Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

उत्कृष्ट पर्यटन गन्तव्यको विकासमा जुट्दै भीरकोटका मेयर खनाल



स्याङ्जा । प्रकृतिसँग नरमाउने मान्छे कमै हुन्छन् । तर मान्छे सबै प्रकृतिसँग समान रुपमा रमाउन सक्दैन् । विविधताले भरिएको भूगोलका केही भागहरु मात्रै मनमोहक र रमणीय लाग्छन् मान्छेलाई । किनकी हर मान्छेका भावना र विचारहरु अलग–अलग प्रकारका हुन्छन् । अनौठो, एतिहासिक, कलात्मकता, दृष्यावलोकन, विविधता, आदि विविध विशेषताहरुले गर्दा कुनै भूगोल विशेष गन्तव्य बन्न पुग्छ । त्यस्तै जाति, धर्म, संस्कृति, परम्परा, सभ्यता, आदि विशेषताहरुको कारण समुदाय अध्ययन अनुसन्धान एवं गन्तव्यमूलक बन्न पुगेको हुन्छ ।

स्याङ्जा जिल्लाको बीच भागमा अवस्थित भीरकोट नगरपालिकाका केही भूगोल र समुदायहरु विस्तारै पर्यटन क्षेत्रको रुपमा विकास हुन थालेका छन् । पालिका प्रमुख छायाराम खनालले सम्भावित पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर नीति निर्माण र कार्यक्रमलाई अगाडि बढाएका छन् । जसले गर्दा अबको केही समयमा भीरकोट विकासको एउटा महत्वपुर्ण भाग पर्यटन क्षेत्र हुने निश्चित देखिएको छ ।

No description available.
जगतपुरबाट दक्षिण–पश्चिमतर्फ देखिएको भीरकोट पालिकाअन्तरगतकाे दृश्य ।

स्वरेक मैदान पर्यटन पार्क

भीरकोट नगरपालिका वडा नं. ५ मा अवस्थित स्वरेक मैदान प्राकृतिक रुपमा नै मनमोहक भौगोलिक स्वरुपमा निर्माण भएको छ । सो क्षेत्र ३ सय रोपनी भन्दा धेरै क्षेत्रफलमा फैलिएको र समुन्द्री सतहबाट करिब १६ सय मिटरको उचाइमा अवस्थित रहेको छ । सिद्धार्थ राजमार्गमा पर्ने बयरघारी बजारबाट पश्चिम दिशातर्फ ९ किलोमिटरको दुरीमा रहेको मैदानमा हर मान्छेको मन प्रफुल्ल पार्न सक्ने अनेकन प्रकारका विशेषताहरु भरिएका छन् । उत्कृष्ट तस्विर, मनोरम दृष्यावलोकन, उत्कृष्ट हावापानी, प्याराग्लाईडिङ यस क्षेत्रका खास विशेषता हुन् ।

उत्कृष्ट तस्विरका लागि मैदान

एक ठाउँमा उभिएर चौतर्फी समान रुपमा देख्न सकिने उचाई भएको भूगोल, सानो पाटन जस्तो क्षेत्र, कलात्मक साना थुम्काहरु र खोंचहरुका कारण उत्कृष्ट तस्विर खिच्नको लागि स्वरेक मैदानलाई उत्कृष्ट मानिन्छ । यहाँको भूगोलबाट हिमाली क्षेत्र सहित ३६० डिग्री कोणमा हेर्न सकिने भएकाले पानारोमा ढाँचाका एवं दृष्य प्रधान उत्कृष्ट तस्विरहरु सजिलैसँग खिच्न सकिन्छ । जाडो मौसममा आँधिखोलाले निर्माण गरेको समथर फाँटमा भरिने कुहिरोको माथि रहेर दुर्लब एवं मनोरमपुर्ण तस्विरहरु मैदानबाट खिच्न सकिन्छ । अहिलेको समयमा सामाजिक सञ्जालमा प्रस्तुत गर्न वा आफ्नो जिवनमा उत्कृष्ट तस्विर सुरक्षित गर्नको लागि आन्तरिक तथा बाह््य पर्यटकको लागि स्वरेक मैदान उचित गन्तव्य बन्न पुगेको छ ।

No description available.

