back
CTIZAN AD

सोभियत संघ किन ढलेको थियो ? यस्ता छन् पाँच कारण

वि.सं.२०७८ फागुन १० मंगलवार

2.2K 

shares

काठमाडौं । सन् १९९१ को डिसेम्बर २५ मा मिखाइल गोर्भाचोभले सोभियत सङ्घको राष्ट्रपति पदबाट आधिकारिक रूपमा राजीनामा दिए। त्यसको भोलिपल्ट त्यहाँको संसद्ले १५ स्वतन्त्र राज्यहरूको स्वतन्त्रतालाई मान्यता दियो र सोभियत सङ्घको अस्तित्व समाप्त भयो।

एक समयमा विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रको प्रतीक चिन्हका रूपमा रहेका हँसिया(हतौडा भएको रातो झन्डा क्रेमलिनमा तल झारियो। ५४ वर्षको उमेरमा गोर्भाचोभ सन् १९८५ मा सत्तामा आएका थिए। उनले धरमराउँदै गएको राष्ट्रको अवस्था फेर्न सुधारका कार्यहरू सुरु गरे।

पेरीस्टोइका (पुनर्निर्माण र पुनर्संरचना) र ग्लास्नोस्ट (खुलापन र अभिव्यक्ति स्वतन्त्रता) भनिने ती सुधारले देशको विनाश गरेको धेरैले तर्क गर्ने गरेका छन्। अन्यले भने सोभियत सङ्घ कडा रवैयाका कारण जोगाउनै नसकिने अवस्थामा पुगेको बताउँछन्।
सोभियत सङ्घ पतन हुनुका पाँच आधारभूत कारण र त्यसको प्रभाव स्वरूप रुसले आफूलाई हेर्ने नजर अनि विश्वसँग गर्ने अन्तर्क्रियाबारे एक चर्चा :

१. अर्थतन्त्र

सोभियत सङ्घको सबैभन्दा ठूलो समस्या ध्वस्त हुँदै गएको अर्थतन्त्र थियो। त्यहाँ विश्वका धेरै देशहरूले अपनाएका बजारमुखी अर्थतन्त्रभन्दा फरक केन्द्रीय स्तरमा राज्यले निर्दिष्ट गर्ने अर्थतन्त्र थियो।

सोभियत सङ्घमा कारदेखि जुत्ता अनि पाउरोटीसम्म पनि कति उत्पादन गर्ने भन्ने विषय राज्यले निर्धारण गर्थ्यो। उसले ती सामग्री प्रत्येक नागरिकलाई कति चाहिन्छ, मूल्य कति हुनुपर्छ र कति पारिश्रमिक दिइनुपर्छ भन्ने कुरा निर्धारण गर्थ्यो।

सिद्धान्ततस् यो प्रणाली प्रभावकारी अनि न्यायोचित हुने ठानिएको थियो। तर यथार्थमा यसले प्रभावकारी रहन सङ्घर्ष गर्नुपर्‍यो। सन् १९५० को दशकको अन्त्यतिर सुरु भएको सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाबीचको अन्तरिक्षसम्बन्धी खोज र हतियारको दौडमा भएको खर्चले अवस्था अझ नराम्रो बनायो।

भिड

सोभियत सङ्घ मानिसलाई अन्तरिक्षमा पठाउने पहिलो राष्ट्र थियो र ऊसँग निकै उन्नत परमाणु हतियार अनि क्षेप्यास्त्रहरू भएको शस्त्रागार थियो। तर यो सबै धेरै महँगो थियो। यो दौडका लागि लगानी गर्न सोभियत सङ्घ तेल र ग्यासजस्ता प्राकृतिक स्रोतमा निर्भर थियो। तर सन् १९८० को सुरुतिर तेलको मूल्य कम हुन गयो जसले पहिले नै समस्यामा रहेको अर्थतन्त्रमा व्यापक प्रभाव पार्‍यो। उपभोग्य वस्तुहरूको अभाव देखिन थाल्यो र बजारमा महँगी आकासियो।

