
(१)
अनुप्रास मिल्दैमा भाब मिलेन, भने त्यो मुक्तक हुँदैन
कथा ब्यथा पस्किन सकेन, भने पाठकको मन छुदैन
चार लाईन लेख्दैमा मुक्तक, हुन्छ भन्ने ठान्दै नठान्नु
चेतनाको नदी बगाउन सकेनौ, भने मनको मैलो धुदैन..
(२)
तराई भेगमा शित लहरले, यस्तो आपत पर्दाखेरि
दिन दिनै गरिब जनता, चिसोले नै मर्दाखेरि
कुर्सीमै अल्झिराछन नेता, अचेलभरि आउनै छोडे
दुःख पर्दा हेर्छौं भन्थे, अस्ति भाषण गर्दाखेरि ..
(३)
दिनै पिच्छे युवा शक्ती, बिदेश जाने क्रममा छन
आफ्नो देश त्यसै छोडी, बिदेश तिर श्रममा छन
फल्न त बिदेशमा पनि, पैसा रुखमा फल्ने होईन
देशमा कमाई हुन्न भन्छन, किन यस्तो भ्रममा छन..
(४)
मन्दिर बनाएँ मूर्ती कुँदे , हेर मेरा यि नै हातले
आज त्यहि मन्दिर पस्न, दिन्नन् मलाई ठुला जातले
अहिले पनि जातपात भन्दै, यस्तो बिभेद हुन्छ भने
कुन्नि कहिले कोल्टे फेर्छ, अन्धकार यो कालो रातले ..
(५)
प्रणय दिवसमा मेरो, लागि बिदेशि फूल लिन्छौ भने
तिम्रो प्रेम स्विकार्दिन, आयातित गुलाफ किन्छौ भने
त्यो दिन खुशि हुँदै, तिम्रो प्रस्ताब स्विकार गर्छु जब
प्रेम स्वरुप आफ्नै, देशको लालिगुँरास दिन्छौ भने …
वि.सं.२०७७ माघ ३ शनिवार ०८:३६ मा प्रकाशित






























