किशोर कोइराला, इनरुवा, सुनसरी
भिजेको माटोमा पुलकित हुँदै खेल्छु म भनी
हिलो पानी बर्षा हर तरहले झेल्छु म भनी
सुगन्धी माटोमा रसमय सुधा भेट्छ जसले
अनौ पक्री आफ्नै कर कमलले जोत्छ उसले । १
कता छौ लौ आओ अव युवक आफैँ श्रम गर
बनाओ आफैँले श्रम शिखरको सुन्दर घर
भनी बाँझो फोर्दै खलखल सधैँ पोख्छ पसिना
यहाँको पाखोमा कृषक जहिले देख्छ सपना ।२
हुरी बर्षा बाढी प्रतिकुल हुदाँ दिक्क नहुने
सधैँ खेती गर्दा मुदित मनले मस्त रहने
असारे भाखामा मुखरित हुँदै मादलसँग
खुसी हुन्छन् सारा कृषक नभको बादलसँग। ३
हिमाली हावाको सरसर सँगै शीतल हुँदा
पहाडी पाखामा कलकल गरी नीर बहदा
स्वयम् बालीनाली सँग मदिर हुन्छन् हरघडी
सधैँ माटो खोस्री कृषक श्रम गर्छन् अघि बढी ।४
छ माटो नै हाम्रो हिमशिखरको आँगनभरि ।
छ माटोकै माया कृषक जनको स्पन्दन भरि ।
छ माटोमा हाम्रो नमित मनको अर्चन सधैँ
छ माटोमै सारा कृषक जनको वन्दन सधैँ ।५
छन्द : शिखरिणी
वि.सं.२०७९ असार १८ शनिवार ०८:२० मा प्रकाशित






























