
२५ चैत, काठमाडौं । गण्डकी प्रदेश सरकारमा माओवादी केन्द्रका तर्फबाट मन्त्री भएका दुई जना मन्त्रीले राजिनामा दिएका छन् ।
बुधबार बसेको संसदीय दलको बैठकले आफ्ना दुवै मन्त्रीलाई राजिनामा दिन लगाउने निर्णय गरेसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले राजिनामा दिएका हुन् ।
राजिनामा पत्र बुझाउँदै मन्त्री चुमानले दुवै पार्टीमा फेरि सहकार्य गरेर अगाडि बढ्ने बाटो खुलोस् भनेका थिए ।
गण्डकी प्रदेशसभामा सबैभन्दा बढी एमालेका २७, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपा बदर गर्दै नेकपा एमाले र माओवादी केन्द्र व्युँत्याइदिएपछि प्रदेश तथा केन्द्रमा सरकारलाई सार्थन दिने र फिर्ता लिने क्रम चलिरहेको छ । नेकपा माओवादी केन्द्रले संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने बताएको छ ।
त्यसैगरी कर्णाली प्रदेशमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्र बहादुर शाहीको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको छ भने, प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविस्वास प्रस्ताव फिर्ता लिइएको छ ।