मचिन्द्र खत्री, धरान
यो बैशाख महिना पाउलियो वन उमङ्ग बोकेर
वासन्ती मात उर्लिन्छ हाँस्दै रोकिन्न रोकर ।
बैशाखको पन्ध्र बिहानै पुगेँ उडेर वनमा
प्रियाकासाथ भेट गर्ने चाह बोकेर मनमा ।
चरीले बोल्यो यो गुप्ती खोल्यो प्रिया छन् लुकेकी
दोबाटो छेउ वनमा बसी तिमीलाई ढुकेकी ।
लु छिटो जाऊ पीरती लाऊ प्यारीका साथमा
वनको फूल टिपेर राम्रो थमाऊ हातमा ।
सतिसाल सानो छ यतै कतै निशाना त्यही हो
त्यसैमा बसी इसारा दिन्छु त्यो ठाउँ यही हो ।
इसारा बुझी आउनु तिमी कोहो ? म भन्नेछु
प्यारीकासाथमा पुर्याएँ भने म आफैँ धन्य छु ।
बैँशको भेल वासन्ती मातमा छल्किन्छ बेसरी
प्रभाती प्रहर मनको बतास छल्किन्छ यसरी ।
लय : झ्याउरे
वि.सं.२०७९ जेठ २१ शनिवार ०८:५२ मा प्रकाशित






























