
१.
जनताको आँसु उनका लागि,शीत रहेछ,
साँढे जुदाई बाच्छा मिचाई, यो रित रहेछ,
गाउँ गाउँ बाट उठ,बस्ती बस्ती बाट उठ,
केवल कार्यकर्ता, भुलाउने गीत रहेछ ।
२.
काम एकातिर अन्तै,डुले पछि के लाग्छ ?
दिमाग भित्र सैतान, हुले पछि के लाग्छ ?
सत्ता नपाउँदा कस्तो, पाएपछि भो सस्तो,
आफ्नो काम कर्तव्यनै,भुले पछि के लाग्छ ?
३.
ढाँटेको व्यापार चल्दै चल्दैन,ढुक्क हुनुहोस्,
पानीले दिपक जल्दै जल्दैन,ढुक्क हुनुहोस्,
यतिका वर्ष फल, नदिने थारो बूढो रुख,
सँधै खान्छ मात्रै फल्दै फल्दैन, ढुक्क हुनुहोस् ।
४.
फलाममा सुन मिसिए पछि के हुन्छ ?आँफै बुझ्नुस्,
केही दिन घिसिए पछि के हुन्छ ? आँफै बुझ्नुस्,
सम्बन्ध रहुन्जेल सम्मन, कति प्यारो हुन्छ तर,
रहेको सम्बन्ध चिसिए पछि के हुन्छ ?आँफै बुझ्नुस् ।
५,
आफ्नो बखान आँफै गर्छन्,अचम्म लाग्छ,
सँधै सत्ताकै लागि मर्छन्, अचम्म लाग्छ,
सत्ता बिना बाँच्नै नसक्ने, कस्तो रोग हो ?
हदै नाघेर तल झर्छन्, अचम्म लाग्छ ।
नेपालगंज-२०, राँझा एयरपोर्ट, बाँके
वि.सं.२०७७ पुस २५ शनिवार ०८:२७ मा प्रकाशित






























