२५ असार, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले उम्मेदवारी घोषणा गरेका छन् ।
३१ जुलाईमा हुने एनआरएनए यूकेको निर्वाचनमा गाहा मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी दिँदै सातबुँदे ऐजेण्डा समेत जारी गरेका छन् ।
२०२१–२०२३ का लागि अध्यक्ष पदमा जुलाई १५ मा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न लागेका गाहा मगरले संस्थाको आर्थिक पारदर्शिता, सुदृढीकरण, भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधान, नेपाली नागरिकताको निरन्तरता र नेपालमा सम्पत्तिको सुरक्षा तथा लगानी, युवापुस्ता र महिलाहरुको सहभागितामा उल्लेख्य वृद्धि, नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना, नेपाल हाउस परियोजना लगायतका विषयलाई मुख्य ऐजेण्डाको रुपमा अगाडि सारेका छन् ।
कतिपय विषयमा एनसीसी आफैंले र कतिपय विषयमा आइसीसीसँगको सहकार्य गर्दै अगाडि बढ्ने बताएका गाहा मगरले नेपाली नागरिकताको निरन्तरता र नेपालमा सम्पत्तिको सुरक्षा लगायतका विषयमा अन्य एनसीसीहरुसँग पनि समन्वय गर्दै अगाडि बढ्ने समेत बताएका छन् ।
यी हुन् गाहाका सातबुँदे प्रतिबद्धता
१. कुनै पनि संस्थामा आर्थिक पारदर्शिता अपरिहार्य छ । एनआरएनए युकेमा अहिले चलिरहेको आर्थिक पारदर्शिताको अभियानलाई मैले निष्कर्षमा पुर्याउने छु र लेखा प्रणालीलाई चुस्त बनाउने छु । एनआरएन यूकेलाई सबै सदस्यहरुले गर्व गर्न सक्ने उदाहरणीय संस्था बनाउने छु ।
२. ‘नेपाली नागरिकताको निरन्तरता’ र नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षाको लागि गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद मार्फत नेपाल सरकारसँग अभियान चलाउने छु । नयाँ पुस्तालाई मातृभूमिसँग जोड्ने पहललाई परिणाममुखी बनाउने छु ।
३. भूतपूर्व गोर्खा सैनिकहरुको न्याय र समानताको पक्षमा १३ बुंदे प्रतिवेदनसहितको ज्ञापनपत्र हामीले ब्रिटिश प्रधानमन्त्री तथा नेपाल सरकारलाई पठाइसकेका छौं । म आफै एक भूतपूर्व गोर्खा सैनिक भएकाले पनि आगामी कार्यकालमा गोर्खा समस्या समाधान गर्न रातदिन क्रियाशील हुनेछु ।
४. गैरआवासीय नेपाली संघ, यूके (एनआरएनए, यूके) लाई बेलायतस्थित सबै नेपालीको साझा संस्था बनाउने मेरो मुख्य उद्देश्य हो ।बेलायतका सबै राज्यमा बसोबास गर्नुहुने आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुको भावनालाई आत्मसात गर्दै, नेपाली समुदायमा कृयाशील सबै सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा, ‘नेपाल हाउस निर्माण परियोजना’ लाई अगाडि बढाउने छु । आपत्कालीन कोषको रकम वृद्धि गर्दै आकस्मिक रुपमा आइपर्ने घटना तथा दुर्घटनामा राहत, उद्धार तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउने छु । समस्या पर्दा हरेक सदस्यलाई ‘मेरो एनआरएनए छ’ भन्ने अनुभूति गराउने छु ।
५. बेलायतमा ठूलो संख्यामा नेपालीहरुले प्राध्यापक, डाक्टर, इन्जिनियर, वैज्ञानिक, लएर, एकाउन्टेन्ट, उद्यमी, व्यवसायीका रुपमा सफलता प्राप्त गर्नु भएको छ । उहाँहरु सबैलाई एनआरएन अभियानसंग जोडेर उहाँहरुसंग रहेको सीप, दक्षता र पूँजी नेपालको विकासमा लगाउन मैले अथक प्रयास गर्ने छु । बेलायतबाट नेपालमा लगानी र पर्यटनलाई प्रोत्साहन गर्ने छु ।
६. युवा पुस्ता तथा महिलाहरुको उत्साहजनक सहभागिता अभिवृद्धिका लागि युवा र महिला लक्षित कार्यक्रम ल्याउने छु । अभ्यास तथा प्रतिस्पर्धात्मक खेलकुद, सीपमूलक तालिम तथा कार्यशाला सञ्चालन गर्ने छु । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास तथा प्रचार प्रसारका लागि प्रभावकारी अभियान सञ्चालन गर्ने छु ।
