विमुन्स पौडेल,पोखरा, कास्की
रातभर जाग्राम थियो धने, उसको छटपटी बाबाले नियालिरहनु भएको थियो । म पनि निंद्रामा थिइन । ‘के भयो ?’ बिहान दैलो उघार्ने बित्तिकै मैले सोधेँ । ‘केही होइन’, धनेले छोटो जवाफ दिएर ओझेल पर्यो । उसको परिवर्तित व्यवहारले परिवारमा सबै चिन्तित थिए।
‘यस्तो थिएन धने, केही त पक्कै भएको छ’ आमाले बाहिर निस्किँदै सुनाउनु भयो । ‘खोइ किन झोक्राएको हो?’ बाबाले जोड दिनुभयो । बाहिर गेटमा छिमेकी रच्चू देखिईन् । मैले सोधेँ ‘के भयो रच्चू, आउनुस् न भित्रै ।’ रच्चूले गहिरो नजरले हेरी र आवाज दिईन् । ‘हजुर बैनी !’ एक्कासी रच्चू हान्निँदै भित्र पसीन् र चिच्याउँदै थरथर काँप्दै घाँटी मै निस्सासिने गरी अँठ्याउँदै भन्न सुरु गरीन् ‘आफ्नो घरभित्र पालिएका हिंसक जनावरलाई कतिदिन सम्म सुरक्षा गरेर पाल्छौ ? जे गरेपनि यिनीहरूलाई कुनै सजाय किन हुँदैन ? महिलाले मात्र सजाय किन भोग्छन् गल्ती को ? महिलाले एक्लै गल्ती गर्न नमिल्ने कुरामा किन जानीजानी महिलालाई अपराधी र समाजमा बाँच्न नसक्ने बनाइन्छ ? तिम्रो दाइ नै हो मलाई एक्सिडेन्ट गराएर अशक्त अवस्थामा बलात्कार गरेर गर्भवती बनाउने । अशक्त अवस्थामै गर्भपतन समेत गराएर मेरो पाठेघर निरन्तर रगत बग्न नछोडेपछि अपरेसन गरेर निकालिएको र अब म आमा कहिल्यै बन्न नसक्ने भएको । मलाई अनेकौं लाञ्छना छन् । समाजमा शिर उठाएर हिँड्न नसक्ने गरी, तर यसको प्रमुख जड खुलेआम इज्जत साथ हिँडेको छ घरमा, समाजमा र देशमा ।’
म एक्कासी झस्किएँ आमाको आवाज सुनेर । अहो म त दिवा स्वप्नमा पो रहेछु । गेटतिर हेरेँ रच्चू जडवत त्यहीँ थिईन् । आँखा भिजेका थिए । मेरो जवाफको प्रतिक्रिया समेत नदिई आफ्नो बाटो लागीन् । रच्चूको यो घटना मेरो आँखा अगाडि नै भएकोले मलाई बारम्बार रच्चूको आँट बलियो भएर आवाज बाहिर आओस् र न्याय मिलोस् भन्ने तीब्र चाहना भएकोले होला. यो सपना आइरहन्छ, तर रच्चू बारम्बार मुखसम्म आएको आवाज गेटमा बसेर आँखाबाट निकाल्छिन् र ओझेल पर्छिन् । रच्चू जस्तै हजारौँ चेली यसरी आवाज बिहीन छन् । देशमा कहिले सम्म रहने हुन् थाहा छैन ।
वि.सं.२०७९ जेठ १४ शनिवार ०८:३४ मा प्रकाशित





























