कस्तो सन्जोग, कहिलेकाही सोच्दै नसोचेको कुरा भइदिन्छ । भर्खरै चलेको मोबाइल फोनको चलन । धरानको साथीलाई ल्याण्डलाइनमा फोन गर्दा सन्जोगवश एउटा नम्बर गल्तीको कारणले फोन अन्तै जान्छ र मिठो स्वर भएको युवतीले उठाउछिन् । नचिनेको मान्छेको स्वर सुनेपछि फोन राखिदिन्छिन् । तर, मलाई उनको मिठो स्वरले कताकता लोभ्याउछ र फेरि फोन गर्छु । उनी झर्कदै घरी–घरी फोन गरेर अरुलाइ दुःख दिनु हुदैन भन्दै रिसाउछिन् । तर, मैले फोन गर्न छोडिन । कहिले नउठाउने त कहिले उठाएर गाली गर्ने उनको रिसाउदो बोली मिठो मानेर सुन्ने बानी मेरो एक महिनासम्म चलिरह्यो ।
कुरा गर्दागर्दै मैले मेरो सबै कुरा सुनाए । एक प्रकारले अन्जान हामी अब साथी भइसकेका थियौ । उनले धेरैपछि मात्र आफ्नो नाम बताइन् मोहिनी भनेर । आहा ! कति राम्रो नाम मोहिनी म दङग परे । उनको र मेरो प्रायजसो कुरा भइरहन्थ्यो । हामी फोनबाट नजिक हुँदै गयौ । म उनलाइ सम्झदै कल्पनामा डुब्न थाले । मोहिनी फोनमा कुरा गर्दा त यति मिलनसार छिन् भने झन मान्छे कस्ति होलिन् ! मलाइ उनिसङ्ग भेट्ने इच्छा हुन थाल्यो । मैले त उनलाइ मेरो मनमा सजाइसकेको थिए । तर, मनको कुरा भन्न सकेको थिइनँ ।
यसरी कुरा गर्दागर्दै ६ महिना बितेको पत्तै भएन। समयको चक्र घुमिरह्यौ। अन्योलमा थिए म, कसरी उनिसङ्ग प्रेमको कुरा राखौ भन्ने कुराले मन खाइरहन्थ्यो । उनले अन्यथा सोच्लिन् कि भनेर डर पनि थियो मनमा ।
एकदिन त हिम्मत गरेरै मैले प्रेम प्रस्ताव राखे, तर उनले मेरो कुरालाइ स्विकारिनन् कुरा अन्तैतिर मोडिन् । दुइचार दिनपछि, फेरि मैले उनलाई फोन गरेर –‘म तिमीलाई भेट्न धरान आउछु ठेगाना देउ’ भने तर उनी मानिनन् । उल्टै भनिन्–बिकास, तिमी मलाइ भेट्ने कोशिस नगर, म तिमीलाई भेट्न सक्दिन भनेर फोन राखिदिइन् । मलाइ उनको कुरा सुन्दा अचम्म लाग्थ्यो, किन मोहिनी यस्तो कुरा गर्छिन, आखिर उनीमाथि के त्यस्तो परेको होला । उनी बारे जान्न उत्सुक भए ।
ठिकै छ मोहिनी, म तिमीलाई भेट्न् आउदिन । मेरो ठेगाना दिन्छु तिमीले सबै कुरा लेखेर पठाउ है त । उनले पनि हुन्छ भनिन् ।
केहि दिनपछी हुलाकमार्फत् मेरो नाममा एउटा चिट्ठी आयो । चिट्ठीको बाहिर उनको नाम मात्र थियो, ठेगाना चाहिँ थिएन । असारको महिना बाहिर झमझम पानी परिरहेको थियो । एकदमै हतार थियो मलाई मोहिनीले लेखेको चिट्ठी पढ्नलाई । म आफ्नो कोठाभित्र पसे र हतारिदै ढोकाको चुकुल लगाए । हतारमा चुकुल लगाउदा औला च्यापियो र दुख्यो पनि । मैले कुनै प्रवाह गरिनँ । छातिमा हात राखे मुटुको ढुकढुकी चाहिने भन्दा बढी नै चलेको महसुस भइरहेको थियो । त्यसपछि खाम च्यातेर पढ्न थाले ।
आत्मिय साथी विकास,
धेरै धेरै सम्झना
