वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
एकाएक मुटु भक्कानिएर आयो । मन थाम्नै सकिनँ । तरपनि आफूलाई सम्हाल्ने असफल प्रयास भने गरिरहेको थिएँ । अति नै भएपछि पूरै ज्यान नै फालेर बगरमा पछारिन पुगेँ । पागल झैँ बिलौना गर्दै डाँको छोडेर रोइरहेँ ।
‘आफूलाई सम्हाल बाबु ! के गर्नु दैवको लीला यस्तै रहेछ । ढिलो चाँडो सबैको बाटो यहीँ हो ।’ मलाई उठाउने प्रयत्न गर्दै एक गाउँले बुज्रुकले भने ।
म अझै भक्कानिएँ । लड्दै रुँदै जलिरहेको चितातर्फ दौडिए । जहाँ बुबाको पार्थिव शरीर सुस्ताइरहेको थियो । उन्मत्त अग्नि बुबाको एक–एक अङ्ग प्रत्यङ्ग निल्दै थियो । म बसेको काख, हिड्दा समातेका औँलाहरू, बुँई चढेको ढाड र काँध सबै निल्यो । केही बाँकी राखेन ।
बुबा, जसले मलाई यस धर्तीमा पदार्पण गराउनु भयो । हुर्काउनु भयो, बढाउनु भयो । तर आज…टुहुरो बनाएर जानुभयो । म सोच्दासोच्दै अचेत भएछु । होशमा आउँदा सबै सकिएको थियोे । बाँकी थियो त केवल खरानी, मेरो धरोहरको, रहर अनि सपनाहरूको ।
वि.सं.२०७९ जेठ २१ शनिवार ०८:५५ मा प्रकाशित






























