सुनौला सपना बुनेर
पर्देश पुग्ने जवानहरू !
बगान बेसहारा पारेर
मुग्लान रोज्ने कमानहरू !
परिवारका आशा भरोसा
भाग्य र भविष्य बाँकी राखेर
काम,दाम र प्राणसमेत उतैको भूगोलमा
मुग्लानतिरै थाती राखेर
ल्याइएका छन् गाँस बास
भोग्नै नपर्ने जन्मथलोमा
सास नभएको लास
नयाँ बाकसमा सुरक्षित राखेर
आइपुगेछन् बिचरा पर्देशी
आफ्नै जन्नभूमिको माटो भाकेर ।
चिर निद्रामा सुतेको जवानी
अटाएन अझै नयाँ बाकसमा पनि
कसैले अर्पेका छन् फूलमाला र खादा तिनलाई
संस्कार खोज्दै केवल आफ्नै
सम्झेर देश समाधिस्थका लागि
फर्काएका छन् तिनलाई ।
न रुन्छन् न त हतारमा छन् तिनी
मात्रै आफन्त विस्मय र शोकमग्न छन्
पिल्पिलाएका छन् आफन्ती
र फगत व्याकुलताले टिल्पिलाएका छन् ।
न चिमोटिन्छन् तिनी न सुन्छन् केही नै कुरा
अन्त्येष्टीखातिर टाढादेखि आएका छन्
शवदाह नजिकै झिकिएका छन्
न थिए बिरामी न थियो सिरानी
महिनौं पहिल्यै निभ्यो जिन्दगानी
लगाएर अग्नि बगाए खरानी
नदी खोलीबाट उघाएर पानी
पूरै शून्य सपना व्यथित छ राम–कहानी ।
हालः लोकन्थली, भक्तपुर
वि.सं.२०७७ फागुन १ शनिवार ०७:२४ मा प्रकाशित






