विकास, एउटा नम्बर गलत भएको कारण हाम्रो फोन मार्फत् भेट भयो । एक अर्कामा दुःखसुखका कुराहरू साट्यौ । जब तिमीले मायाप्रेमका कुरा गर्न खोज्थ्यौ नि मैले कुरा अन्तैतिर मोडिदिन्थे । किनभने मेरो भाग्यमा न कसैसङ्ग माया जोड्न छ न त कसैको माया पाउन नै लेखेको छ । म त त्यो अभागिनी केटि हँु जसको एउटा खुट्टा छैन । वैसाखीको सहारामा हिँडिरहेकी छु । विकास, मेरो जिन्दगी नै टुक्रिएको छ त्यसैले म तिमीलाइ मेरो जीवनको दुःखद घटना सुनाउदैछु ।
२०४५ साल भदौ ५ गते बिहानको समय, सिमसिम पानी परिरहेको थियो । त्यो बेला म सात बर्षकी थिए । काम हुने मान्छे उठिसकेका थिए नहुने सुतिरहेका थिए । हाम्रो धरानको छाताचोक भित्रपट्टी काचो इट्टाले बनेको पुरानो दुई तल्ले घर थियो । घरमा तीन जनाको परिवार थियौ । बाबा, आमा अनि म ।
बाबा भानु चोकमा फलफूल पसल गर्नुहुन्थ्यो । दुःखसुख हाम्रो गुजारा चलेको थियो । बाबा सधैं नै चारबजे नै उठेर पसल जानू हुन्थ्यो । सधैं जस्तो त्यो ५ गते बिहान पनि बाबा गइसक्नु भएको थियो । आमा र म सुतिरहेका थियौ । बिहानीपख एक्कासी भूकम्प आयो । मान्छेहरु भागाभाग गर्नथाले । आमाले मलाई बोकेर अत्तालिदै बाहिर निस्कन खोज्नु भयो । त्यसपछि के भयो मैले थाहा पाइनँ ।
भोलिपल्ट होस आउँदा म धरानकै वि.पी अस्पतालको बेडमा थिए । बाबा एकदमै चिन्तित अबस्थामा मेरो छेउमा हुनुहुन्थ्यो । मैले ‘आमा खोइ ?’ भनेर सोधे तर बाबा बोल्न सक्नुभएन । बाबालाइ झनै झकझकाउन थाले, ‘बाबा भन्नू न आमा खोइ ?’
बाबाले मेरो टाउको मुसार्दै रुदै भन्नुभयो–‘नानी, तिम्री आमा कहिले फर्किएर आउदिनन ।’ यति भन्दै बाबा डाको छोडेर रुन थाल्नु भयो । बाबा रोएको कहिले देखेकी थिइनँ । मेरि आमा मर्नु भएछ भन्ने बुझे । म पनि बाबासङ्गै रुन थाले । मेरो दाहिने पाटा धेरै दुखेको थियो । बाबा मलाइ धेरै गार्हो भयो भने । बाबाले मेरो टाउको मुसार्दै भन्नू भयो–‘नानी ,५ गते बिहान म पसल गइसकेको थिए । तिमी र आमा सुतिरहेका थियौ । सिमसिम पानी परिरहेको थियो । एक्कासि भूकम्प आयो म बाहिर भएको भएर केही भएन । म अत्तालिदै घरतिर फर्किए । बाटोभरी मान्छेहरु चिच्याउदै अनि रुदैं भागिरहेका थिए । हाम्रो घर आउने बाटोसम्म पुग्दा धेरै घरहरु लडिसकेका थिए । वरपरका छिमेकीहरु तिमी र आमालाई खोज्दै भित्र पुगे । तिमी र तिम्री आमालाइ माथिको दलिन खसेर थिचेको थियो । बल्ल बल्ल बाहिर त निकालियो तर तिम्री आमा मरिसकेकी थिइ । तिम्रो होस् थिएन । नानी, तिमी त बाच्यौ तर दाहिने खुट्टा काटिएको छ ।’
मोहिनीले लेखेको चिट्ठी पढ्दा पढ्दै मेरो मुटुमा गाठो परेर आयो । धेरै दुःख लाग्यो । मन थाम्न सकिनँ । म छोरो मान्छे, मेरो आँखामा आँशु आएको थाहा पाएको थिइन तर धेरै रोए उनलाइ सम्झेर । हतारमा चुकुल लगाउदा च्यापेको औंलाबाट रगत बगेर चिट्ठीका पानाहरु रातै भएछन पत्तै नपाई । उनी जस्तो हालतमा भएपनि अपनाउछु भन्ने अठोट लिएर कुरा राखे तर उनी मान्न तयार भइनन् । सम्झाउने कोशिस धेरै गरे सबै ब्यर्थ भयो , आखिरमा उनले फोनै उठाउन छोडिन् ।
