
म फेवाको माछा फनफन घुमी देख्छु पुछर
म राराको पन्छी हिम चउरमा रम्छु फरर
म लेकैको हावा सरर धुनमा गीत रसिलो
म यार्सागुम्बाको महक बुटिमा हुन्छु कसिलो
म मेरो पाखामा रङ विरङका उड्छु पुतली
म मेरो भाकामा सुर लय कसी फुक्छु मुरली
म मेची कालीको जल जतनको आशिक बनौँ
म उर्जाको पानी युग प्रविधि झै उन्नत बनौँ
म गाऊँ आफै नै हिमशिखरको आर्ष महिमा
बचाऊँ लोकैको प्रचुर जनको शीर्ष गरिमा
म डाकूँ संसारै पद–पथ छुने गौरव कथा
म ढाकूँ प्रेमैले तन मुटु छुने मानव व्यथा
म मेरो माटामा फल र फुलको बैंस सुमरूँ
म मेरो बाटामा कहर सकिने रङ्ग म छरूँ
म मेरो बुट्टामा मगमग हुँदै जङ्गल फुलूँ
म मेरो खुट्टामा उभिन सकिने हिम्मत गरूँ
म झाडीको गैँडा वन मुजुरका साथ वयली
न आऊ खाडीमा दुख–सगरिको गाथ सयली
म त्यागी हिँम्साको जलन जरिया मानव बनूँ
म सन्सारी मान्छे ! परहित जपी यन्त्र नबनूँ
म पाङ्गो माटामा तरर पसिना सिन्चित गरूँ
म मेरै पारामा भरर बिउका बीजन छरूँ
म मेरा झर्नामा झर झर झरी सङ्गीत भरूँ
म मेरो कर्मैमा रमरम रमी मङ्गल बनूँ
शिखरिणी छन्द
वि.सं.२०७७ माघ १७ शनिवार ०६:४८ मा प्रकाशित






























