back
CTIZAN AD

यसकारण बढ्दै छ दिनहुँ हृदयघात हुनेको संख्या

वि.सं.२०७८ चैत २ बुधवार

888 

shares

शरद् शर्मा, काठमाडौँ । मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ ।

निष्क्रिय जीवनशैली, चिन्ता, युवावस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो– बोसो खानाले हृदयाघातका बिरामी बढिरहेको सहिद गङ्गालाल हृदय राष्ट्रिय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले बताए । घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयाघातका बिरामी बढिरहेको चिकित्सकले बताएका छन् ।
केन्द्रमा सन् २०१२ मा ४९५ जनामा हृदयाघात भएकामा ६ वर्षपछि २०१८ मा तीन गुणा बढेर एक हजार ४६० जना पीडित भएका थिए । उनका अनुसार २०२० मा एक हजार ६९८ र सन् २०२१ मा दुई हजार २७३ जना सो रोगका कारण अस्पतालमा भर्ना भएका छन् ।

डा अधिकारीले २०२१ मा अस्पताल भर्ना भएका बिरामीमध्ये प्रायः हृदयाघात भएका हुन् । हृदयाघातका बिरामी बढे पनि सन् २०२० मा कोरोना भाइरसका कारणले अस्पतालमा मुटु रोगका कम बिरामी आएका थिए । ‘‘विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने मुटु रोगका बिरामीमध्ये ५० प्रतिशत त हृदयाघात भएका बिरामी मात्र नै छन्”, उनले भने, “नेपालमा हृदयाघातका विरामी दिनप्रतिदिन बढिरहेको गङ्गालालमा आएका बिरामीबाट नै थाहा हुन्छ ।”

उनका अनुसार अस्पतालमा दैनिक चारजना हृदयाघात आउने गरेका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान् कोइराला पनि अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वंशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द भएर हृदयाघात हुने गरेको बताउछन् । “धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयाघातले आक्रमण गर्छ । यस्तै कोलेस्टेरोल (मुटुमा हुने बोसो), शारीरिक अभ्यासको कमी पेट बढ्ने, पसिना ननिकाल्ने, तनाव, बाहिरी प्रदूषण र वंशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ ”, उनले भने, “स्वस्थ्य जीवनशैली अपनाउने, खाना धेरै नखाने, स्वच्छ खाने, शारीरिक अभ्यास गर्ने, चुरोट नखाने, नियमित व्यायाम गर्न सके हृदयाघातबाट बच्न सकिन्छ ।”
उनका अनुसार मुटु जन्मजात बिग्रेर आउने, बिग्रेर आउनेबाट बचेको, घाँटीको दुख्ने रोगबाट शुरु भई पछि मुटुको भल्भ बिग्रने रोग (बाथज्वरजन्य रोग) जस्ता कारणले मुटुका बिरामी हुने गरेका छन् ।

चुरोट सेवन

चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्च रक्तचाप भएका मानिसमा हृदयाघात बढी हुन्छ । तीमध्ये चुरोट पिउने मानिसमा हृदयाघात हुने सम्भावना बढी हुने गरेको निर्देशक डा अधिकारी बताउँछन् । अहिले युवावस्थामा नै चुरोट सेवन गरेको पाइन्छ । उनका अनुसार हृदयाघात भएकामध्ये ६५ प्रतिशत चुरोट सेवन गर्नेहरू हुन्छन् । तीमध्ये ४० वर्र्ष उमेर समूहका व्यक्ति धेरै छन् ।

डा कोइराला पनि हृदयाघात ६० वर्षमाथिकामा हुने गरे तापनि चुरोट खाने व्यक्तिमा भने ४० वर्षमुनि पनि हुने गरेको बताउछन् । “ चुरोट सेवन गर्नाले युवावस्थामा नै हृदयाघात हुने सङ्ख्या अत्यधिक बढदै गएको छ”, उनले भने । चालिस वर्षभन्दा कम उमेरको व्यक्तिले चुरोट सेवन गर्छ भने उसलाई हृदयाघात हुने सम्भावना नखानेको तुलनामा आठ गुणाले बढी हुने डा अधिकारीको भनाइ छ ।

