रबि श्रेष्ठ, सन्धिखर्क, अर्घाखाँची
हाल- बुटवल, रुपन्देही
१
ठूला रुखहरुको ओत मुनि, स–साना हुर्किन गाह्रो हुन्छ
प्रकृतिको नियम नै होला, माटो भन्दा ढुंगा साह्रो हुन्छ
कन्जुस्याँई गरिन्छ जब नयां नयाँ पालुवाहरुको हेरचाहमा,
तब प्रगति गर्न खोज्नेहरु, अहंतावादी सोंचको तारो हुन्छ ।
२
कसैको माया नमुना बन्यो कसैकोमा लाग्यो ढुंसी
कहींकतै घात भयो भने कोहि रमाउँदै मारे बुर्कुसी
एकापसमा सम्बन्ध चिसिंदा पछुताउँदै थला पर्छन,
कसरि गर्यो भावीले विभेद ? कतै छ खुसि नै खुसि ।
३
छेपारो झैँ रङ्ग फेर्ने मान्छेले आएर खुट्टामा ढोग्न सक्छ
गोहीको आँसु चुहाउँदै आफ्ना गुनासाहरु नि पोख्न सक्छ
स्वार्थी दुनियाँ हो ‘कस्को पेटमा को पसेको हुन्छ र’ त्यसैले,
कुनैदिन आफै पालेको कुकुरले आफैलाई पनि टोक्न सक्छ ।
४
शुध्द छनौट गर्नको लागि जब प्रयोग हुन्छ मताधिकार
मानवता, नैतिकताहिन अहंताले नै नष्ट हुन्छ अधिकार
अन्याय अत्याचारको विरुद्ध लड्ने कर्तव्य र दायित्व हो,
हकको लागी बाध्यताले खोजिएको हुन्छ मानवाधिकार ।
५
अभिभावकले छोड्दा एक्लो हुँदा, कस्तो होला भावना
बाँडिचुडी खाने, मिलिजुली बस्ने मनको हुन्छ चाहना !!
फरक जात हामी न समाउने हाँगो, न टेक्ने डाली भएपछी,
जिउनकै लागी कति गर्नुपर्ने हो दुःखी जिन्दगीमा सामना ।
वि.सं.२०७८ चैत ५ शनिवार ०५:४४ मा प्रकाशित






