७. अधिवेशन आएपछि मात्रै एनआरएनए युकेको सदस्यता खुला गर्ने र लिने परिपाटीको अन्त्य गर्दै जहिले पनि सदस्यता लिन सक्ने व्यवस्था मिलाउने छु । एक पटक सदस्यता लिएपछि सदस्यता नम्बरका आधारमा हरेक दुई वर्षमा तोकिएको शुल्क तिरेर नवीकरण गर्न सकिने र पटक–पटक कागजात बुझाउन नपर्ने व्यवस्था गर्ने छु ।

समावेशी टिम बनाएर अगाडि बढ्ने गाहा मगरको घोषणा
अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका गाहा मगरले आफ्ना एजेण्डासँग सहमत व्यक्तिहरुसँग सहकार्य गरी समावेशी टिम बनाएर निर्वाचनमा जाने बताएका छन् ।
‘प्रेम गाहा मगर जिताऔं अभियान’ का प्रमुख एवम् पूर्वउपाध्यक्ष शेर सुनारले बेलायतको नेपाली समाजलाई प्रतिनिधित्व गर्ने गरी टिम बनाइने जानकारी दिएका छन् ।
एनआरएनको विधान अनुसार कुनै पनि राजनीतिक तथा संस्थागत रुपमा प्यानल बनाउन नपाइने भएकाले समाजलाई प्रतिनिधित्व गर्ने गरी समावेशी टिम बनाउन लागेको सुनारले जानकारी दिएका छन् ।
सुनारले सदस्यता अभियानमा देखिएको उत्साहजनक सहभागिताले नै गाहा मगर नेतृत्वको टिमको जित सुनिश्चित भइसकेको दावी समेत गरेका छन् । वर्तमान कार्यसमितिका चार उपाध्यक्षसहित बहुमत सदस्यहरु पनि गाहा मगरको समर्थनमा खुलिसकेको र समाजका अधिकांश अगुवा र एनआरएनएका अभियन्ताहरुले पनि मगरलाई समर्थन गरेको सुनारले दावी गरेका छन् ।
घोषणासभामा सहभागी हुन गाहा मगरको अनुरोध
गाहा मगरले एनआरएनका संस्थापकहरु, अग्रज अभियन्ताहरु, बेलायतस्थित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र एनआरएनका पन्जीकृत सदस्यहरु तथा सञ्चारकर्मीहरुमाझ उम्मेदवारी घोषणासभाम सहभागी भइदिन अनुरोध गरेका छन् । संस्थामा दुई कार्यकाल उपाध्यक्ष रहेर काम गरिसकेका गाहा मगरले विगतमा जस्तै साथ, समर्थन र माया दिएर आफूलाई विजयी बनाउन बेलायतवासी नेपाली समुदायबीच अनुरोध गरेका छन् ।
एजीएम अगावै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने उनको तयारी छ । कोभिड प्रोटोकलका कारण भर्चुअल माध्यमबाट उम्मेदवारी घोषणा गर्ने उनले बताएका छन् । मगरले उम्मेदवारी घोषणासभामा जुम आईडी– ९२१६२२०८४६४ र पासकोड १२३४ मार्फत सहभागी हुन आफ्ना समर्थक तथा बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् ।
‘तपाईंहरुको साथ, सहयोग र मायाकै कारण मैले दुई कार्यकाल उपाध्यक्ष भएर काम गर्ने मौका पाएँ, अब अध्यक्ष पदका लागि यहाँहरुको साथ, सहयोग, समर्थन र माया प्राप्त हुने छ भन्ने विश्वास लिएको छु’– गाहा मगरले भनेका छन् ।
‘कार्यसमितिमा रहेर वा नरहेर मैले हालसम्म बेलायतवासी नेपाली समुदायको हितमा गरेका कामका आधारमा नै म अध्यक्षको उम्मेदवार बन्न लागेको हुँ’ आफ्नो उम्मेदवारी घोषणा बारे जानकारी दिँदै उनले भने ।
दुई कार्यकाल कार्यसमितिमा रहँदा नेपाली समाजको एकता, संस्थाको पारदर्शिता र सुदृढीकरण, भूतपूर्व गोर्खाहरुको समस्या समाधान, खेलकुद, युवाहरुको सहभागिता, मातृभूमिमा आइपरेको विपदमा सहयोग संकलन लगायतका क्षेत्रमा गरेका कामको आधारमा नै बेलायतवासी नेपाली समुदायको साथ र समर्थन पाउनेमा गाहा मगर ढुक्क रहेका छन् ।
जुलाई ३१ मा निर्वाचन
गैरआवासीय नेपाली संघ एनआरएनए युकेको नेतृत्व चयनका लागि ३१ जुलाईमा निर्वाचन हुने भएको छ । साथै अधिवेशनको उद्घाटन र साधारणसभा(एजीएम) भने जुलाई १८ मा नै सम्पन्न गरिने तय भएको छ ।
वि.सं.२०७८ असार २५ शुक्रवार १३:२७ मा प्रकाशित





























