भाषाले मनको कुरा जति सबै, लेख्ने र पोख्ने गरौँ
भाषा सार्थक शब्दका सरसका, शृङ्गार राम्रो भरौँ ।
भाषामा जति भाव लाग्दछ मिठो, आमा र बाबा भनी
नेपाली पनको मिठास भरिलो, लौ हुन्छ जस्तै पनि ।१।
भाषा मान्य भयो ठूलो मुलुकमा, खुल्दै रमाई अब
नाचौँ मादल तालमा सबजना, हेर्दै तमासा सब ।
मुर्चुङ्गा नभए मिलेर लयमा ताली बजाई अब
ठोक्ने हो नगरा र ढोल जति छन्, थर्काउदै लौ सब ।२।
भर्ने काम गरौँ स्वदेश दुनियाँ, लागौं न ज्ञानी बनी
भाषा भूषण हो समस्त जनको,हाम्रो चिनारी पनि ।
गोर्खे वीर भनेर चिन्छ दुनियाँ,हट्दै न हट्ने पछि
लेख्ने काम गरौं न दिव्य रचना, डट्ने घरैमा बसि ।३।
भण्डारी नरका थिए अति सुरा,भाषा भयो मान्य यो
भुल्नै हुन्न कसै उदार पनको,सङ्घर्ष नै गन्य हो ।
भार्याको सुर–ताल बन्छ दिलको,ढोका उघारी कन
श्रद्धाले अब लौ मनाउँ जनले,भाषा भयो अर्पण ।४।
गाँठो एक हुँदा मिलेर रहँदा, हेप्दैन है दुष्टले
थापौँ कान सधैँ परे यदि भने, फाँडौ न ब्रह्मास्त्रले ।
नेपाली जन हो मिलेर रहँदा खत्रा सबै टर्दछ
आँखा सामु कतै उठाउदछ जो, पक्कै स्वयं पर्दछ ।५।
छन्द: शार्दूलविक्रीडित
मोहन गौतम, रांका गान्तोक, सिक्किम
वि.सं.२०७८ माघ २९ शनिवार ०८:४० मा प्रकाशित






























