
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीलाई शेयरवापत ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीबाट लगानी भएको रकमको ५० प्रतिशन रकम ३० दिनभित्र जम्मा गर्न आग्रह गरेको हो ।
इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाले पुँजी वृद्धी प्रस्ताव पारित गरेपछि सोहि अनुसार संस्थापक शेयरधनीहरुलाई थप रकम जम्मा गर्न भनेको हो । कम्पनीको उक्त सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पुँजी र जारी पुँजी क्रमशः ५ सय करोड र ३ सय करोड हुने गरी पुँजी वृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको थियो ।
बीमा समितिको चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पुँजी ५सय करोड गर्न निर्देशन दिएपछि संचालक समितिको निर्णय अनुसार पूँजी वृद्धि योजना पेश गरेको थियो । उक्त योजना बमोजिम बीमा समितिबाट पूँजी वृद्धि गर्ने सहमती लिएर कम्पनीले विशेष साधारण सभा आह्वान गरेको थियो ।