परिचय पत्रले बोकेको अनुहार भन्दा
केही भिन्न हुँदो रहेछ
कति अनुहारहरु ।
मात्र हाँस्नुको लुइरो बिज्ञापन काखिमा च्यापेर
त्यसै रङ्गालिरहन्छ
मान्छे हुनुको आकृति,
जहाँ देख्छौ
देखाउने र लुकाउने
दुई फरक फरक अनुहारहरू ।
जब मान्छेको साँचो अनुहारबाट
अनुहार हराउछ
तब जन्मन्छ भ्रमको सर्प
त्यसैले भ्रम पाल्नु भनेको
कुनै अनाम शंकट पनि पाल्नु रहेछ ।
अनुपस्थितिमा तथानाम गर्नेहरू
अनुपस्थितिमा बदनाम गर्नेहरू
अनुपस्थितिमा काम तमाम गर्नेहरू
उपस्थितिमा खिस्स सापटी हाँसेर भन्ने गर्छन्–
’तपाईंलाई देखेर सारै खुशी लाग्यो ।’
अनुहारमा पुरस्कारको माला उठाएर
गलामा तिरस्कारको भाला लगाउनेहरू
लाग्छ कहिले काहीँ
बिपनाको कुरूप अनुहार भन्दा
सपनाको सुन्दर अनुहार
साह्रै घातक हुँदो रहेछ ।
जब लगाउछ घामले कालो सनग्लास,
जब लगाउछ हावाले अदृश्य
एयर माक्स,
जब लगाउछ सेतो पानीले
रेनफ्रूफ ज्याकेट,
तब छुट्टयाउन गाह्रो बन्छ
अनुहारको परिचय ।
जहाँ हावाले अक्सिजन भन्दा अफवाह बेसी बाँड्छ,
जहाँ बाटोहरूले अन्तकतै
अप्रिय गन्तव्यमा डोर्याउछ,
जहाँ नशाहरूले रगत भन्दा बेसी
ईष्याहरू तान्छ,
जहाँ मीठो मुस्कानहरूले
डोर्याउदै डोर्याउदै लगेर
अग्लो भीरबाट घचेडीदिन्छ
त्यसबेला अनुहार ठम्याउनु भनेको
मरेर फेरि बाँच्नु रहेछ,
हराएर कतै आफूलाई आफैले पाउनु रहेछ,
आफ्नु अनुहार आफै चिन्नु रहेछ ।
वि.सं.२०७७ चैत १४ शनिवार ०६:५८ मा प्रकाशित






