विकास, मेरी आमा मरेको पीडा त्यसमाथी एउटा खुट्टा काटिदा म के भए होला । म सात बर्षकी बच्चिले कसको के बिगारिदिएकी थिए र किन भगवानले मलाई नै यति धेरै पीडा माथी पीडा थपिदिएको । विकास, तिमी आफै सोच सात बर्षको उमेरमा आमा गुमाउनु त्यसमाथि एउटा खुट्टा काटिनु म कति अभागिनी रहेछु ।
विकास, त्यो बेला भूकम्पले नेपालको पूर्वी क्षेत्र धरानमा धेरै क्षति पार्यो । मान्छे धेरै मरे, धेरै घाइते र अपाङ्ग भए, त्यसमा म पनि परे । त्यो सम्झदा अहिले कहाली लागेर आउँछ । त्यसको दुई बर्षपछि बाबाले भूकम्प पीडितको राहत पाएर सानो घर बनाउनु भयो तर मैले मेरी जन्मदिने आमा पाउन सकिनँ । घर गृहस्थी चलाउन सबैको करले बाबाले अर्को बिबाह गर्नुभयो । सुरु–सुरुमा सानी आमाले खुबै मायाको सदभाव देखाइन् तर भाइ पाएपछी मलाई हेला गर्न थालिन् । सहेरै बस्थे म । बाबा थाकेर आउनु हुन्थ्यो केही भन्न सक्दिनथे ।
दिनहरु बित्दै गए । पढ्नमा राम्रो थिए । स्कुलमा सबैले माया गर्थे । मैले बि.ए पास गरे । पढाइलाइ त्यो भन्दा अगाडि बढाउन सकिनँ । सात बर्षको उमेरमा आमा र एउटा खुट्टा गुमाए पनि बाबाको माया अनि साथीभाइ, आफन्तको हौसलाले म आफ्नो खुट्टामा उभिएकी छु ।अहिले म अपाङ्ग स्कुलमा म जस्तो अपाङ्ग बच्चाहरूलाई पढाउँछु । मेरा दिनहरु यसरी नै बितिरहेका छन् । म आफ्नो खुसीको लागि बिबाह गरेर कसैलाई जिन्दगीभरी दुःखि भएको र कसैबाट अपमानित भएको हेर्न र सुन्न सक्दिनँ ।
विकास, तिमी र म एउटा सच्चा र असल साथी छौ र सधै नै भइरहनेछौ । एउटा असल साथीलाई आफ्नो मनको कुरा सुनाउँदा मन धेरै हलुको भएको छ । विकास दुःख नमान आजलाइ यति नै ।
उहीँ तिम्रो साथी मोहिनी
मोहिनीले लेखेको चिट्ठी पढ्दा पढ्दै मेरो मुटुमा गाठो परेर आयो । धेरै दुःख लाग्यो । मन थाम्न सकिनँ । म छोरो मान्छे, मेरो आँखामा आँशु आएको थाहा पाएको थिइन तर धेरै रोए उनलाइ सम्झेर । हतारमा चुकुल लगाउदा च्यापेको औंलाबाट रगत बगेर चिट्ठीका पानाहरु रातै भएछन पत्तै नपाई । उनी जस्तो हालतमा भएपनि अपनाउछु भन्ने अठोट लिएर कुरा राखे तर उनी मान्न तयार भइनन् । सम्झाउने कोशिस धेरै गरे सबै ब्यर्थ भयो , आखिरमा उनले फोनै उठाउन छोडिन् । तर, मैले उनलाइ भुल्न सकिनँ । उनलाइ नभेटे नदेखे पनि बैसाखीको सहारामा हिडेको मेरो आँखा वरिपरि सपना जस्तै आइरह्यो । उनलाई सहारा दिन चाहन्थे तर मैले सोचेको जस्तो भएन । सात बर्षको उमेरमा आमा र एउटा खुट्टा गुमाए पनि बैसाखीको सहारा लिएर आत्मनिर्भर भइ अघि बढ्ने मोहिनी, धन्य छ तिम्रो साहसलाइ, धन्य छ तिम्रो दृढ आत्मबिश्वासलाई अनि प्राथना गर्छु भगवानलाई पनि । फेरि प्राकृतिक प्रकोपको दुर्गती कुनै बालबच्चा तथा अन्य कसैले पनि भोग्नु नपरोस,मोहिनीले जस्तो ।।।।
रन्जना पराजुली ( लम्साल )नयाँ बानेश्वर- बुद्धनगर
फोन नम्बरः ९८४१६६४७३८
वि.सं.२०७८ साउन ३० शनिवार ०७:१४ मा प्रकाशित






























