
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यले महानगरपालिकाभित्र एक पछि अर्को गर्दै सरकारी सम्पत्तीमा बदमासी गरेको भेटिएको छ । शाक्य नेतृत्वको समूहले मिलेर त्यस्तो बदमासी गरेको तथ्य संसार न्यूज अनलाइनले फेला पारेको हो ।
महानगरले सर्वोच्च अदालतको अन्तरिम आदेश विपरित आकासे पुलमा व्यापार गरेको समाचार संसार न्यूज अनलाइनले यसअघि नै छापेको थियो । मेयर शाक्यसहित केही पदाधिकारी र कर्मचारीको मिलेमतोमा त्यस्तो काम गरेको तथ्य संसार न्यूजले सार्वजनिक गरेको थियो ।
आकाशे पुलमा अवैध व्यापार गरेको सार्वजनिक हुन नपाउँदै संसार न्यूजले सहरी सेवा केन्द्रलाई नै अवैध रुपमा बेचिएको तथ्य फेला पारेको छ । मेयरसहितका केही पदाधिकारी र कर्मचारी मिलेर आर्थिक लेनदेनमा त्यस्तो काम गरेको भेटिएको हो ।
महानगरलाई स्वर्ग बनाउँछु भन्ने शाक्यको असुली धन्दा
काठमाडौं महानगरपालिका क्षेत्रभित्र पर्ने रत्नपार्कमा गत असार मसान्तसम्म शौचालयसहितका तीनवटा सहरी सेवा केन्द्रहरु सन्चालनमा थिए । तर, वीर अस्पताल अगाडी रहेको शौचालय तथा विद्युत प्राधिकरण अगाडी रहेको शौचालयसहितको सहरी सेवा केन्द्रको म्याद सकिएकै दिन महानगर राजस्व विभाग प्रमुखको रिपोर्टीङ्गको आधारमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृतको सनकको भरमा भत्काइयो । ती दुई ठाउँबाट मात्र महानगरलाई वार्षिक करिब वैध रुपमा ५० लाख आम्दानी भइरहेको थियो ।
याे पनि हेर्नुहाेस्
मिलेमतोमा अवैध सहरी सेवा केन्द्र : कमिसन दिनेका संरचना ठाडै, नदिनेका उखेलिए
त्यसको करिब १ महिनापछि अर्थात् २०७८ साउन मसान्तमा रत्नपार्क तर्फको सहरी सेवा केन्द्रको पनि सम्झौता अबधि सकियो । तर, सम्झौता अबधि सकिएको सो ठाउँमा मेयर शाक्यसहितको समूहले अवैध आम्दानी गर्ने थलो बनायो । मासिक ५ लाख बढी संकलन भइरहेको नगर प्रमुख शाक्य, महानगर राजश्व र महानगर प्रहरीको मिलेमतोमा व्यवसायीलाई सञ्चालन गर्न दिइएको हो ।
तर, महानगरको कर्तुत थाहा पाएपछि संसार न्यूजले मिलेमतोमा अवैध सहरी सेवा केन्द्र कमिसन दिनेका संरचना ठाडै, नदिनेका उखेलिए भन्ने शिर्षक दिएर समाचार प्रकाशित ग¥यो । जसपछि अबैध रूपमा संचालन गरिएका व्यवसाय बन्द गरियो ।
व्यवसाय बन्द गरे पनि सटरहरु खाली नगराइ रकम असुली
गत कात्तिक ११ गतेदेखि व्यवसाय बन्द गर्न निर्देशन दिएको नाटक मञ्चन गर्ने महानगरले सो ठाउँका सटरहरु चाहिँ खालि गरेको थिएन । महानगर स्रोतका अनुसार सहरी सेवा केन्द्र बन्द गर्ने सूचना एउटा नाटक थियो । बन्द गर्ने सूचना गरेपनि सो ठाउँमा संचालन भैरहेका सटरहरु खाली गरिएको थिएन तर, अबैध असुली पनि रोकिएको थिएन । फलस्वरुप अहिले सो ठाउँमा व्यवसायीहरुले व्यवसाय गरिरहेका छन् ।
गत भदौदेखि यता सो ठाउँबाट १ रुपैंयाँ पनि राजश्व संकलन नभएको महानगर राजश्व विभागले जानकारी दिएको छ । सो ठाउँबाट वार्षिक करिब ५० लाखभन्दा बढी राजश्व संकलन भैरहेको थियो ।
पैसा असुली पछि अर्को बदमासीको तयारीमा मेयर शाक्य
मेयर विद्या सुन्दर शाक्य बदमासी सार्वजनिक भएसँगै चौतर्फी आलोचनाको केन्द्रमा छन् । तर, उनी आलोचनालाई पचाउँदै अवैध रुपमा बिक्री गरिएको सहरी सेवा केन्द्रलाई वैध देखाउन बिना प्रतिस्पर्धा नै व्यवसायीलाई दिने तयारी गरेको भेटिएको छ । चर्को दबाब पछि रत्नपार्कको सहरी सेवा केन्द्रमा बिना प्रतिस्पर्धा नै व्यवसाय गर्न दिने तयारी मेयरले गरेका हुन् ।
काठमाडौं माहानगरपलिका स्रोतका अनुसार यस अघि भदौमा करिब ४० लाख रकम लिएर सो सेवाकेन्द्र नविकरणको तयारी भएको थियो । राजश्व विभागले नविकरण गराउने फाइल मेयरको कार्यालयमा पुगेको सामाचार सार्वजनिक भएपछि त्यो योजना त्यहि नै तुहिएको थियो ।
याे पनि हेर्नुहाेस्
तर, अहिले मेयर शाक्यले सो ठाउँमा बिना प्रतिष्पर्धा व्यवसाय सञ्चालन गर्न दिन स्वीकृति दिएका छन् । तर, कारबाहीमा परिने डरले उच्च तहका कर्मचारीहरुले मेयरको सो कदमलाई रोकेर राखेका छन् ।
यसअघि पनि टेकुमा बन्न लागेको महानगरपलिका भवनमा अनियमितता भएको भन्दै अख्तियारले छानबिन थालेसँगै केही कर्मचारीहरु निलम्बनमा छन् ।
राजश्व विभागका प्रमुख र महानगर प्रहरी प्रमुख मिलेमतोका हिस्सेदारी
काठमाडौं महानगरपालिका क्षेत्रभित्रबाट अवैध असुली गर्न महानगरपालिकाका राजश्व विभागका प्रमुख र महानगर प्रहरी प्रमुखले सहयोग गरिरहेको तथ्य भेटिएको छ । महानगरका विभिन्न ठाउँमा अबैध व्यवसाय सन्चानल गर्न दिएर महानगर प्रहरीले दैनिक, साप्ताहिक र मासिकका रुपमा असुली गरिरहेको छ भने विभिन्न ठाउँमा अवैध विज्ञापन राख्न दिएर तथा व्यवसायीहरुसँग अवैध मोलमोलाई गरेर राजश्व विभागले असुली गरिरहेको छ । त्यसरी संकलन भएको रकमको केही हिस्सा मेयरसम्मै पुग्ने गरेको स्रोतले बताएको छ ।