बाबा पालक हुन् भने प्रकृतिमा आमा दयाकी नदी ।
आमा हुन् जगकी अमोघ सृजना बाबा विकाशोन्मुखी ।।
फाटेका कपडा तुनेर तन ती ढाकी हिँडे सर्वदा ।
फेरेनन् तनका लुगा रहरले फाटेर थोत्रा हुँदा ।।१।।
पीडामा पनि भोक प्यास सहँदै बस्छन् सदा सर्वदा ।
छर्दै स्नेह सुवास ती अधरमा मुस्कान भर्छन् सदा ।।
हाँसो भित्र लुकाउँदै कहर ती वात्सल्यमा भुल्दछन् ।
खेप्दै शोक र भोकका पल सधैँ मातृत्वमा झुल्दछन्। ।२।।
राधा कृष्ण समान पुज्य जगमा बाबा र आमा त हुन् ।
आमा हुन् चरणामृता भुवनकी बाबा शिरोधार्य छन् ।।
बाबाको मुखमा म देख्छु हरि झैँ हाँसेर बोल्दा उनी ।
आमाको तनमा सुता जनककी आराध्य देवी पनि ।।३।।
बाबाले धुपतापको कहरमा पीडा अनेकौँ सहे ।
आमाको सुखदुःखमा रहरका आँखा रसाए बहे ।।
बाले कर्म गरेर उर्वर हुँदै डाँडा र पाखा खुले ।
आमाले पसिना छरेर घरमा चुल्हा अँगेना बले ।।४।।
बाआमा सव तत्व हुन् भुवनमा मायाँ पघारी दिने ।
चन्द्रादित्य भई समग्र जगमा आँखा उघारी दिने ।।
बाबा शब्द अमूल्य हो जगतमा सन्तानका खातिर ।
आमाको महिमा अतुल्य छ सधैँ संसारमा आखिर ।।५।।
वि.सं.२०७७ फागुन १ शनिवार ०७:३६ मा प्रकाशित






























