वेद प्रसाद ढुङ्गेल (विपिन अगस्ति ),इलाम
यी मेरा पीडा हुन् साथी, खाली अक्षर नसम्झिनू ;
तृप्ति मुहान बन्नेछन्, प्यासी बगर नसम्झिनू ।
यी पाईला पाईला नापेर, सुस्तरी चाल्नु पर्दछ;
जिन्दगी सम्झौता यौटा, यसलाई समर नसम्झिनू ।
को सक्छ नहेरी बस्न, यौवन त्यो वहारको ?
सौन्दर्य पिउँछन् आँखा, लोभी नजर नसम्झिनू ।
मेरो औजार हो साथी, द्वार हो अभिव्यक्तिको;
आत्म सन्तुष्टि पाउने, झिनो रहर नसम्झिनू ।
संसार बदल्ने सम्मको हुन्छ शक्ति साहित्यमा;
पड्कन सक्छ बिद्रोह, मूक अधर नसम्झिनू ।
वि.सं.२०७८ चैत ५ शनिवार ०७:१३ मा प्रकाशित






























