
चुसेँ देश लुछ्दै बनाएर रोगी ।
घुमेँ शान पस्की कुरौटे म ढोँगी ।।
दुखुन् भोक बल्झी कहाँ देख्छ आँखा ?
सबैले नबुझ्ने सधैं फेर्छु भाका ।।०१।।
लडून् रोग लागी कहाँ छुन्छ चेत ?
स्वयम् भेट्न आऊन् दिँदै दिन्न भेट ।।
मरून् नित्य मान्छे ढली बारबार ।
कलासाथ रोई भिजाएँ मुहार ।।०२।।
हिजो साथ जोजो थिए दूर राखूँ ।
सबै अर्थ बोक्ने कलाज्ञान छानूँ ।।
कुरौटे म छेकूँ दिई एक थैली ।
सधैं स्नेहभाका भजून् मान भैली ।।०३।।
सुसारे छँदै छन् खुसी स्वर्गमा छु ।
सधैँ लाठ रक्षा मिली ढुक्क पर्छु ।।
बडा कष्ट बल्झी दुखून् लाग्छ जाती ।
झरे अश्रु गोही भनेँ यो नढाँटी ।।०४।।
सबै कर्म मेरा बुझून् योग्य ठान्छु ।
खुली सत्य बोले निमोठेर खान्छु ।।
धरामाथि बस्ने धराकै म ईश ।
पुजारी बनेको खुलाऊँ म भेष ।।०५।।
अरूको प्रशंसा सुने दुख्छ छाती ।
फुकूँ नित्य राम्रो बुझाऊँ छ जाती ।।
दिने योग्य अर्ती सबै दुष्ट मेरा ।
तिनै दुख्न थाल्दा खुसी हाल्छ डेरा ।।०६।।
भयो सत्यता त्यो सधैं दुष्ट मेरो ।
बसूँ भ्रष्ट लाग्ने जमाएर फेरो ।।
इमानी म मान्ने भजोस् भक्ति गान ।
सबै सत्य पोखेँ नराम्रो नठान ।।०७।।
गमी सिर्जनाको बजाएर डम्फू ।
हिँडून् योग्य मान्छे बनाऊँ म लम्फू ।।
छ कुर्सी हियामा छुटे जान्छ प्राण ।
म बोलूँ मिटाऊँ म नेता महान ।।०८।।
छन्द: भुजङ्गप्रयात
वि.सं.२०७७ मंसिर २७ शनिवार ०८:४५ मा प्रकाशित





























