३ असार, गमगढी, मुगु । एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत कर्णालीको हिमाली जिल्ला मुगुमा पनि अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।
जिल्ला अस्पताल गमगढीलाई सत्तरी लिटरका दश थान अक्सिजन सिलिन्डर सहयोग गरेको हो । दुर्गम मुगुका लागि भैरहवाबाट पठाएका सिलिन्डर तीनवटा गाडी फेर्दै सातौ दिनमा मुगु जिल्ला अस्पतालमा पुगेका छन् ।
नेपाल पत्रकार महासङ्घ मुगुका सभापति नृपेन्द्र बहादुर मल्लले मुगु जिल्ला अस्पतालका प्रमुख डा. कविर पौडेललाई उक्त भरी १० थान सिलिन्डर एनआरएनए अफ्रिकाको तर्फबाट हस्तान्तरण गरेका हुन् ।
उक्त सहयोग बुझ्दै अस्पताल प्रमुख डाक्टर कविर पौडेलले राज्यले दूरदराजका दुर्गम हिमाली जिल्लामा सेवा दिन नसकी रहेका बेला अफ्रिकामा भएका दाजु भाई, दिदी बहिनीले गरेको यो सहयोग साच्चै नै भगवान साक्षात आई सहयोग गरेको महसुस भइरहेको बताए । उनले आगामी दिनमा पनि यस्तै दुर्गमका गरिब- दुखी जनतालाई सहयोग गर्न एनआरएनएलाई अनुरोध गरेका छन् ।

एनआरएनए अफ्रिकाले खरिद गरि दिएको सिलिन्डरसहितको अक्सिजनलाई भैरहवा देखी नेपालगन्जसम्म वेदप्रकाश तिमिल्सिना र नेपालगन्जदेखि मुगुसम्म छायानाथ बचत तथा ऋण सहकारी सस्थाले आफ्नै खर्चमा ढुवानी गरि दिएका थिए ।
त्यस्तै अति दुर्गम हिमाली जिल्लामा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै, स्थानिय संयोजन गरिदिनु हुने नेपाल पत्रकार महासङ्घ मुगुका सभापति नृपेन्द्र बहादुर मल्ल, अछाम पत्रकार महासंघका सस्थापक सभापति वेदप्रकाश तिमिल्सैना र सहयोग जुटाइदिने एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापा, बोत्स्वाना अध्यक्ष पदम भण्डारी, कङ्गो अध्यक्ष अमृत क्षेत्री, मोजाम्बिक अध्यक्ष देवी पौडेल लगायत एनआरएनए अफ्रिकाका सबै राष्ट्रिय समन्वय समिति र सदस्यहरुलाई एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले हार्दिक आभार ब्यक्त गरेका छन् ।
वि.सं.२०७८ असार ३ बिहीवार १२:४६ मा प्रकाशित






























