लाग्दोरहेछ भनेर भन्छन र नि हजुर ?
ए हो र ? ल ल उसो भए लुजफिटिंग नै सिलाउ न त ! त्यो कपडा लगाएदेखि आजसम्म रविलाल शर्माले टाउको दुख्यो भनेका छैनन् ।
वि.सं.२०७७ कात्तिक २९ शनिवार ०८:०८ मा प्रकाशित





























