डा. विदुर चालिसे
आरूबारी, काठमाडौं
‘सारङ्गी र्याईंर्याईं, भयो जीवन तिरिमिरी झ्याईं !’
‘पख ! पख !! देशको विकासले हाम्रो दुख नास हुन्छ रे !’
मतवाली तर तरुनी मजदुरहरू दुःख र सपना साटिरहेका थिए । उनीहरूसँग बाँडचुँड गर्ने कुरा यो बाहेक अरू के नै पो थियो र ? भट्टा वालाको पोज र पहिरनसँग उनीहरू खुब परिचित नै थिए । उनीहरूको लोभ कहिलेकाँही ज्यालामा थपथाप पाउनु भन्दा उसको व्यक्तित्वले उनीहरूलाई लोभ्याउँथ्यो ।
एकदिन पजेरोमा सवार उद्योगपतिलाई फोहोरी धूवाँ र धुलोको साथमा रमाइरहेको भुन्टीले खुब दिलचस्प दिएर हेरी । गुडिरहेको त्यो पजेरो भित्रबाट एकजना बालक झ्यालबाट चिहाइरहेको थियो । उसलाई देख्नासाथ भुन्टीले आफ्नो बच्चाको फुस्रै अनुहार हेरी । दिक्क भई अनि पजेरो भित्रको बच्चालाई सोधी ।
‘बाबू ! मम्मी कहाँ हुनुहुन्छ ?
’‘रेष्टुरेण्टमा !’
रेष्टुरेण्ट शब्दको हावा सुन्नासाथ उसले आत्तिएर आफ्नो जिब्रो काढी र टाउको लल्याकलुलुक पारेर थरर कमाई । उसभित्रको अचम्मको अर्काे यौन रागको प्रश्न निस्केपछि उसले बच्चालाई सोधी ।
‘अनि के गर्दै हुनुहुन्छ रेष्टुरेण्टमा !’
‘डान्स गर्दै !’
आइमाईले रेष्टुरेण्टमा डान्स गर्ने कुरा सुनेर लजाई । मुन्टो तल झारेर ईटालाई टाउकोमा हाली अनि सम्झी ।
‘मेरो पनि लोग्ने, खाडीमा डान्स गर्दै होला !’
उसको मन कुटुक्क नै कुँडियो । आउँदै गरेको उद्योगपतिलाई उसले पुलुक्क हेरि, लजाई पनि र मुसुक्क हाँसिदिएर उसलाई नजर कर्काई ।
‘तेरो छोरो खोई त !’
भुन्टीले मुख छोपेर खित्का छोडी ! यौवनको तोडमा खै कति हो मर्यादा पनि बिर्सेर आवेगमा भनिदिई ।
‘उता हेर्नू त गाडीमा !’
नाजवाफ उद्योगपति रातोपिरो भयो । उसले मन मनै सम्झ्यो ।
‘उम्लेकी काली ! मनको आगो खन्याइ राख मलाई !’
पजेरो भित्रबाट बच्चाले मोवाइलबाट उसको मम्मीलाई सूचना गरिरहेको थियो ।
‘भट्टाको आन्टीले भनेको, म त उसैको छोरो रे !’
सौखले नाचिरहेकी उसकी मम्मी एकछिन बोल्न सकिन तर पछि उसले सम्झी ।
‘यै त हो नाफा !’
वि.सं.२०७९ असार ११ शनिवार ०५:०६ मा प्रकाशित






























