
१
प्रेमले भरीएको आँखा होस्, श्रद्धाले झुकेको शिर नहोस् !
मनबाट आएको भाका होस्, मन भित्रै उम्रेको पीर नहोस् !!
दर्शनका ठेली पढेर मात्र के काम लाग्छ र भन्या हे हजुर,
नमिले त दूध भात हुन्छ हजूर, नाम चाहे किन खीर नहोस् !!
२
बन्न सकूँ मधुरस, माहुरी बनी भुन्भुनाउनु सधैं तिमी !
फूल्न सकूँ कुसुम लता बनी, मुस्कुराउनु सधैं तिमी !!
सदा गर्न सकूँ भलो सबैको, चाहे चरणको धूलो भई,
भन्न सकूँ प्रेमिल गीत मात्र चुल्बुलाउनु सधैं तिमी !!
३
चमेलीको सुवास चल्यो, मनमा गुराँस फुलेन किन ?
डाली भरियो खुसीको, तर मनमा भँवरा डुलेन किन ?
छन् चाहनाका अनेक बहाना, जवानीको रंगले होकी,
बसाईं त मनमै सर्यो तर, मनमा अझै प्रीत झुलेन किन ?
४
मौसम खराब हुँदा खुसीको बाला नझुल्ने भो यो मनमा
फूल त फुल्यो बगानभरी मखमली नफुल्ने भो यो मनमा
कल्पनाको रंगमञ्चमा अंधकार मात्र देख्छु सबै वरिपरि
उज्यालो पारी छ, तर डरले खुल्दै नखुल्ने भो यो मनमा ।
५
प्रिय आज म एक्लो छु मेरो सपनीमा गुनगुनाउनु
सधै तिम्रो म ख्याल राख्छु माउरी झै भुन्भुनाउनु
मधुशाला तिम्रो त्यो बाल्यघर घार जोगाउनु सधैं
पिएर मधुरस म अघाउँछु तिमी त्यही छुन्मुनाउनु ।
वि.सं.२०७७ माघ १७ शनिवार ०६:४६ मा प्रकाशित






