प्याराग्लाइडिङका लागि मैदान

साहसिक पर्यटनको एउटा महत्वपुर्ण विधा प्याराग्लाइडिङ हो । धेरै मानिसहरुले आफ्नो जिवनमा साहसिक पर्यटन विधामा शमावेश भएर मनोरञ्जन गर्न रुचाउँछन् । सन् २००२ मा स्विस नागरिक डेभिड आरोफ्ट र हार्भे सेरुटीले मैदानबाट प्याराग्लाइडिङ गरेका थिए । त्यससँगै अनौपचारिक रुपमा मैदानमा प्याराग्लाइडिङ गर्ने क्रम बढ्न थालेको पाइन्छ । पर्यटन व्यवसायी सानोबाबु सुनुवारले सन् २०१६ मा द बाबु एडभेन्चर इन्टरनेशनल प्याराग्लाइडिङ स्कुल दर्ता गरेर सोहि ठाउँबाट प्याराग्लाइडिङ पाइलट उत्पादन गर्न शुरु गरेका छन् । सुनुवारले शुरु गरेको सो प्याराग्लाइडिङ सम्बन्धि स्कुल दक्षिण एसियाकै पहिलो स्कुल पनि हो । अहिले साहसी पर्यटनको लागि इच्छुक स्वदेशी तथा विदेशी सयौं पर्यटकहरुले वर्षेनी रुपमा मैदानबाट प्याराग्लाइडिङ गर्ने गर्दछन् । साथै सुनुवारको स्कुलले सयौंको संख्यामा पाइलटहरुको समेत उत्पादन गरेको छ । प्याराग्लाइडिङको लागि प्रशिद्ध रहेको पोखरामा हवाई ट्राफिक बढिरहँदा त्यसको उचित बिकल्पको रुपमा सिद्धार्थ राजमार्गसँग जोडिएको स्वरेक मैदान बन्ने देखिएको छ ।

गाउँ पर्यटन तथा होमस्टेका लागि मैदान

पछिल्लो समयमा पर्यटनका विविध आयामहरुको विकाससँगै पर्यटकिय क्षेत्र वरपरको वस्तिमा गाउँ पर्यटन तथा होमस्टेको विकास प्रारम्भ भएको छ । गुरुङ समुदायको ७० भन्दा धेरै घर रहेको ओकादीमा घरबास कार्यक्रमको शुरुवात गरिएको छ । पर्यटकिय क्षेत्र मैदानबाट उत्तर पश्चिमतर्फ छोटो दुरीमा रहेको ओकादी होम स्टे क्षेत्रबाट पर्यटकहरुले गुरुङ संस्कृति, परम्परा, सभ्यता र मनोरम दृश्यावलोकनको आनन्द लिन सक्दछन् । त्यस्तै पछिल्लो समयमा मैदानको नजिकै रहेको महापुर वस्तिमा पनि घरबास पर्यटनको विकास प्रारम्भ गरिएको छ । यि दुबै घरबास पर्यटन क्षेत्रमा आगन्तुकहरुले मैदानको पर्यटकीय आनन्द लिइसकेपछि छोटो पैदल यात्रा मार्फत नै आवासका लागि पुग्न सक्छन् ।

No description available.

प्रकृतिकै कलात्मक ढाँचामा निर्भर रहेको मैदानले आँफै आकर्षण गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउने गरेतापनि केही वर्ष अगाडि सम्म यसको व्यवस्थित विकास हुन सकेको थिएन् । भीरकोट नगरपालिकामा जनप्रतिनिधिको आगमन भएसँगै यो क्षेत्रमा व्यवस्थित एवं दिगो विकासको विषयमा बहस तथा कामको प्रारम्भ भएको छ । भीरकोटका मेयर छायाराम खनालले स्वरेक मैदान पर्यटन क्षेत्रको विकासको पहलकदमी लिएका छन् । नगरपालिकाले गण्डकी प्रदेश सरकारसँग पहल गरेर मैदानमा पदमार्ग र व्यवस्थित तारबार गर्ने कामलाई सम्पन्न गरेको छ । नगरपालिकाको आर्थिक विकासको लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न लागिएको मेयर खनाल बताउँछन् । ‘स्वरेक मैदानबाट मात्रै वार्षिक करोडौं आम्दानी गर्ने लक्ष्य राखेर काम गर्ने सोंचमा हामी जुटेका छौं, जसको लागि आवश्यक भौतिक पुर्वाधार विकास र सामुदायिक सहकार्यको कार्यक्रमलाई हामीले अगाडि बढाउनेछौं,’ मेयर खनाल भन्छन् । विद्यमान भौगोलिक संरचनालाई हेर्दा मैदानको पर्यटकिय क्षेत्रकै आडमा एउटा विशाल पोखरी बनाउन सकिने सम्भावना रहेको र त्यसलाई अनुसन्धानको प्रकृयामा अगाडि बढाउन खोजिएको मेयर खनालको भनाई छ । उनका अनुसार मैदान पर्यटन पार्क क्षेत्रभित्र नै एउटा गल्फ मैदान समेत निर्माण गर्न सकिने सम्भावना रहेको छ । सबै सम्भावनाहरुलाई लिएर पालिकाले सो क्षेत्रको दिगो विकासको लागि गुरु योजना निर्माण कार्यलाई अगाडि बढाउने तयारी गरेको छ ।

