
सुनौलो विहानी लिई घाम आयो,
मलाई कसैको कहानी सुनायो ।
छ यो देश मेरो हिराको सिरानी,
खुलेरै म हाँस्ने दिवानी बनायो ।१।
झरेको छ झर्ना हुँदै नागवेली,
पहाडी पखेरा सुसेल्दै रसायो ।
छ रारा र फेवा खुदै शान हाम्रो,
स्वदेशी जवानी खुली मुस्कुरायो ।२।
लिएको हजारौँ सुगन्धी छ हावा,
खुशी लाख छर्ने गुराँसे मुना यो ।
छ मेची र काली लुकेको नसामा,
जहाँ बग्छ कोशी त्यहीँ प्राण मेरो ।३।
छ चुड्का र ख्याली बिनायो र मादल,
सबै साथ खेल्छौँ नतेरो न मेरो ।
छ प्यारो धरा यो उमा जानकीको,
यसैमाझ रम्ने कला पारखीको ।४।
महात्मा कयौँले सिँगारे र देश,
बने वीरताको नमूना अशेष ।
दिए त्याग गर्दै धरा यो अखण्ड,
रहोस् धाम मेरो युगौँ यो अनन्त ।५।
छन्द: भुजङ्गप्रयात
वि.सं.२०७७ माघ १० शनिवार ०८:३४ मा प्रकाशित






