हृदयाघात भएको १२ घण्टामा जीवन सम्भव

केन्द्रका निर्देशक डा अधिकारी हृदयाघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउने सके बचाउन सकिने बताउछन् । केन्द्रले हृदयाघात भएका बिरामीलाई २४ घण्टा नै एन्जिओप्लाष्टी गरेर बचाउने गर्छ । केन्द्रले हृदयाघात भएर आएको एक घण्टाभित्र बिरामीको एन्जिओप्लाक्ष्टी गर्ने उहाँ बताउछन् ।

एउटा एन्जिओप्लास्टी गर्नका लागि रु एक लाख ५० हजार खर्च लाग्छ । त्यति रकम तिर्न नसक्ने गरिब– असहायका लागि केन्द्रले दुई वर्षदेखि भने निःशुल्क एन्जिओप्लास्टी गर्ने गरेको छ । तीन प्रकारका हृदयाघातमध्ये पनि नेपालमा सबैभन्दा धेरै स्टेमी हृदयाघात हुन्छ जुन भएका मानिसलाई समयमा नै अस्पताल पु¥याउन सके बचाउन सकिन्छ । “हृदयाघात भएको मानिसका मुटुमा रगतको आपूर्ति बन्द भएपछि दुख्न थाल्छ । मुटुको मासु मरिसकुन्जेल छाती दुख्ने गर्छ । मुटु दुखिरहेका बेलामा नै अस्पतालमा बिरामी पु¥याउन सके बचाउन सकिन्छ ”, उनले भने, “बिरामी आएको १२ घण्टामा मुटुको प्राइमरी एन्जिओप्लास्टी ( मुटुको नशा खोल्ने प्रविधि) शल्यक्रिया गरी नसा खोलेर बचाउन सकिन्छ ।”

नेस्टेमी हृदयाघात भएका बिरामीलाई भने केही समयपछि मात्र उपचार गरिन्छ । त्यस्ता बिरामीलाई भर्ना गरे केही दिनपछि शल्यक्रिया गरेर बचाउन सकिन्छ । केन्द्रले प्राइमरी एन्जिओप्लास्टी गरेका बिरामीलाई चार–पाँच दिनमै अस्पतालबाट घर पठाउँछ ।

केन्द्रमा २४ घण्टा नै हृदयाघात भएका बिरामीको प्राइमरी एन्जिओप्लास्टी गर्नका लागि १५ जनशक्तिसहित चार अप्रेशन थिएटर (क्याथल्याब) तयारी अवस्थामा राखिएको हुन्छ । केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लास्टी गरेर हृदयाघात भएका बिरामीलाई बचाउने गरेको उहाँ बताउनुहुन्छ । केन्द्रमा सन् २००६ देखि एन्जिप्लास्टी हुँदै आएको छ ।

पहिलो पटक हृदयाघात हुँदा १०० मध्ये २३ जनाको मृत्यु अस्पताल नपुग्दै हुने गर्छ । हृदयाघात भएर अस्पताल आएका बिरामीमध्ये सात प्रतिशतको अस्पतालमै मृत्यु हुने गरेको छ । नेपालमा केन्द्रबाहेक मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, नर्भिक इन्टरनेशनल अस्पताल तथा विराटनगर– धरान–बुटवल– नेपालगन्ज भरतपुरका अस्पतालमा पनि समेत एन्जिओप्लास्टी हुने गर्छ ।