उपभोग्य सामग्रीको अभावले रुसी सर्वसाधारणहरूको सोचमा दिगो प्रभाव पारेको छ। अहिले अर्को पुस्ता आइसक्दा पनि आधारभूत आवश्यकताका सामग्रीहरू नपाइन सक्ने विषयबारे त्रास कायम छ।यो एक शक्तिशाली भावना हो जसलाई चुनावी अभियानमा सजिलै प्रयोग गर्न सकिन्छ।

२. सिद्धान्त

गोर्भाचोभको ग्लास्नोस्ट नीति देशमा अभिव्यक्ति स्वतन्त्रता दिनेतर्फ उद्धत थियो। उनले जोसेफ स्टालिनको पालामा भएको दमनको वास्तविकता दर्साउने इतिहासका पाना पल्टाउन थाले।

स्टालिनको शासन कालमा लाखौँ मानिसको मृत्यु भएको थियो। उनले सोभियत सङ्घको भविष्य र शक्ति संरचनाबारे बहसलाई प्रोत्साहित गर्न थाले। उनले सामान्य रूपमा कम्युनिस्ट पार्टीको वर्चस्वलाई चुनौती दिँदै बहुदलीय व्यवस्थाबारे पनि विचार अघि सारे।

सामान्य रूपमा सोभियत सङ्घबारे विचारलाई केही मोड्नुको साटो यी कुराहरूले कम्युनिस्ट पार्टीले नेतृत्व जहाँ सबै सरकारी अधिकारी या त नियुक्त गरिन्थे या प्रतिस्पर्धारहित निर्वाचनबाट निर्वाचित हुन्थे प्रणाली प्रभावकारी नरहेको, दमनकारी अनि भ्रष्टाचार रहेको विश्वास सर्वसाधारणहरूलाई दिलायो। गोर्भाचोभको सरकारले हतारमा चुनावी प्रक्रियामा स्वतन्त्र र निष्पक्षताका केही तत्त्वहरू समावेश गर्ने प्रयास त गर्‍यो तर त्यो प्रयास निकै कम अनि निकै ढिला हुन पुग्यो।

विदेशमा ख्याति कमाउँदै गएका गोर्भाचोभको आफ्नै देशमा भने आलोचना बढ्न थालेको थियो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सुरुवाती चरणमै राष्ट्रवादबारे बलियो विचारको महत्त्व बुझे। उनले त्यस्तो सरकार बनाए जुन पूर्ण रूपमा पारदर्शी अनि प्रजातान्त्रिक छैन। उनले आफू राष्ट्रपति हुँदा एउटा सम्मानित राष्ट्रिय आदर्श बनाउन विभिन्न कालखण्डका पुराना सोभियत र रुसी विचार प्रयोग गरेका छन्।

रुसी साम्राज्यको धन र रवाफ, स्टालिनको नेतृत्वमा भएको दोस्रो विश्वयुद्धमा देखिएको वीरताको गाथा र बलिदान अनि सन् १९७० को शान्त अनि स्थिर सोभियतकाल लगायतका कुराहरूलाई उनले गर्व अनि देशभक्ति बढाउनका लागि प्रयोग गरे।

३. राष्ट्रवाद

सोभियत सङ्घ बहुराष्ट्रिय राज्य थियो र रुसी साम्राज्यको उत्तराधिकारी थियो। सोभियत सङ्घमा १५ राज्य थिए। भातृ राष्ट्रका रूपमा सैद्धान्तिक रूपमा उनीहरूको अधिकार समान थियो।

तर यथार्थमा रुस सबैभन्दा ठूलो अनि शक्तिशाली थियो र रुसी भाषा अनि संस्कृति धेरै क्षेत्रमा हाबी भयो। ग्लास्नोस्टले अन्य गणराज्यका मानिसहरूलाई विगतमा भएका जातीय उत्पीडनबारे सचेत गरायो।

सन् १९३० को दशकको युक्रेनको अनिकाल, बाल्टिक राज्य अनि पश्चिमि युक्रेनको अधिग्रहण र सोभियत-नाजी मित्रता सन्धि अनि दोस्रो विश्वयुद्धताका कैयौँ जातीय समूहहरूलाई बाहिरिन बाध्य पारिएका घटनाहरूबारे सर्वसाधारणले थाहा पाए।

सन् १९९१मा युक्रेनमा स्वतन्त्रताको पक्षधरहरूको आन्दोलन

यी र अन्य कैयौँ घटनाहरूले राष्ट्रवाद अनि आत्मनिर्णयको माग व्यापक रूपमा वृद्धि गराए। सोभियत सङ्घ राज्यहरूको एक सुखी परिवार रहेको भन्ने सोचलाई घातक रूपमा कमजोर बनाइयो र राज्यहरूलाई हतारहतार बढी स्वायत्तता प्रदान गर्दै अवस्था सुधार गर्ने प्रयत्न कम अनि निकै ढिलो भएको देखियो।

आफ्नो मुख्य भूमिका निर्वाह गर्न अनि प्रभाव क्षेत्र कायम राख्न सङ्घर्षरत रुस अनि सोभियतकाल पछि गठन भएका राष्ट्रहरूबीच तनाव कायम छ। मस्कोको बाल्टिक देशहरू, जोर्जीया अनि हालसालै मात्र युक्रेनसँगको तनावपूर्ण सम्बन्धले युरोप र त्यसभन्दा बाहिरको भूराजनीतिक परिदृश्यलाई आकार दिन जारी राखेको देखिन्छ।

४. मन अनि मस्तिष्क गुमाउनु

वर्षैसम्म सोभियत सङ्घका जनतालाई पश्चिम र पुँजीवादी सरकारको नेतृत्वमा त्यहाँका सर्वसाधारणहरूले गरिबीका कारण दुख पाएका बताइन्थ्यो। सन् १९८० तिर आम सर्वसाधारणबीच सिधा सम्पर्क अनि यात्रामा वृद्धि हुन थालेसँगै यस्तो भनाइलाई बढ्दो रूपमा प्रश्न गर्न थालियो।

सोभियत सङ्घका जनताले अन्य देशहरूमा जीवनयापनको गुणस्तर, व्यक्तिगत स्वतन्त्रता अनि कल्याणकारी राज्यको स्तर आफ्नोभन्दा धेरै राम्रो भएको देखे। उनीहरूले आफ्ना देशका निकायहरूले आफूहरूलाई यात्रा गर्न नदिएर, विदेशी रेडियो प्रसारण हुन नदिएर र विदेशी साहित्य अनि चलचित्रलाई सन्सर गरेर यी कुराहरू लुकाउन खोजेको देखे।

गोर्भाचोभलाई शीतयुद्ध अन्त्य गरेको अनि पश्चिमा राष्ट्रहरूसँग सम्बन्ध सुधार गरेर आणविक टकरावको खतरालाई रोकेको श्रेय जान्छ। तर सुधारिएको सम्बन्धको एउटा अप्रत्याशित नतिजा के भयो भने सोभियत सङ्घका जनताले अन्य देशका नागरिकको तुलनामा आफ्नो जीवन कति खराब छ भन्ने कुरा थाहा पाए। विदेशमा ख्याति कमाउँदै गएका गोर्भाचोभको आफ्नै देशमा भने आलोचना बढ्न थाल्यो।

रुसी सरकार आफ्नो फाइदाका लागि सञ्चारमाध्यमबाट दिइने सूचना तोडमोड गर्नमा सिपालु छ। अन्य देशहरूसँगको प्रतिकूल तुलनाबाट बच्नका लागि, रुसलाई सांस्कृतिक र ऐतिहासिक दुवै रूपमा फरक रूपमा प्रस्तुत गरिन्छ।

