
न खूँडा न भाला लियो कोरोनाले ।
मरे प्राँण त्यागे, हजारौँ जनाले ।।
तगारो न ढोका, कतै छेकिदैन ।
लगारौँ झपारौँ, भने देखिदैन ।।१।।
नदेख्ने जिवाणू, यति शक्तिशाली ।
सर्यो लुत्त भाग्यो, सुनामी खसाली ।।
न राजा न मन्त्री, न ठूला र साना ।
भयो बस्नु पर्ने, सबै झ्यालखाना ।।२।।
कतै ठेउलाले, कतै दादुराले ।
कतै प्लेग भन्थे, बराजू बुढाले ।।
लाग्यो कोरोनाले, सबै थर्कमान ।
हजारौँ जनाले, गरे देह दान ।।३।।
कुनै देह संपर्कले सर्छ भन्छन् ।
कुनै श्वास बन्देजले टर्छ भन्छन् ।।
कुनै नाक थुन्छन् धरोले कसेर ।
बित्यो याम सारा घरैमा बसेर ।। ४।।
सबै गूड गर्थे नमस्कारमा छन् ।
नगर्ने हरु मृत्युको मारमा छन् ?।
उड्यो भाग्य रेखा सबै हात धुन्छन ।
तथापी नसुन्ने समाचार सुन्छन् ।।५।।
कुनै श्वास फेर्दा भयो कस्ट भन्छन् ।
रूघा वा जरोले भएँ ग्रस्त भन्छन् ।।
भने कोरना हो भनी बुझ्नु पर्ने ।
र त्यो काल सँङ्गै मिली जुध्नु पर्ने ।।६।।
कतै भागि आए खुला भो सिमाना ।
कतै साथ ल्याए उडाई बिमान ।।
अझै रोग सार्ने बडेका बड्यै छन् ।
कतै मृत्यु सङ्गै लडेका लड्यै छन् ।।७।।
कतै फोन गर्छन् उठ्यो बार बार ।
कतै मर्न थाले नपाई गुहार ।।
कमाऊ छ धन्दा निजी अस्पताल
बिचल्ली दरिद्री सधैं नै बिहाल ।।८।।
जित्यो कोरोनाले सबै युद्ध आज ।
थिए शक्तिमा जो भए क्रुद्ध आज ।।
न जन्तू न पन्छी न किरा समायो ।
झनै श्रेष्ठ प्राणी लग्यो ऊ रमायो ।।९ ।।
सबै लट्पट्यायो न कालो न गोरो ।
मलामी न जन्ती कठै रुन्छ छोरो ।।
न त्यो जन्म ठाउँ पुग्यो लास मेरो ।
जता जाउ बर्दिहरुको छ घेरो ।।१०।।
झनै तुच्छ प्राणी सबै सारमा छन् ।
म जान्ने म बुझ्ने हरु मारमा छ ।।
बनाए खजाना गरे युद्ध सारा ।
तिनै आज भन्छन् भएँ बेसहारा ।११।।
कतै स्वाब जाँच्ने भनी ठग्न खोज्छन् ।
उनै लास पुर्ने तिथी लग्न खोज्छन् ।।
न भो मापदन्ड सबै भगबण्डा ।
समाएर डण्डा चलाए बितण्डा ।।१२ ।।
ढल्यौ वा सकेनौ यदी फेर्न सास ।
भने मात्र जाऊ कुनै अस्पताल ।।
भनी भन्न थाल्छन् कुनै प्राज्ञ आज ।
उठ्यो हात सर्कारको छैन लाज ।।१३।।
बहाना छ सेवा कतै लूटमा छन् ।
सही बोल्नु पर्ने हरु झूटमा छन् ।।
उनै शब्द चिल्ला छरेका छर्यै छन् ।
र सोझा र सीधा मरेका मर्यै छन् ।।१४ ।।
(भुजङ्ग प्रयात छन्द)
वि.सं.२०७७ माघ १७ शनिवार ०६:५९ मा प्रकाशित






