कसरी हुन्छ

मुटुलाई काम गर्नका लागि अक्सिजन आवश्यक पर्छ जुन रगतले दिने गर्छ । मुटुमा रगत आपूर्ति गर्ने नसा हुन्छ जसबाट रगत मुटुमा आउने गर्छ । रगत आपूर्ति बन्द भयो भने हृदयाघात हुन्छ । उमेर बढ्दै जाँदा मुटुको रक्तसञ्चार गर्ने नली साँघुरिँदै जाने र पछि बन्द भई मुटु बन्द हुने गर्छ । अहिले नली साँघुरिँदै जाने र मुटु बन्द भएर हुने हृदयाघात धेरै हुने गरेको छ ।

रगतको आपूर्ति सबै बन्द भएपछि मानिसको छाती दुख्न थाल्छ । धेरैजसो मानिस छाती दुखे पनि घरमै बस्छन् । अनि ढिला आउँछन् । रगतको आपूर्ति बन्द हुनाका साथै निरन्तर छाती दुखेपछि मुटुको मासु मर्ने गर्छ । मासु मरेपछि मुटुले काम गर्न छाड्छ र मानिसको ज्यान जान्छ ।

मुटु प्रत्यारोपण नेपालमा

विश्वमा मुटुरोग अस्पतालले दिने सेवामध्ये एक दुई वटा मात्र सेवा केन्द्रले दिन सकेको छैन । भारतलगायत देशमा मुटु प्रत्यारोपण हुने गरेकामा नेपालमा सम्भव भए पनि प्राविधिक रुपमा गा¥हो र खर्चिलो भएको उनको भनाइ छ । भारतमा सय बिरामीको मुटु प्रत्यारोपण हुने गरेको अध्ययनले देखाएको छ । धेरै खर्चिलो हुनाका साथै प्राविधिक रुपमा मुटुको प्रत्यारोपण नेपालमा गा¥हो छ । दुई मिर्गौैलामध्ये एउटा कसैलाई दियो भने मानिस स्वस्थ्य भएर बाँच्न सक्दछ”, उनले भने, “तर मुटु अर्कालाई दिने भनेको ब्रेनडेथ (मस्तिष्क मृत्यु) भएको मानिसले मात्र दिने हो । त्यसका लागि एउटा मानिस मर्नु प¥यो । मरेको मानिसबाट मुटु निकाल्न प¥यो, अर्को मानिस अप्रेशन गर्न तयार हुनुप¥यो । एउटा समयभित्र मुटु प्रत्यारोपण गर्ने हो । मुटु दिने मानिसको मुटु लिने मानिसकामा मिल्नुप¥यो । त्यसैले मुटु प्रत्यारोपण प्राविधिक रुपमा गा¥हो छ ।”

उनी आफूले अध्ययनकै क्रममा नेपालमा मुटु प्रत्यारोपण एक– दुई केश मात्र गर्न सक्ने बताउछन् । मुटु प्रत्यारोपण गर्ने मानिस आर्थिक रुपमा पनि सक्षम हुनुपर्छ । एक व्यक्ति दुर्घटना भएर मर्नेबित्तिकै मुटु प्रत्यारोपण गरिने बिरामीको रगत परीक्षण गरेर मिल्ने नमिल्ने हेर्नुपर्छ ।

यस्तै केन्द्रले सन् २०१४ देखि मुटुमा प्वाल परेका बिरामीको छाती नचिरिकन यन्त्र (डिभाइस) मार्फत उपचार गर्ने गरेको छ । प्रत्येक वर्ष सयभन्दा बढी मुटुमा प्वाल परेका बिरामीको उपचार गर्ने गरेको र यस वर्ष मात्र २२२ वटा भएको छ । केन्द्रले १५ वर्षमुनिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क मुटुको उपचार गर्ने गरेको छ । विपन्न वर्गलाई रु एक लाखसम्म निःशुल्क छ । केन्द्रले २०० शय्याको बालमुटुरोग भवन बनाउन थालेको छ । बीस शय्याको सघन उपचार कक्ष(सिसियु) पनि निर्माण गर्न थालेको छ । अहिले सिसियु १२ शय्याको छ । रासस

 

वि.सं.२०७८ चैत २ बुधवार १४:३४ मा प्रकाशित

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...