
म एउटा ठुलो युद्धको तयारी गर्दैछु ।
जुन युद्धको दुश्मन म हुँ,
र युद्धको दोषी पनि म नै,
मैले मलाई नै हराउनु छ
र, मलाई नै जिताउनु छ ।
अर्थात्, मैले मलाई पराजय गरेर
मलाई नै विजय घोषणा गर्नु छ ।
हरेक सकारात्मक कुरालाई
नकारात्मक ठहर्याउने,
गलतलाई गलत भन्न नदिँने,
सहि बाटो नहिंड भन्ने,
माया ममता चिन्दै नचिन्ने,
बिशेषतः आफ्नालाई आफ्नो नठान्ने,
मानवताको व्यवहार गर्दै नगर्ने,
सधैँ अमानवीय कार्य गर्ने
अप्राकृतिक सोँच राख्ने,
मेरो सबैभन्दा ठुलो दुश्मन हो ।
त्यसैले,मैले मलाई पराजय गरेर,
मलाई नै विजय घोषणा गर्नु छ ।
दुश्मनको हरेक कुनामा मैले बम राखेको छु,
उसको मष्तिस्कलाई बारुदले भरेको छु,
बंकरहरु तीब्र रफ्तारमा कुदाएको छु,
तोपहरु तयारी अवस्थामा राखेको छु ।
सबै जात, धर्म, बर्ग र लिङ्गसगँ
उसको गहिरो दुश्मनी रहेको छ,
त्यसैले म युद्धमा होमिएको हुँ ।
आँफुभन्दा अगाडि कदम बढाउनेले
मिठो खान नपाओस् भन्ने,
राम्रो लगाउन नपाओस् भन्ने,
खुशी भएर हिड्दै नहिडोस् भन्ने,
सकभर उसको खोजिनिती
कसैले गर्दै नगरोस् भन्ने,
हो यही दुश्मनसँग मैले युद्ध लड्नु छ
मैले मलाई पराजय गरेर,
मलाई नै विजय घोषणा गर्नु छ ।
दुश्मनको हरेक कुनामा मैले बम राखेको छु,
उसको मष्तिस्कलाई बारुदले भरेको छु,
बंकरहरु तीब्र रफ्तारमा कुदाएको छु,
तोपहरु तयारी अवस्थामा राखेको छु ।
दुश्मन हरपल म भन्दा,
पुर्ण तयारी अवस्थामा रहेको पाउँछु ।
युद्ध मैदानको बिचमा छाती फुलाएर
अटल मुद्रामा उभिएको पाउँछु ।
सुरु हुन्छ दोहोरो भिडन्त,
कहिले म विजय हुन्छु,
त कहिले उ विजय हुन्छ ।
अन्ततः
म दुश्मन सामु पराजय हुन्छु ।
जीवनले मलाई सजाय सुनाउँछ ‘मृत्यु’
मेरो दुश्मन बलवान ठहरिन्छ
‘रिस राग डाह र घमण्ड’
मेरा दुश्मनहरु बलवान ठहरिन्छन् ।
म युद्धमा पराजय भएँ,
म युद्धमा विजय भएको घोषणा गर्दछु ।।।
ईटहरी–१२ खनार,हालः युएई दुबई
वि.सं.२०७७ मंसिर २७ शनिवार ११:१३ मा प्रकाशित






