नेपालकै ठुलो तथा आकर्षक गडहरे गुफा

भीरकोट नगरपालिकाको वडा नं. ८ र ९ को सिमानामा पहिचान र प्रचारप्रसारको ओझेलमा रहिरहेको एउटा ठुलो र आकर्षक गुफा रहेको छ । चासो राख्नेहरु र नजिकका मानिसहरु गुफामा प्रवेश गरेतापनि गुफाको वास्तविकताबारे यथार्थ अवस्था भने सार्वजनिक भैसकेको छैन् । नगरपालिकाको चासो एवं पहलमा त्रिभूवन विश्वविद्यालय भू–गर्भ शास्त्र केन्द्रिय विभागका उप–प्राध्यापक डा. कविराज पौडेलको नेतृत्वमा ०७८ भदौमा अध्ययन एवं अनुसन्धान गर्ने काम भएको छ । अध्ययन एवं अनुसन्धान पश्चात डा. पौडेलले गडहरे गुफा नेपालकै ठुलो गुफा भएको हुनसक्ने बताएका छन् । डा. पौडेलका अनुसार उक्त गुफा कडा चट्टानहरुले निर्माण भएको, करिब १ किलोमिटर लम्बाई भएको, अनेकन विविधता भएको र विविध जातका चमेराहरु रहेको छ । स्थानियहरुका अनुसार यो गुफा झण्डै ४० वर्ष अगाडि एकजना स्थानिय गोठालाले पत्ता लगाएका थिए । वस्तुभाउ चराउने क्रममा गाई चिप्लिएर उद्धार गर्ने क्रममा सो गुफा भेटिएको भनाई पाइन्छ ।

No description available.

नगरपालिकाका मेयर खनालले गडहरे गुफालाई देशकै एउटा महत्वपुर्ण पर्यटन केन्द्रको रुपमा विकास गर्ने उदेश्य आफुहरुले राखेको बताउँछन् । खनाल भन्छन्, ‘साँच्चिकै यो गुफा अनौठो र मनमोहक छ । यसको यथार्थतालाई उजागर गर्ने, आवश्यक भौतिक पुर्वाधारको विकास गर्ने र प्रचारप्रसार गर्ने काम गर्न सकेमा भीरकोटकै ठुलो आम्दानीको स्रोत पनि गुफा बन्न सक्ने हामीले अनुमान गरेका छौं ।’ संघिय सरकारबाट स्थानिय सरकारलाई प्रदान गर्ने समपुरक अनुदान कार्यक्रमको प्राथमिकतामा गढहरे गुफा क्षेत्रको विकास कार्यक्रमलाई प्राथमिकतामा राखेर माग गरेकोमा अनुमोदन भएपछि अहिले सो क्षेत्रमा साढे ४ करोड बराबरको भौतिक पुर्वाधारको काम भइरहेको छ । सरकारसँगको सहकार्यमा गुफा क्षेत्रमा अहिले निर्माण कार्य भइरहेको छ मेयर खनालको भनाई छ ।

