एनआरएनको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले साप्ताहिक रुपमा संचालन गर्दै आएको’प्रवासी प्रवाह’ को आइतवारको शृंखला प्रेम दिवस विशेष कार्यक्रम गरी सम्पन्न गरेको छ ।
आइतवार फेब्रअरी १४ कै दिन परेकोले यसपटक’प्रवासी प्रवाह’ लाई प्रेम दिवस विशेष बनाई संचालन गरिएको सोही समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन् ।
आइतवारको कार्यक्रममा आमन्त्रित पाहुना कवि एवं कवयित्रीहरुले आ–आफ्ना प्रेम प्रसंग स्मरण गर्दै रचना वाचन गरेका थिए ।
यसैगरी प्रेमिल प्रतिनिधि जोडीको रुपमा अमेरिकाको टेक्सासमा रहेका चलचित्र निर्देशक,लेखक एवं गीतकार शैलेश आचार्य र श्रीमती कल्पना आचार्यले आफुहरुको प्रेम प्रसंग समेत सुनाएका थिए ।
यसैगरी अमेरिकामै रहेकी कवयित्री दिपा राई पुनले पनि आफुहरुको अन्तरजातीय प्रेम र विवाहको बारे स्मरण गरेकी थिइन् ।
समितिका संचार संयोजक गौतम दाहालले संचालन गरेको कार्यक्रममा समितिका अध्यक्ष हिक्मत थापा,अमेरिका क्षेत्रका संयोजक महेश्वर पन्त, समितिकी सदस्य सचिव एवं प्रवासी प्रवाहकी संचालिका भगवती बस्नेत, समितिकै सदस्य बेलायतका नृपेश उप्रेती र अमेरिकाबाट शैलेश आचार्य, दिपा राई पुन र नादिया लिवाङ्गका साथ अफ्रिकाबाट गणेश खड्काले प्रेम दिवस विशेष आ आफ्ना सिर्जना बाचन गरेका थिए ।
प्रवासी प्रवाह विगत १० महिनादेखि हरेक आइतवार संचालन भैरहेको छ ।
वि.सं.२०७७ फागुन ४ मंगलवार १५:०२ मा प्रकाशित






























