टंकबहादर आलेमगर
त्रियुगा नगरपालिका–११, संगमटोल
उदयपुर, १ नम्बर प्रदेश
च्वाँ च्वाँ च्वाँचे कराको सुनेर घाँस बटुल्दै गरेकी साइँलीले घोत्ली रुखमा चढेर घाँस झार्ने लोग्नेलाई भनि ’किन आज मतानेको सुङुर ढालेको ?’
‘उँ ! पोक्ची पनि थाहा छैन, भोलि फागु पूर्णे हो ।’
‘अनि हामी चाहिँ फागु नखेल्ने ?’
‘खेल्ने । रङ् खेल्न पैसा लाग्छ । टारबारीको डल्ला फोरेर धूलो खेल्ने ।’
‘उँ चुइयाँ बुढो ! न भ्यागुतो धार्नी पुग्छ न तिमीलाई धनले पुग्छ ?’ साइँलीको आँखा रसायो ।
‘हेर बुढी हाम्रो काटिएको इच्छाले भोलि छोरा छोरीले सुख पाउँछन् ।’
छोरा छोरीको शब्दले साइँलीको ओठमा मुस्कान तानियो ।
#
अस्पताल ।
म बिमारी रुङुवा ।
आधारातमा बिमारीले पानी माग्यो ।
पानी थिएन वोतल लिएर धारा तिर दगुरेँ । धारै अगाडि अकास्मिक कक्ष भरि देख्छु मान्छेको घुइँचो । म पनि त्यता आकर्षित भएँ । देखेर तरङ्ग तर्सिएँ । ह्वासह्वास रगतको गन्ध । दुखाइका चित्कार, विविध अङ्गमा विविध प्रकारको चोट नीलडामहरू । पीडितरू कोही ट्याटु खोपेका, चुल्ठो पालेका कुनै मुन्द्रो, टपलाउनेहरू । कुनै साधारण छविका पनि ।
रोइरहेका चालिस नाघेका मान्छेहरू ।
एउटी नर्सलाई सोधेँ, ‘यो के हो ?’
उसले खुस्रुक्क भनि ‘अंकल होलीको कमाल ।’
#
एकजना रङ्ले निथ्रक्क भिजेको युवा, सडक छेउमा रोइरहेको देखेर नजिकै गएर सोधेँ ।
उसले करुणार्द्र गर्याे ‘आज आमाको वर्षदिने । मन्दिर जाँदै थिएँ । नहान भन्दा भन्दै एकहूल आठ दश वर्षे बाबु नानीहरूले रङ् छ्यापिदिए ।
मैले सम्झाउँन खोजेँ । तर ऊ भन्दै थियो आमाको सराप लाग्ने भयो ।
#
फागु केहो ?
उसले सगर्व भन्यो ‘नेपाली चित्र ।’
मैले बुझिनँ ।
बहू रङ् बहू जाति । बहू भाषी , बहू भेषी ।
नकारात्मकता ?
दुरुपयोगको पराकाष्ठा ।
खै ! के गर्ने त ?
संयमता भित्र विवेकको धुरी ठड्याउनु सबैको कर्तव्य ।
#
सालोले ह्वाल ह्वाल छाद्यो ।
‘यसिमा घोप्टे ! खान पाए भन्दै जे पनि खानु त ?’, ससुराको गर्जन ।
‘चुपलाग के लाग्यो मेरो बाबुलाई ।’ सासुको ममता ।
‘लाग्छ के के तेरो छोरालाई । बलेकामा गएर भाङ् धोकेर शिव बनेको अरे ।’ फेरि ससुराले दाह्रा कम्टियो ।
‘अब के होला ।’ सासुको भय ।
मैले भुन्टी सालीलाई सोधेँ, ‘के भा को ।’
सालीले मुसुक्क हाँस्दै भनिन् ‘ह्याप्पी होली ।’
वि.सं.२०७८ चैत ५ शनिवार ०५:४९ मा प्रकाशित






