छायाँक्षेत्र तिर्थस्थल

हिन्दु धर्ममा आधारित पौराणिक ग्रन्थहरुका अनुसार सतिदेवीको मृत्यु पश्चात भगवान शिबले भावविहेल अवस्थामा उनको लासलाई बोकेर यात्रा गरेका थिए । भगवान शिबले बोकेको सतिदेवीको लास यात्राकै क्रममा कुहिएर खस्दै गएको र लासको अन्तिम शेष अंश हालको छायाँक्षेत्र तिर्थस्थलमा खसेको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । सोहि पौराणिक ग्रन्थमा उल्लेख गरिएको छायाँक्षेत्र तिर्थस्थल भीरकोट नगरपालिकामा पर्दछ । पौराणिक समय देखिनै हिन्दु धर्मालम्बीहरुको महत्वपुर्ण आरधारना क्षेत्रको रुपमा सो क्षेत्रको ठुलो महिमा रहँदै आएको छ । आन्तरिक र भारतिय पर्यटकहरु विशेष चाडपर्व र तिथीको अवसरमा छायाँक्षेत्र तिर्थस्थलमा स्नान गर्न आउने गर्दछन् । त्यसैले छायाँक्षेत्र हिन्दु परम्परा, सँस्कृति र सभ्यता सँग जोडिएको एउटा महत्वपुर्ण पर्यटन क्षेत्र समेत हो । नगरपालिकाले छायाँक्षेत्रको संरक्षण र विकासलाई विशेष महत्वका साथ अगाडि बढाएको छ ।

भीरकोट दरबार

आजको भीरकोट नगरपालिकाको अधिकांश क्षेत्र इतिहासमा अस्तित्वमा रहेको बाइसे चौबिसे मध्येको भीरकोट राज्यमा पर्दछ । नगरपालिकाको नामाकरण गर्ने क्रममा पनि सोहि एतिहासिकतालाई आधार मानेर भीरकोट राखिएको हो । जमिनको भीरालो स्वरुपलाई भीर र खजाना राखिने ठाउँलाई कोत भनिए अनुसार राज्यको नाम नै भीरकोत रहेको र त्यसको अपभ्रंस भई भीरकोट भनिएको भन्ने गरिन्छ । नेपाल राज्य निर्माण हुनुपुर्वको टुक्रे राज्यको दरबारको स्वरुप भीरकोट दरबार अहिले पनि भीरकोट नगरपालिका १, जगतपुरमा अस्तित्वको रुपमा रहेको छ ।

No description available.

हाल अस्तित्वमा रहेको भीरकोट दरबारलाई पालिकाले दरबार संग्रालयको रुपमा विकास गर्ने सोँचलाई अगाडि सारेको छ । जसको लागि ५ लाखको लागतमा आवश्यक डिपीआर समेत तयार गरिएको छ । तर उक्त दरबार निजी सम्पतिको रुपमा रहेकोले दरबार संग्रालय निर्माणको कामलाई तुरुन्त अगाडि बढाउन नसकिएको पालिकाका योजना प्रमुख यामप्रसाद रेग्मीको बताए । रेग्मीका अनुसार दरबारको स्वामित्व हक रहेका मानिसहरु अहिले अमेरिकामा बसाई बसेका र उनिहरुलाई विभिन्न सम्बन्धहरुबाट सो क्षेत्रको विकास सम्बन्धि योजनाको विषयमा जानकारी गराएर छलफलको प्रकृया अगाडि बढेको छ ।

भीरकोट नगरपालिकाले ०७७/०७८–०८०/०८१ को आवधिक विकास कार्यक्रम सहितको गुरुयोजना तयार पारेको छ । जसमा पालिका भित्रको आर्थिक विकासको लागि पर्यटन क्षेत्रलाई विशेष महत्वको रुपमा राखिएको छ । पालिकाले आर्थिक वर्ष ०८०/०८१ सम्ममा होमस्टे तथा पर्यटकिय गाउँ, कृषि पर्यटन, पार्क, पर्यटकिय सम्पदा, आदि लगाएतका विषयमा सञ्चालन गर्ने कार्यक्रमहरुलाई प्राथमिकिकरण गर्ने काम गरेको छ । भीरकोट नगरपालिकाको आन्तरिक आम्दानीमा पर्यटन क्षेत्रले सबैभन्दा धेरै योगदान पुर्याउन सक्नेगरि अहिले काम भइरहेको मेयर खनालको भनाई छ । नगरपालिका क्षेत्रभित्र राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुलाई आकर्षण गर्ने प्रकृतिका पर्यटन क्षेत्र भएकाले यस क्षेत्रमा पर्यटन क्षेत्र विकास, रोजगार सिर्जना र आम्दानीको ठुलो सम्भावना रहेको उनी बताउँछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सामसुङ कम्पनीलाई ठूलो धक्का लागेको छ । कम्पनीले उत्पादनमा गरेका विभिन्न ६१

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा