back
CTIZAN AD

छन्द कविता: नारी म संसारको

वि.सं.२०७८ फागुन २४ मंगलवार

876 

shares

कनकधारा स्वामी स्वदेशानन्द

फक्री वक्षहरू फुले वदनमा आयो जवानी पनि,
मायाँ प्रीति र हर्षको हुँ लहरा माने नमाने पनि ।
धर्तीको गहना तथा सृजनकी स्रष्टा म नै बीजकी,
बान्की रूप कला मुहार हँसिली आस्था र विश्वासकी ।।०१।।

मेरा छन् प्रतिविम्ब विश्वभरि नै साहित्य मेरो घर,
मेरै शव्द र भाव छन् भुवनमा मेरोविना के छ र !
मेरो यो अनुहार लेख्छ कविले भाषा सिँगारीकन,
मेरै आसिकबाट फुल्छ प्रतिभा साहित्य संसारमा ।।०२।।

मेरै फूल निकुञ्ज–कुञ्ज वनकी सौन्दर्यकी वल्लिका,
मेरो स्नेह मिलेर फुल्छ गिरिमा मुस्कानले मल्लिका ।
मेरा दन्त कली नितम्ब रतिका छन् लुब्ध वात्स्यायन,
मेरै कारणबाट सिर्जिन गए वेदान्त रामायण ।।०३।।

मेरो जीवन हो कथा र कविता सङ्गीत संसारको,
मेरो रोदन हो अनन्त करुणा अन्यायका लोकको ।
मेरा हात र सीपबाट वसुधा शृङ्गार गर्छिन् नयाँ,
नौलो हुन्छ सधैं बिहान घर यो नौलो विधा सर्जन ।।०४।।

जाँतो झ्याल ढिकी र खाट सिकुवा दैलो म आवासको,
कोदो फापर दाल धान र मकै खाद्यान्न सम्पूर्णको ।
नानीको अनुहारभित्र सुकिलो वात्सल्य सञ्जीवनी,
मेरै आँचलभित्र फल्छ ममता मायाँ दया जीवनी ।।०५।।

छाया श्रीरविकी प्रिया प्रणयिनी निद्रा क्षुधा जीवको,
मेरै हुन् सरिता तथा वसुमती आधार संसारको ।
दुर्गा दुर्गतिनाशिनी भगवती मेरा सबै रूप हुन्,
पूजा पाठ र धर्म कर्म तपको श्रद्धा फलीभूत हुन् ।।०६।।

जिज्ञासा श्रुति वेद भक्ति मनमा अध्यात्म वैराग्यको,
तृष्णा भोग विलास सर्जक सबै भाषाहरू विश्वको ।
काली काल कराल यो प्रलयको रक्षा महाकालको,
आफ्नै सिर्जनबाट शोषित हुने नारी म संसारको ।।०७।।

मेरै छन् प्रतिमूर्ति मन्दिरहरू पाषाणका रूपमा,
मेरै मूर्तिहरू प्रतिष्ठित भए मेरो प्रतिष्ठाविना ।
बोल्दैनन् जननी समीप रहँदा सन्तान संसारका,
पुज्छन् मूर्ति समस्त सन्ततिहरू सम्पूर्ण संसारका ।।०८।।

राधाभाव लिएर यो कनकले राधाहरू पढ्दछ,
राधा छन् कति दुःखपूर्ण जगमा भन्ने कुरा लेख्दछ ।
हेरे रूप अरूप विम्ब–वनिता देखिन्छ ब्रह्माण्डमा,
प्रेमी पाठकमा समर्पण गरें संक्षिप्त अन्वेषणा ।।०९।।

गान्तोक, सिक्किम

छन्द : शार्दूलविक्रीडित

वि.सं.२०७८ फागुन २४ मंगलवार १३:४४ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...