
( १ )
देश बर्बाद भयो भनी पीर लिएर के गर्छौं
पीडा बिर्सिन दिनहुुँ रक्सी पिएर के गर्छौं
नेताको घैँटोमा कहिल्यै घाम नलागेपछि ,
सभा जुलुसमा व्यर्थ समय दिएर के गर्छौं ।
( २ )
कर्मले ठग्यो तर मैले ठग्न सकिन
अनेकौं चोट सहिरहे डग्न सकिन
जिन्दगी अविरल बगाई हो भन्थे
हिउँझैं जमे नदी भई बग्न सकिन ।
( ३ )
सधै सत्ताको निम्ति मरिहत्ते गर्नेलाई के भनौं
कहिले यता त कहिले उता सर्नेलाई के भनौं
देशमा नैतिकता र आदर्शको खडेरी परेपछि ,
विदेशीको अगाडि लम्पसार पर्नेलाई के भनौं ।
( ४ )
तिम्रो सम्झनामा चौतारीमा बर पीपल सारेको छु
गाईभैंसीले खाईदेला भनी काँडेतारले बारेको छु
माया भन्ने पनि आखिर स्वार्थ रहेछ छोडेर गयौं
निष्ठुरीको याद आउँदा हर रात आँसु झारेको छु ।
( ५ )
मनभित्र पीडा छ सबैको सामुन्ने खुलेर हाँस्न सकिन
आफ्नै हातले फूल टिपेर पनि धागोमा गाँस्न सकिन
बिन्ती छ निष्ठुरीले मलाई धोका दियो न भन्नु है प्रिया ,
विवश छु चाहेर पनि तिमीलाई छातीमा टाँस्न सकिन ।