
जीवन, पटाहा लगाउँदैछु
समयले सिँचाई गर्दैछ
हली हुँ,
साहस लिएको छु
दुई हल अभिलाषा पाखुरामा साँचेको छु ।
फलामको आँसु चपाउँदै
ढुङ्गाको पसिना बगाउँदै
सपनाको खेतमा
रहरको बीउ रोप्दै
म जीवनको खेती गर्दैछु ।
समयको सिंचाई,
कहिले सोचे जस्तो बर्षा नहुने
कहिले अत्याधिक झरी पर्ने
कहिले इच्छाका मञ्जरीहरु खसाल्ने
कहिले आशाका फूलहरुको पत्रपत्र अलपत्र पारिदिने ।
सम्हाल्दै मनलाई
समाउँनु छ हिम्मतको हँसिया
र काट्नु छ पीडा जरैदेखि,
खोज्नु छ आत्मबलको आरा
र गिड्नु छ दुःख टुक्राटुक्रा पारेर ।
आयुको आकाश चियाउँदैछु
आकाशको छाती चिरेर
केही थोपा उमेर खस्दै रहेछ
खुसी हुदैँ सोचेँ,
अब जीवनको खेती हुनेछ ।
अपसोच!
उक्त थोपा उमेर, केवल मृगतृष्णा रहेछ
मिथ्या झुठो जीवनको अन्त्य रहेछ ।
वि.सं.२०७७ पुस ११ शनिवार १०:२३ मा प्रकाशित






























