वैशाख २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन केन्द्रदेखि तलसम्मै समिकरणको प्रयास भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच तलसम्मकै समिकरणको बारेमा छलफल चलेको हो ।
स्रोतका अनुसार केन्द्रमा प्रधानमन्त्रीदेखि प्रदेशमा मुख्यमन्त्री हेरफेरबारे प्याकेजमै सहमतीको प्रयास भईरहेको छ । केन्द्रमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदै प्रदेशमा ओली निकटका मुख्यमन्त्रीलाई विस्थापन गर्ने र नयाँ सरकार बनाउनेबारे प्याकेजमा नै छलफल चलिरहेको छ ।
निकटस्थका अनुसार गण्डकी प्रदेशमा दर्ता गरिएको अविश्वासको प्रस्ताव सुरुवाती हो । तीन दलबीच लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको विषयमा पनि मोटामोटी सहमती भईसकेको छ । जनाइएअनुसार गण्डकीमा कांग्रेसले नेतृत्व गर्ने र लुम्बिनीमा माओवादी केन्द्रले नेतृत्व गर्ने सहमती भएको छ ।
त्यसैगरि अल्पमतमा परेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कांग्रेसले सहयोग गर्ने सहमती भएको छ ।
दलहरुबीच ओलीको ठाउँमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई अगाडि बढाउने छलफल चलिरहेको निकटस्थले बताएका छन् । जहाँ जसपाले भने डा. बाबुराम भट्टराईलाई पनि अगाडि सार्न सकिने बताइरहेकाे छ ।
तथापी जसपा सरकारमा जाने विषयमा भने विभाजित रहेको बताइएको छ । जनाइएअनुसार जसपाकाे महन्थ ठाकुर (पूर्व राजपा) समूह भने केहि अलमलको कुरा गरिरहेको छ । ठाकुर समूह यसअघि पनि पटक–पटक ओलीसँग सहकार्य गर्ने बारे बेग्लै छलफलमा जुटेको थियो । तर, जसपाकाे बहुमत समूह ओली इतरसँग सहकार्य गर्नुपर्ने अडानमा छ ।
निकटस्थका अनुसार केन्द्रदेखि तलसम्मै तीन दलसँग सहकार्यकाे लागि राष्ट्रिय जनमाेर्चाले पनि चाँसाे देखाएकाे छ । दलहरूबीच कतिपय प्रदेशमा निर्णायक मतमा देखिएकाे राजमाेलाई सम्मानपुर्वक अगाडि बढाउने विषयमा छलफल चलिरहेकाे बताइएकाे छ ।
सम्बन्धित समाचार
माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…
अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले मध्यरातमै गरे प्रदेशसभा अधिवेशनको अन्त्य
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता
वि.सं.२०७८ वैशाख २ बिहीवार १७:१९ मा प्रकाशित