सञ्चारमाध्यममा रुसका वैज्ञानिक प्राप्ति, दोस्रो विश्वयुद्धको जित अनि सांस्कृतिक सम्पदाहरूलाई दैनिक समस्याबाट रुसीहरूको ध्यान मोड्न प्राथमिकताका साथ प्रयोग गरिन्छ।

५. नेतृत्व

गोर्भाचोभलाई सोभियत अर्थतन्त्र र सार्वजनिक मनोबलको थप गिरावट रोक्नको लागि आमूल परिवर्तन आवश्यक छ भन्ने कुरा थाहा थियो। तर यो कसरी प्राप्त गर्ने भन्ने उनको दृष्टिकोणमा स्पष्टताको भने कमी थियो।

शीतयुद्ध अन्त्य गरेर उनी बाहिरी विश्वका लागि नायक बनेका थिए। तर आफ्नै घरमा भने उनी आलोचनाको पात्र बनेका थिए। सुधारको वकालत गर्नेहरूले उनले अवसरको सदुपयोग गर्न नसकेको भनिरहेका थिए भने धेरैले उनी बहकिएको ठान्थे। नतिजा उनी दुवै समूहबाट टाढिए।

गोर्भाचोभलाई हटाउन सन् १९९१ को अगस्टमा पुरातनपन्थीहरूले कूको प्रयास गरे। तर यसले सोभियत सङ्घलाई जोगाउनेभन्दा पनि विघटनको द्वारतर्फ अघि बढायो।

मिखाइल गोर्भाचोभ

कूको प्रयास गर्ने नेताहरूले देशबाट भाग्ने प्रयास गरे र गोर्भाचोभ शक्तिमा फर्किए। तर उनी लामो समयका लागि शक्तिमा रहन सकेनन्। रुसमा बोरिस याल्तसीन अनि सोभियत सङ्घमा अन्य नेताहरूको उदय भयो। त्यसपछिका महिनाहरूमा धेरै देशले स्वतन्त्रताका लागि जनमत सङ्ग्रह गरे र डिसेम्बरसम्ममा सुपर(स्टेटको भविष्य धरापमा पर्‍यो।

पुटिन रुसमा सबैभन्दा लामो समय शासन गर्ने नेतामध्ये एक हुन। उनी लामो समयसम्म सत्तामा टिक्नुको एउटा कारण रुसलाई प्राथमिकतामा राख्नु वा त्यसो गरे जस्तो देखाउनु हो।

गोर्भाचोभलाई एकपक्षीय रूपमा आफूले विस्तार गरेको शक्ति त्यसै छोडिदिएको आरोप लगाइएको थियो। उनले हतारमा पूर्वी जर्मनीबाट सोभियत सेना फिर्ता बोलाउने जस्ता कार्यहरू गरेका थिए। तर पुटिन भने रुसको स्वार्थ भएको उनले विश्वास गरेका कुराहरूमा डटेर लाग्छन्।

बर्लिनको पर्खाल भत्किँदा पुटिन पूर्वी जर्मनीमा कार्यरत केजीबी भनिने रुसी गुप्तचरी निकायका अधिकारी थिए र उनी सोभियत फिर्तीको प्रत्यक्षदर्शी थिए। तीस वर्षपछि हाल उनले नेटोलाई रुसी सीमानजिक आउने कुराको विरोध गर्छन् र हालसालै युक्रेनको सीमानजिकै सैन्य गतिविधि बढाएर त्यस्तो कार्यलाई सैन्य सामर्थ्यका साथ समर्थन गर्न तयार रहेको सङ्केत दिएका छन्। बीबीसीबाट

वि.सं.२०७८ फागुन १० मंगलवार १६:४२ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...