गंगा खड्का, बूढानीलकण्ठ काठमाडौं
‘काठमाडौँबाट दुई जना युवकलाई नशालु पदार्थले लठ्ठ भएर सुतिरहेको अवस्थामा नेपाल पुलिसको गस्ती टोलीले उद्धार’ भन्दै समाचारमा समाचार वाचकले भिडियो सहित आफ्नो छोराको नाम उद्घोष गरेपछि सरिता थचक्क भुइँमा बसिन् ।
उनले हत्तपत्त घरमा फोन गरिन् । फोन छोराले नै उठायो ।
‘बाबु , तँलाई कसले छुटाएर ल्यायो ?’
सरिताले यति भन्नासाथ छोराले रन्किँदै भन्यो , ‘जसले छुटाएर ल्याए नि के मतलब ?’
‘मलाई मतलब नभएर कसलाई मतलब हुन्छ त ? जे भए नि म तेरी आमा हुँ नि ?’ सरिताले पीडामिश्रित स्वरमा भनिन् ।
‘खुब आमा, जन्माएर मात्रै कोही आमा हुँदैन । मेरो माया भए त मलाई अर्काको जिम्मा लाएर यतिका वर्ष किन बस्नुहुन्थ्यो विदेशमा ?’ अझै चिढिँदै छोराले भन्यो ।
‘बाबु तँलाई राम्रोसँग पढाउन सकिएला भनेर तेरै भविष्यको लागि त खाडीको घाममा शरीर पोल्दै छु त ।’
सरिताको यति कुरा सुन्नासाथ प्रतिवाद गर्दै छोराले भन्यो , ‘लाज लाग्नुपर्ने हो तपाईंलाई यसो भन्न । आमा त छोराछोरीको लागि पहिली शिक्षिका हुन् । तपाईंलाई मेरो भविष्यको चिन्ता थियो भने त सँगै बसेर संस्कार पो सिकाउनुहुन्थ्यो होइन र ?’
वि.सं.२०७८ चैत ५ शनिवार ०७:१८ मा प्रकाशित






























