back
CTIZAN AD

कविता: महाराजको हुकुम प्रमाङ्गी

वि.सं.२०७७ माघ ३ शनिवार

921 

shares

दरबारको सिंहासनमाथि उभिएर
म आदेश जारी गर्दै छु
सुरक्षामा खटिएका पहरेदारहरू हो
बन्द गर दरबारको मूलद्वार
र टाँगिदेऊ सूचनापाटीमा
मेरो आदेशको लालमोहर
आजैदेखि बन्द रहनेछन् सहरका यावत द्वारहरू ।

खबरदार !
छिर्न नपाऊन् अस्पतालको परिसरभित्र
भाइरसकै अनुहारसित हुबहु मिल्ने आँखाहरू
बन्द गरिदिनू उपचारका आकस्मिक सेवा
र, निर्मलीकरणपश्चात् यथावत् राख्नू शैथ्याहरू
सतर्क रहनू जुनसुकै बेला आउन सक्छु
विश्रामका लागि अस्पतालको आरामदायी कक्षमा ।

होसियार !
सबैलाई जानकारी रहोस्
जुनसुकै बेला चल्न सक्छ भारदारी दौडाहा
तसर्थ बन्द गर
शिक्षालयका प्रवचन र अनुसन्धान कक्ष
र, योजना गर प्रयोगशालाहरूमा
कसरी रूपान्तरण गर्न सकिन्छ ?
अधिकार खोज्ने मानिसलाई यन्त्रवत् गुलामहरूमा ।

कतै जस्केलातिरबाट लुसुक्क निस्कन नपाऊन्
अराष्ट्रिय अनुहार बोकेका प्रतिगमनका चाकरहरू
अधिराज्य समृद्धिको बाटोमा लम्किरहेको बेला
अचानक झुल्किन सक्छन्
यी माग्ने जस्तो अनुहार परेका सर्वहाराहरू
समातेर एक एक राजद्रोही मतियारहरूलाई
कोचिदिनू सदर जेलखानाभित्रका निर्मम कोठीहरूमा
उतै गोलघरको कापतिरबाट देख्नेछन्
उनीहरूले महाराजको प्रतापको उज्यालो घाम

दरबारी शयन कक्षको बार्दलीबाट
म शाही फर्मान जारी गर्दै छु
सबैले तम्तयार रहनू
जुनसुकै बेलामा चल्न सक्छ
म र मेरा भारदारहरूको सवारी कारकेड
म मेरो अधिराज्यको भूगोलभित्र
निर्भयसाथ परिभ्रमण गर्न चाहन्छु
सिद्धार्थलाई बहकाएझैँ बज्रस्वाँठहरूले
मेरो यात्राको गन्तव्य नबिथोलून्
तसर्थ बन्द गर
सडकमा गुडिरहेका यावत वाहनहरू
आकाशमा चराझैँ उडिरहेका वायुयानहरू
सडकपेटीमा हिँडिरहेका मान्छे जस्ता आकृतिहरू
र, बन्द गर
हठात् लालदरबार चिहाउन खोज्ने
उत्तरआधुनिक सन्झ्यालहरू
दरबारभित्र तयार हुँदै छन् रैतीका बडापत्र
दरबारभित्रै तयार हुँदै छ मुलुकको बन्डापत्र
महाराजको जो हुकुम बक्स भयो
सहरलाई चारै दिशाबाट कब्जा गर
र, पहरा देऊ
कतै जस्केलातिरबाट लुसुक्क निस्कन नपाऊन्
अराष्ट्रिय अनुहार बोकेका प्रतिगमनका चाकरहरू
अधिराज्य समृद्धिको बाटोमा लम्किरहेको बेला
अचानक झुल्किन सक्छन्
यी माग्ने जस्तो अनुहार परेका सर्वहाराहरू
समातेर एक एक राजद्रोही मतियारहरूलाई
कोचिदिनू सदर जेलखानाभित्रका निर्मम कोठीहरूमा
उतै गोलघरको कापतिरबाट देख्नेछन्
उनीहरूले महाराजको प्रतापको उज्यालो घाम ।

गोलन्जोर ६, सिन्धुली हाल पेप्सीकोला काठमाडौँ

 

वि.सं.२०७७ माघ ३ शनिवार ०८:४० मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...